काठमाडौँ, माघ २९ गते । आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले १७ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरेपछि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रबन्ध सञ्चालक विष्णुप्रसाद घिमिरेले धान बालीलाई मलको आपूर्ति सहज बनाउन युरिया आयातको टेन्डर आह्वान गरिएको बताउनुभयो ।
“हिउँदे बाली (गहुँ, आलु र तोरी) का लागि पर्याप्त मात्रामा मलको मौज्दात छ, थप ६० हजार टन युरिया आउने क्रममै छ,” उहाँले भन्नुभयो, “चैते धान र बर्खे धानका लागि आवश्यक मल आयात गर्न अहिलेदेखि नै तयारी भइरहेको छ ।” धानबालीका लागि ठुलो परिणाममा मलको आवश्यक पर्ने हुँदा अभाव हुन नदिन अहिलेदेखि नै खरिद प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । कृषि मन्त्रालयका अनुसार हिउँदे बालीका लागि एक लाखदेखि डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ ।
चालु आव २०८१/८२ मा तीन लाख ८५ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेकोमा माघ अन्तिम सातासम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भइसकेको र बाँकी आउने क्रममै रहेको कम्पनीले जनाएको छ । हालसम्म दुई लाख १४ हजार ४७ टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ । २५ हजार टन युरिया र ५० हजार टन डिएपी मौज्दात रहेको कम्पनीले जनाएको छ । सरकारले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न २७ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले मल आयात गर्ने जिम्मा पाएका छन् । दुई कम्पनीले टेन्डर आह्वान गरेर विभिन्न मुलुकबाट मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मलको वितरण हुने गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विन्टल युरियाको मूल्य सात सयदेखि आठ सय अमेरिकी डलर रहेको छ । यस्तै डिएपी प्रतिक्विन्टल ५२० देखि ५३० अमेरिकी डलर रहेको छ । स्थानीय बजारमा भने प्रतिकेजी डिएपी २२ रुपियाँ र प्रतिकेजी युरिया सात रुपियाँ ५० पैसामा बिक्री भइरहेको छ । विभिन्न सहकारी संस्थामार्फत रासायनिक मलको वितरण हुने गरेको छ । सरकारले मलमा अनुदानको व्यवस्था गर्दा किसानले सस्तो मूल्यमा पाउने गरेका छन् ।
मुलुकभर वार्षिक प्रयोगका आधारमा सात लाख टन मल खपत हुने र खेतीयोग्य जमिनका हिसाबले १३ लाख ८० हजार टन मल आवश्यक पर्ने बताइएको छ । धान बाली दुई सिजनमा लगाउने गरिन्छ । १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा चैते र बर्खे धान लगाइएको लगाइन्छ । मन्त्रालयको तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफल मकै खेती गरिने र सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । सरकारले प्रत्येक वर्ष मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार मलको आपूर्ति नहुँदा किसानले बर्सेनि मलको अभाव खेप्नु परेको छ ।