जीवछ यादव
लहान, कातिक १३ गते । दसैँ दिपावली र छठ पर्व गर्न घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगढीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिर्न बाध्यता छ ।
लहानबाट काठमाडौँ जान एक हजार दुई सय भाडा तोकिएको भए पनि छठ पर्व सकिएलगत्तै काठमाडौँ जान एक हजार आठ सयदेखि दुई हजारसम्म तिरेर पनि बस हाइसमा टिकट पाउन सकिरहेको छैन ।
भगवानपुर गाउँपालिका ४ नम्बरका वडाध्यक्ष अमरलाल यादव भन्नुहुन्छ, ‘‘काठमाडौँ पढिरहेका छोराछोरीलाई पठाउन थप रकम तिरेर पनि जसोतसो हाइस पाइयो । दसैँ लागेपछि काठमाडौँबाट घर आइपुग्न र छठ पर्व सकेपछि घरबाट काठमाडौँ जान थप रकम तिरेर पनि टिकट पाइँदैन । यस्तो बेला थप सवारी साधन उपलब्ध गराइदिए राहत हुन्थ्यो ।’’
मकालु काउन्टरका सञ्चालक जुगुत यादवसँग किन थप रकम लिइरहनु भएको छ भने जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘‘के गर्ने पूर्वबाट पश्चिम जाने यात्रुहरु आउने आइतबारसम्म प्याक छ । काठमाडौँबाट फर्किंदा एउटा पनि यात्रु नपाउने भएकाले यतिबेला सवारी साधनको इन्धन र चालकको खर्च जुटाउन पनि प्रति यात्रु थप भाडा लिनुपरेको हो । थप तिरेर पनि आइबारसम्म टिकट उपलब्ध गराउन सकिरहेका छैन ।’’
कर्मचारी र व्यापारीहरु हवाइयात्रा गरेर पनि काठमाडौँ गइरहेका छन् भने उच्च शिक्षा हासिल गर्न काठमाडौँ पढिरहेका विद्यार्थीहरुलाई पुग्न टिकट नपाउँदा ठुलो सास्ती नै खेप्नुपरिरहेको बाध्यता रहेको लहान–१ का दिलीप साहले गुनासो पोख्दै हरेक वर्ष आइपर्ने यस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गर्नुभयो ।