• २९ माघ २०८१, मङ्गलबार

लोपको सँघारमा खरमजुर

blog

काठमाडौँ, माघ २९ गते । नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ । सिरुको पातमा गुँड बनाएर बस्ने लजालु प्रकृतिको यो चरा घाँसे मैदानको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण मानिन्छ । नेपालमा यो करिब एक सयको सङ्ख्यामा रहेको अनुमान छ । 

नेपालको बाहिरी वातावरणमा खासै नदेखिने खरमजुर चार वटा संरक्षित क्षेत्रमा अस्तित्वमा रहेकोमा केहीमा भोलिका दिनमा देख्न नपाइने गरी लोपको सँघारमा पुगेको पन्छीविद् सङ्घका अध्यक्ष लक्ष्मणप्रसाद पौड्यालले बताउनुभयो । नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको घाँसे मैदानमा खरमजुर भेटिन्छन् ।

खरमजुरका बारेमा उहाँलगायत संरक्षणकर्मीले प्रकाशित गरेका अध्ययन अनुसार बर्दियामा खरमजुर देखिन छाडेको १० वर्ष बित्यो । उहाँले भन्नुभयो, “अन्यत्र पनि हरेक वर्ष खरमजुर देखिने क्रम कम हुँदै गएको छ ।” बर्दियामा सन् २०११ देखि २०२४ सम्म खरमजुर नदेखिएको अध्ययनले देखाएको छ । अन्यत्र पनि कम हुँदै गएको देखिएको छ । नेपालमा सन् १९८२ देखि खरमजुरको अध्ययन र संरक्षणकारी काम हुन थालेको पाइन्छ । जस अनुसार त्योबेला सबैभन्दा बढी १५ वटा शुक्लाफाँटामा खरमजुर पाइएको थियो । 

त्यसपछि सन् १९९० मा १७ वटा देखिएको थियो । त्यसपछि लगातार घट्दै सन् २००० मा १२ वटा, सन् २००७ मा १० वटा, २०१५ मा आठ वटा, २०२१ मा सात वटा, २०२३ मा पाँच वटा र २०२४ मा एक वटा मात्र खरमजुर भेटिएको छ । चितवनमा सन् १९८२ मा आठ वटा देखिएको खरमजुर २००१ मा चार वटा र २००७ मा पाँच वटा देखिएकोमा सन् २०१२ मा सबैभन्दा बढी ११ वटा देखिएको थियो । त्यसपछि फेरि घट्दै सन् २०१५ मा छ वटा, सन् २०२१ मा एक वटा, २०२३ मा दुई वटा र २०२४ मा एक वटा मात्र खरमजुर भेटिएको छ । 

बर्दियामा सन् १९८२ मा नौ वटा, १९९६ मा छ वटा, १९९८ मा नौ वटा, २००५ सम्म पाँच वटा हुँदै घट्ने क्रममा सन् २००६ र २००७ मा एक वटा देखिएको थियो । त्यसपछि हराएको खरमजुर फेरि २०१० मा एक वटा देखियो । सन् २०११ देखियता भने एक वटा पनि नदेखिएर लोप भएको अनुमान छ । 

सन् १९८२ देखि २०२४ को बच्चा कोरल्ने समयमा चैत, वैशाख र जेठमा यसको अध्ययन गरिँदै आएको छ । कोशीटप्पुमा भने घटबढको अवस्था बराबर जस्तै देखिएको छ । सन् १९८२ मा चार वटा मात्र देखिएको खरमजुर सन् २०१२ मा ४७ वटा भेटिएको थियो । त्यसपछि सन् २०१५ मा ३६ वटा, सन् २०१७ मा ४१ वटा, सन् २०२१ र २०२२ मा २१, २०२३ मा २४ वटा र २०२४ मा ३२ वटा खरमजुर भेटिएका छन् । यसले पनि कोशीमा सन्तोषजनक सङ्ख्या रहेको मान्नुपर्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपाल, भारत र कम्बोडियामा पाइने खरमजुर आइसिएनले सङ्कटापन्न चराको सूचीमा राखेको छ । नेपाल बर्ड रेड डाटा बुकले पनि यसलाई अति सङ्कटापन्नको सूचीमा राखेको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रूपमा सूचीकृत गरेको छ ।

संरक्षणमैत्री कार्यक्रमको अभाव

खरमजुरका लागि संरक्षणमैत्री कार्यक्रमको अभाव रहेको संरक्षणकर्मी बताउँछन् । विशेष गरी संरक्षण क्षेत्रभित्र नै हालसम्म यसको रहनसहन पाइएकाले त्यहाँ नै वासस्थान सुधार गरिनुपर्ने पौड्यालले जोड दिनुभयो । अध्ययनले पनि सोही अनुसारको सुझाव दिएको छ । त्यसका लागि जनचेतनामैत्री कार्यक्रमसँगै खरमजुरको प्रमुख वासस्थान मानिने सिरु घाँसको व्यवस्थापन र संरक्षण जरुरी रहेको उहाँले औँल्याउनुभयो । 

पर्यापर्यटनसँग जोड्दै यहाँ खरमजुर पाइन्छ भनेर ती क्षेत्रलाई सुरक्षित राखेर पर्यटकको चासो पनि बढाउनुपर्ने उहाँले बताउनुभयो । वरिष्ठ चराविद् डा. हेमसागर बरालले पनि पारिस्थितिक प्रणालीको महत्वपूर्ण चरा भएकाले यसको लोप हुनु भनेको अन्य चरा पनि लोप हुने बाटोमा अग्रसर हुनु हो भनेर बुझ्नुपर्नेमा जोड दिनुभयो । एकअर्कासँग अन्तरनिर्भर हुने हुँदा त्यसको दीर्घकालीन असर रहन्छ । उहाँले भन्नुभयो, “चितवनमा राम्रो थियो अहिले देख्नै मुस्किल छ, डुमरिया, कछुवानी र सुखीभार क्षेत्रमा पनि देख्न अप्ठेरो परिसकेको छ ।” नवलपरासीको पिठ्यौलीमा पनि देखिन थालेकामा अचेल देखिँदैन । 

उहाँका अनुसार खरमजुरको किसानसँग गहिरो सम्बन्ध छ । बर्खेबालीमा लाग्ने किरा फट्याङ्ग्रा यसका प्रमुख आहार हुन् । तिनका जरामा लुक्ने परजीवी किरा खाएर माटो मलिलो बनाउने र फल जोगाउने साथी खरमजुर हुन् । पछिल्लो समय खेतीमा अत्यधिक विषादीको प्रयोग हुँदा त्यसको असर खरमजुरमा परेको छ । खाद्यबाली चक्र र यसको आवागमनलाई नरोक्ने गरी कम विषादीयुक्त खेती गर्न उहाँ सुझाउनुहुन्छ । 

सङ्ख्या कम हुँदै जानुमा मुख्य गरी वासस्थान नोक्सानी, प्रजननको बेलामा घाँसे मैैदानमा लगाइने आगो र वन विनाश हुँदै जानु प्रमुख कारक मानिएको छ । बरालले थप्नुभयो, “फेबु्रअरी महिनाभरमा पुराना सोत्तर नष्ट गरौँ र यसले बच्चा जन्माउने बेला गुँड नष्ट हुने गरी आगो नलगाउनु हितकर हुन्छ ।” खरमजुर संरक्षणका लागि आएको बजेटको सदुपयोग नभएको गुनासो संरक्षणकर्मीको छ । संरक्षण क्षेत्रलाई थप जिम्मेवार बनाउनुपर्नेमा उहाँहरू जोड दिनुहुन्छ । बेलायतको डार्बिन इनिसियटिभमार्फत खरमजुर संरक्षणका लागि पाँच करोड रुपियाँको परियोजना सञ्चालन भएका थिए ।