• २ कात्तिक २०८२, आइतबार

फुङलिङबाट मित्लुङ जोड्ने सडकमार्ग सञ्चालन

blog

फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्गको एक्साभेटरमार्फत निर्माण कार्य गरिँदै । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, कात्तिक २ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टुक्रे–हाङदेवा हुँदै मित्लुङ जोड्ने सडकमार्ग सञ्चालनमा आएको छ । तमोर मेवा जलविद्युत् आयोजनाको सहयोगमा शनिबारदेखि उक्त सडकमार्ग सञ्चालनमा आएको हो ।

संविधानसभा सदस्य सञ्चपाल मादेनका अनुसार शनिबारबाट नै उक्त मार्ग भएर यातायात सञ्चालन गर्न सुरु गरिएको छ । अरु निकायले बेवास्ता गरेपछि आफू लगायत समुदायले गरेको अनुरोधलाई तमोर मेवाले ग्रहण गरेर सडक खुलाइदिएको मादेनको भनाइ छ। 

बर्खायाम सुरु भएसँगै ठाउँ–ठाउँमा झरेको पहिरोका कारण यो सडक अवरुद्ध रहेको थियो । यातायातका साधन बहानन्दे हान्द्रुङ घुम्नुपर्ने बाध्यतामा थियो । सदरमुकामबाट उत्तरी क्षेत्र जोडिने यो सडक निकै छोटो रहेको छ । यो सडकमार्ग भएर फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक लेलेप ओलाङचुङ गोला हुँदै नेपाल–चीन सीमा टिप्ताला भन्ज्याङ पुगिन्छ ।