नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २ गते । लमजुङ प्रशासनले तिहारको बेला खेलिने देउसी–भैलोका लागि समयसीमा निर्धारण गरेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीको अवसरमा खेलिने देउसी–भैलोका बेलुका १० बजेसम्मको समयसीमा निर्धारण गरेको हो ।
देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै सभ्य, मर्यादित तरिकारले बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म मात्र गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना प्रकाशन गर्दै जबरजस्ती करकापमा कोही सँग रकम असुली नगर्र्न, ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा सङ्गित र वाद्यवादनको साधन नवजाउन तथा होहल्ला नगर्न आग्रह गरेको छ ।
देउसीभैलाे बाहेक जुवातास, कौडा, लङ्गरबुर्जा खेल्ने तथा खेलाउने, अतिसबाजी, भुइचम्पा, रकेटजस्ता जोखिम निम्त्याउने र वातावरण प्रदुषण गर्ने विस्फोटक पदार्थ बिक्री वितरणमा समेत प्रतिवन्ध लगाएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बताउनुभयो ।
अखाद्य रङ्ग मिसाइका र खाद्य अवधि गुज्रेका मिठाई, रोटी, भाइमसला लगायतका अन्य खाद्य सामग्रीहरू अस्वस्थ र गुणस्तरहीन हुने भएकाले यस्ता वस्तुहरूको बिक्री तथा उपभोग नगर्न भनिएको छ ।
प्रशासनले सूचनामार्फत दियो, मैनबत्ती झिलिमिली बत्तीहरू बाल्दा आगलागी, करेन्ट लाग्नेजस्ता सभ्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाउन र मादक पदार्थको सेवनगरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, अपशव्द बोल्ने तथा कोही कसैलाई गाली बेइज्जती गरी समाजमा अशान्ति फैलाउनेजस्ता काम नगर्न अनुरोध गरेको छ ।
चाडवर्पको समयमा घरबाहिर निस्किदा झ्याल ढोका राम्रोसँग बन्द गरी आफ्नो धनमालको सुरक्षामा ध्यान दिनुका साथै अपरिचित व्यक्तिबाट सजग रहन र आफ्नो वरिपरि शङ्कास्पद गतिविधि भएको देखेमा वा कुनै घटना भएमा तत्काल नजिकको सुरक्षा निकायमा वा नेपाल प्रहरीको पैसा नलाग्ने नम्बर १०० (एक सय) मा खबर गर्ने समेत प्रशासनले अनुरोध गरेको छ ।