काठमाडौँ, माघ २६ गते । नेपाल बास्केटबल सङ्घ र थ्री बाई थ्रीको आयोजनामा सोमबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानको गरी ३२ टोलीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिनेछ ।
लिगकम नकआउटमा आधारमा खेलाइने प्रतियोगिताको विजेता, उपविजेता र मोस्टभेलुएबल खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । अघिल्लो संस्करणको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रुपियाँ प्रदान गरिएको थियो ।
तीन दिने प्रतियोगिताको फाइनलको दिन भारत र पाकिस्तानबिच मैत्रीपूर्णं बास्केटबल प्रतियोगिता समेत हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १२ देखि १५ लाख रुपियाँ खर्च हुनेपनि सङ्घले जनाएको छ ।