• २५ माघ २०८१, शुक्रबार

चार सय १८ वर्षदेखि विभेदमुक्त ‘श्रीवनारसीधाम’

blog

बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ ।

काठमाडौं, माघ २५ गते। बैतडीको अद्भूत श्रीवनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ चार सय १८ वर्ष पहिले विभेदमुक्त छ। पाटन नगरपालिका वडा नम्बर ३ गुजरमा अवस्थित शक्तिपीठमा लामो समयदेखि समावेशीमूलक पुजाआजाको सुरुवात भएको त्यहाँका पुजारीले बताउने गरेका छन्। 

विश्वनाथ ज्योतिर्लिङ्ग धामका मूल पुजारी समेत रहनुभएका मठाधीस ज्योतिषाचार्य एवम् धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्त पञ्चाङ्गकारका अनुसार उक्त धाममा माघ शुक्ल प्रतीपदादेखि दशमी (माघ १७–२५ गते) सम्म २२ ताल कुम्भ मेला लाग्छ। उक्त मेलामा हालसम्म तीन लाख ७५ हजार दर्शनार्थी पुगेको उहाँको भनाइ छ।

मेलामा भारतका उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाव, लखनउ, दक्षिण भारतका कर्नाटकदेखि सुदूरपश्चिमका सबैजसो भक्तजन त्यहाँ पुग्ने गर्दछन्। 

उहाँले भन्नुभयो, “शक्तिपीठमा चैत शुक्ल प्रदीपदादेखि चैत पूर्णिमासम्म कोटीहोम हुन्छ। अक्षय तृतीयामा अक्षय कुम्भदान मेला, गंगा दसारामा स्नान मेला, साउन महिनाभर साउने मेला र मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म मासपारायण मेला सम्पन्न हुन्छ। दैनिक मेला कोटीदीप प्रज्वलन, सत्यनारायण पुजा, महारुद्राअभिषेक, नवचण्डी, अखण्ड रामायणको पाठ प्रत्येक महिना गर्ने परम्परा छ।


पण्डित पन्तका अनुसार अद्भूत वनारसी धाममा वि.सं. १६०४ मा तत्कालीन महाराजा मानुक चन्दको पालामा राजगुरु राजज्योतिषी विरभद्र वसि पन्त लगायतका पण्डित, भट्ट, भाट, विष्ट, अवस्थी, कोली, दमाई, हुड्के, लुहार, कुमाल, पहरी आदि सम्पूर्ण राजारजौटाको छलफलपछि यो ठाउँमा कुनै पनि किसिमको विभेद हुनुहुँदैन भनेर निर्णय गरेका थिए। 

स्कन्दमहापुराणको मानसखण्डमा उल्लेख भए अनुसार विश्वनाथ ज्योतिर्लिङ्ग देउतालाई ८४ रुप धारण गर्ने, २२ तालमा स्नान गर्ने, १२ मसानको गुरु ८४ सिद्धबाट सम्मानित र १६ शिवालयको गुरुको रुपमा मान्ने गरेको पन्तको भनाइ छ। 

भगवान शिवले संसारभरमा धाम रचना गर्ने क्रममा आफ्नो दशदिग्पाल, पञ्चलोकपाल, एकाशदरुद्र, ४९ वायु, द्वादशादित्य, नवग्रहसहित ब्रह्मा विष्णु र नवदुर्गा भगवती र महाकालीलाई समेत निर्देशन गरेको पाइन्छ। उत्तर हिमालयको काखमा सरयू र गोमतीको संगम, निलपवर्तको फेद, असीबरुणको मध्य भाग र सुन्दर वणारसीपुरीमा यसको रचना गरेको भेटिन्छ। स्कन्द महापुराणको मानसखण्डको ७८ औं अध्यायमा भगवान शिवले भवानीसँग स्वयम् त्यहाँ आएर पुजा गर्नेछु भनेर स्पष्ट लेखिएको छ। 

पण्डित पन्तले विश्वनाथ वानरसी धाममा १२ औं शताब्दीदेखि पुजा गर्ने परम्परा रही आएको बताउनुभयो। उहाँले भन्नुभयो, “१२ औं शताब्दीदेखि पुजा गर्ने परम्परा चलेको हो। अनादिकालदेखि पुजनीय ठाउँ हो। महाभारतमा वर्णन भएका शैल्य राजाले समेत शल्य दशमी दिनमा पुजा गरेर आफ्नो मन्त्र सिद्ध गरेका थिए। त्यही मन्त्रका आधारमा यो धाम विभेदरहित क्षेत्र घोषणा भएको ४१८ वर्ष पुरा भएको छ।”

बैतडीको मैनावती कोटमा तत्कालीन महाराजा मानुक चन्दले वि.सं. १६०४ देखि १६८४ सम्म राज्य गर्नुभएको इतिहास छ।

एक समय गाउँमा विभेद भएको देखेर महाराजा चन्दले राजगुरु वीरभद्र पन्तलाई बोलाइ सोधनी गर्दा विभेदमुक्त एवम् समावेशीमुलक समाजको बिन्तिपत्र प्रस्तुत गर्नुभएको थियो। तत्कालीन महाराजा चन्दले वि.सं. १६६४ मा उक्त बिन्तिपत्र राजसभा परिषद्बाट पास गराएका थिए। 


विश्वनाथ वनारसी धाममा अहिले मूल पुजारीका रुपमा पण्डित गणेश पन्त,  धिरे लोहार, पद्मे लोहार, हरि पन्त, झुले लोहार, गौरे लोहार, नरिभान लोहार र गोकुलेश्वरबाट जनक लोहार रहनुभएको छ। 

यो पनि पढ्नुहोस

मुख्य पुजारी दलित, पालिकामा सार्वजनिक बिदा

जहाँ सोह्रौँ शताब्दीदेखि दलित र ब्राह्मण पुजारी छन्

वनारसीधाममा महाशिवरात्रिको तयारी

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।