बैतडी, फागुन २३ गते । पाटन नगरपालिका–३, गुजरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर परिसरमा हुने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । सो मन्दिरका पुजारी ज्योतिष पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले सबै जातजातिले श्रद्धापूर्वक पूजा प्रार्थनासहित मेला भर्ने सो मन्दिरमा शिवरात्रि मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो ।
माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशाल मेलाका साथै शल्य दशमीका दिन २२ ताल सहस्र लिङ्ग विशेष गात स्नान गराउने (सुन्दरी, ताल, एकधारे ताल, देवरह ताल र सैनी ताललगायत स्थानीय २२ वटा जलाशयबाट पानी सङ्कलन गरी) मुख्य मन्दिरको शिवलिङ्गको स्नान गराउने परम्परा रहेको पुजारी पन्तले बताउनुभयो ।
महारात्रि मेलामा शिव महापुराण, सतचण्डी, चार वेद, अखण्ड रामायणसहित लक्ष्यहोम आदि विविध धार्मिक अखण्ड भजनकीर्तनसहित मेला समापन हुने गर्छ । उहाँले स्कन्द महापुराणको मानस खण्डमा वर्णन भए अनुसार भगवान् शिवले आफ्ना सम्पूर्ण गण, गन्धर्व, यक्ष, किन्नर, दिक्पाल, लोकपाल आदिलाई निर्देशन गरी रमणीय पुरीको रचनासहित सो क्षेत्रमा ज्योतिर्लिङ्ग स्थापना गराएर पूजा गर्नुभएको भनाइ रहेको छ । १६ औँ शताब्दीका त्यस क्षेत्रका तत्कालीन महाराजा मानुक चन्द (मनि चन्द) को पालामा राजगुरु राजज्योतिषी बसी पन्त/वीरभद्रलगायत सम्पूर्ण स्वराड क्षेत्रका स्थानीयलाई बोलाएर सल्लाह गरी दलित जातिलाई समेत पुजारी नियुक्त गरेको भनाइ छ । त्यसबेलादेखि हालसम्म त्यस मन्दिरका पुजारीमा दलित र ब्राह्मण पुजारी सँगसँगै पूजापाठमा संलग्न हुँदै आएका छन् ।
मन्दिरमा हुने विशेष पूजामा दलित/ब्राह्मण पुजारीले संयुक्त रूपमा पूजा गरेर भक्तजनलाई टीका/प्रसाद आशीर्वाद दिने प्रचलन रहेको छ । छ हजार स्वराड, जागासौँ पुर्चुंडी, १५ पाला डोटी, पाँच सय वैतडी, नौ लाख निङ्लासैनी, ५६ कोटीरौला, १२ बिसी बरायल, छविसी गड, १३ हजार घटाल, नौखा अछाम, १२ पाट जुम्ला, खप्तान्त कुमाउँ, नौ ढुकुरा स्वर, २२ पाट लेकमबाट चिनोबानो, सुनचाँदी गरगहना, पञ्चैबाजा, नेजाधाजासहित नेपाल र भारतका भक्तजन पूजाका लागि आउने गर्दछन् । मन्दिरको पूजाअर्चनाको निरन्तरताका लागि राजा र राजगुरुसहित स्थानीयले बैतडी जिल्लाका विभिन्न स्थानमा वनारसीधाम विश्वनाथ गुठीको नाममा ६६६ रोपनी जग्गा व्यवस्थापन गरिएको छ ।
दैनिक तीन सय जनाभन्दा बढी भक्तजन आउने सो मन्दिर जाने बाटोको असुविधाले भिरैभिर चढेर जानुपर्ने, टाढाका भक्तजनका लागि बास बस्ने स्थानको समेत अभाव रहेकाले मन्दिरका पुजारी पन्तले बाटो र सामान्य सुविधासहितको पाटीपौवाको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।