अमृतकुमार महतो
बिजलपुरा (महोत्तरी), माघ २५ गते । महोत्तरीको उत्तरी क्षेत्रका किसानहरु रातभर जाग्राम बसेर वन्य जन्तुबाट बालीनाली जोगाउन पहरा दिन्छन् । बर्दिबास नगरपालिका–९, पशुपतिनगरका ६६ वर्षीय रामबावु मण्डलको दिनको चेन र रातको निद्रा हराएको छ ।
पुस र माघको जाडो होस् कि वैशाख–जेठको उखरमाउलो गर्मी उहाँ खेतमै छाप्रो बनाएर राताभर जाग्राम बस्नुहुन्छ । जङ्गली जनावरहरुले बालीनाली खाएर सखाप पारिदिने गरेको छ । जङ्गली जनावर धपाउन उहाँ माघको शीतलहरमा रातभरि जाग्राम बस्नुहुन्छ ।
यो समस्या रामबाबुको मात्र होइन, मधेशका लाखौं किसानको साझा समस्या हो । चुरे क्षेत्रको वन जङ्गल नष्ट भएपछि जङ्गली जीवजन्तुहरु नीलगाई, बँदेल, हात्तीहरु खेतबारीमा पसेका छन् । वासस्थान खोज्दै उनीहरु गाउँमा पनि भौंतारिने गरेको किसान मण्डल बताउनुहुन्छ ।
रामबाबुले निकै मिहिनेत गरेर खेतमा गहुँ, मटर, सिमी र टमाटर लगाउनुभएको छ । तर वन्यजन्तुले लहलह हुर्केको बाली खाइदिने गरेको छ । उहाँलाई निकै पीर परेको छ । ‘बिहानै उठेर साँझसम्म र राति ८ बजेदेखि बिहान ६ बजेसम्म जङ्गली जनावरबाट बाली बचाउन खेतमा चौकीदारी गर्नुपर्छ । नत्र छिनभरमै बाली सखाप पारिदिन्छ,’ जङ्गली जनावरबाट पीडित किसान मण्डल भन्नुहुन्छ, ‘खेतमा रातभरि आगो बालेर बस्छौं । खेतमा नीलगाई आयो भने धपाइहाल्छौं । टिन, थाल बजाएर धपाउँछौं ।’ परिवारका सदस्यहरु र छिमेकी आलोपालो गरेर छाप्रो र खेतको आलीमा चौकीदारी गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
जङ्गली जनावहरुले किसानलाई हैरान गर्दा उहाँहरुको बास मात्रै होइन खानाखाजा पनि खेतबारीमै लगेर खानुपर्ने बाध्यता छ । खेतबारीमा जाँदा किसानहरुले झोलामा खाना, खाजा, पानीको बोतल बोकेर जानुपर्ने बाध्यता रहेको किसान मण्डलले सुनाउनुभयो । ‘के गर्नु हजुर ? चौकीदारी गर्दागर्दै पनि रातमा गहुँ त खाइदिहाल्छन् ’, मण्डलले बाली देखाउँदै भन्नुभयो, ‘नीलगाईको ठूलो हुल छ, लेखेट्दा भाग्छ फेरि एकछिनपछि खेतमै छिरिहाल्छ ।’ हुसुले अहिले खेतबारीमा जङ्गली जनावर पसेको पनि नदेखिने गरेको उहाँ बताउनुहुन्छ ।
वनजन्तुबाट धेरैजसो गाउँलेले बाली बचाउन खेतको आली–आलीमा बेरा लगाएका छन् । तर पनि बेरा भत्काएर जङ्गली जीवजन्तुले बाली खाइदिने गरेको छ । त्यसैले बालीनाली जोगाउन किसानलाई पहारा दिनुपरेको हो । पाँच सालदेखि नीलगाईको बदमासी अली बढी नै बढेको छ । नीलगाईबाट बाली जोगाएर भित्र्याउन किसानलाई फलामको च्युरा चपाएसरी भएको छ ।
भंगहा नगरपालिका–४ का किसान ओपिन्द्र महतोले ५ कठ्ठामा काउली खेती गर्नुभएको छ । तर उहाँलाई पनि रामबाबुजस्तो दुःख छ । नीलगाईले दुःख नदिँदा किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गर्थे । तर अहिले विशेष गरेर चुरिया वन क्षेत्रबाट खेतबारीमा पसेको नीलगाईले बाली खाएर नष्ट गर्दा किसानलाई लगानी उठानै धौधौ हुने गरेको छ । ‘नीलगाईलाई धपाउन लौरो, ढुङ्गा र टिन बोकेर वरपरैबाट दौडिनुपर्छ । कहिले आलीमा अल्झिएर लडिन्छ,’ उहाँले भन्नुभयो, ‘तर पनि खाइहाल्छ, । अहिले उत्पादनको आधामात्रै भित्रिने गरेको छ ।’
उहाँका अनुसार नीलगाईकै कारण बढी खेत हुनेहरु साना किसानलाई ठेक्का–बटाई लगाएर बसाइँ सरेर सहर गएका छन् । गाउँमा रहेको साना किसानहरुलाई पनि वनजन्तुले हैरान गर्ने गरेको छ, उहाँले भन्नुभयो, "अब हामी गाउँ छाडेर कहाँ जाउ ? सधैंका लागि परदेश जाने कुरो पनि हुँदैन ? खेती लगाउनुबाहेक अरु केही जानिएको पनि त छैन ।’
वन्यजन्तुको आतङ्कले गाउँका किसानको उठिबास भइहरेको छ । लगानी गर्छ, बाली हुर्किन्छ, एकै रातमा नीलगाईले स्वाहा पारिदिन्छ । किसानको पीडा कसले बुझ्ने ? बर्दिबास नगरपालिका–७ मनहरीपुरका ५५ वर्षीय बन्सी महतोले पीडा पाेख्नुभयो । अब त किसानी जीवन गरेर नचल्ने भयो भन्दै उहाँ पिरोलिनुभएको छ ।
‘बाली नजोगाउने हो भने के खाएर बाँच्ने ? गरिब परिवारलाई छाक टार्नै मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘उब्जनी भएको आधा अन्न र तरुकारी नीलगाईले खान्छ । लगानी उठाउनै कठिन भयो । घर छाडेर बसाइँसराइ गरौं भने जग्गा किन्ने पैसा पनि छैन । शहर पसे बिहानबेलुका छाकको गर्जो कसरी टार्ने ? यतै बसेर खेतीपाती गरेर जीवन निर्वाह गरौं भने नीलगाईले केही रहन दिँदैन ।’
भनिन्छ, खेती तरकारी, जागिर सरकारी । तर अब तरकारी खेती गर्ने महोत्तरीसहित मधेसका किसानहरुलाई सङ्कटै सङ्कट छ । बन्सीका छिमेकी मनहरीपुरकै ३० वर्षीया सोमनी चमार सोमबार राती नीलगाई लेखेट्न बारीमा पुग्नुभयो । एक्लै देखेपछि नीलगाईको समूह खेतबाट भाग्नै मानेन । ‘सिमी सखापै बनायो धपाउन जाँदा नीलगाईको समूह नै भागेन डर लागेर घर फर्किएँ,’ उहाँले कथाव्यथा पोख्दै भन्नुभयो, ‘आफू आत्तिएर केही सोच्नै नसक्ने अवस्थामा पुगेकी छु ।’ उहाँका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । घरमा उहाँसहित दुई छोरी छन् । अहिले नीलगाई धपाउँदा, धपाउँदा घरको काम बिथोलिएको उहाँले बताउनुभयो । स्थानीय रुनादेवी पनि झिसमिसेमै नीलगाई थपाउन बारीमा पुग्ने गरेको सुनाउनुहुन्छ । ‘नीलगाईको हुलले एकैछिनमा मटर, सिमी स्वाहा बनाइदिन्छ । रुनु न हाँस्नु भयो, के गरौं ?,’ उहाँले चिन्तित हुँदै भन्नुभयो ।
बर्दिबास नगरपालिका, भंगहा नगरपालिका र गौशाला नगरपालिकामा ठूलो सङ्ख्यामा नीलगाई छन् । बर्दिबास नगरपालिका वडा ६,७ र ९ भंगहा नगरपालिका वडा ४ गौशाला नगरपालिकामा नीलगाईको बिगबिगी छ । अन्य पालिकाका पनि उस्तै छ । हरियाली जता भयो उतै गएर नीलगाईले उत्पात मच्चाउँछ । नीलगाईको विषय लिएर वन डिभिजन कार्यालय महोत्तरीले कुनै किसिमको गतिविधि गरेको छैन ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार, वन कार्यालयका अनुसार नीलगाई वन्यजन्तुभित्र पर्छ त्यसलाई मार्न कानुनले रोकेको छ । ‘ जङ्गली जनावर मार्न मिल्दैन । कसैको खेतबारीमा बाँदर र बँदेलले हानि नोक्सानी गर्यो भने सरकारले एक सालका लागि मार्न छुट दिएको छ । तर नीलगाईको बारेमा कुनै किसिमको निर्णय भएको छैन,’ प्रमुख मिश्रले भन्नुभयो, ‘नीलगाई नेपालको हो कि भारतको यो रिसर्च गर्नुपर्ने विषय हो ।’
जनशक्ति अभावसँगै सिँचाइ, बीउ, रोग, कीरालगायत समस्या भोगिरहेका किसानहरु पछिल्लो समय नीलगाईको बदमासीबाट आजित छन् । खेतबारीको बालीमात्रै होइन, घर नजिकको गँहु र तरकारीसमेत जोगाउन मुस्किल हुन थालेको छ । नीलगाईकै कारण कतिपयका खेतबारी बाँझो छ भने कतिपय किसान खेतमै बास बस्न बाध्य पनि छन् ।