• १२ कात्तिक २०८२, बुधबार

भियतनाममा बाढीका कारण नौ जनाको मृत्यु, पाँच बेपत्ता

blog

हनोई(भियतनाम) कात्तिक १२ गते । भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ । राष्ट्रिय नागरिक सुरक्षा सञ्चालन समितिको कार्यालयका अनुसार दा नाङ सहरमा छ, ह्यु सहरमा एक र क्वाङ न्गाई प्रान्तमा दुई जनाको बाढीको कारण मृत्यु भएको हो ।

बाढी प्रभावित क्षेत्रका अधिकारीसँग बाढीपछिको राहत तथा उद्धारसम्बन्धी बैठकको अध्यक्षता गर्दै भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले मध्य भियतनाममा गम्भीर बाढी आएको तथा धेरै क्षेत्रमा ठुलो वर्षा भएको उल्लेख गर्नु भएको छ । कृषि तथा वातावरण मन्त्री ट्रान डुक थाङले हु र दा नाङ सहरका एक लाख १० हजार भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएको बताउनु भएको छ । 

प्रधानमन्त्रीले स्थानीय अधिकारीलाई पहिरो तथा आकस्मिक बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई स्थानान्तरण गर्न र प्रभावित समुदायका लागि अत्यावश्यक सामाग्री खाद्यान्न, औषधीका साथै कीटाणुनाशकको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । रासस/सिन्ह्वा