काठमाडौं, माघ २७ गते । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान विभागले हिउँदको बाँकी समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो वर्ष हिउँदयाममा पश्चिमी वायुको प्रणाली कमजोर रहेका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपात परेको बताउनुभयो ।
मौसमविद् लामिछानेले भन्नुभयो, “हिउँदयाममा पश्चिमी वायु आउनाले नेपालमा हिमपात र वर्षा हुने सम्भावना बढ्ने हो । यो वर्ष त्यति सक्रिय भएर आएको छैन । पश्चिमी वायु आए पनि कमजोर पश्चिमी वायु प्रणाली भएकोले कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा भयो र हिमाली भूभागमा हल्का हिमपात भएको अवस्था थियो ।”
उहाँले पश्चिमी वायुको कमजोर प्रणालीका कारण देशको पूर्वी क्षेत्रसम्म यसको असर नपरेकोले वर्षा र हिमपात हुन नसकेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हिउँदमा हिउँदे वर्षा कस्तो हुन्छ भनेर जलवायु मौसम विभागले कम वर्षा हुने, तापक्रम सरदरभन्दा बढ्ने भनेर आङ्कलन पनि गरेको थियो । त्यही पनि हिउँदको समय करिब एक महिना अझै बाँकी नै छ । तत्कालै पनि हिउँदे वर्षा हुने, हिमपात हुने मौसम त देखिँदैन ।”
यस वर्ष हिउँदमा मौसम प्रणाली किन फरक भएको हो भन्ने जिज्ञासामा उहाँले मौसम प्रणाली दैनिक रुपमै फरक–फरक हुने भएकोले यस वर्षको मौसम अघिल्लो वर्षभन्दा फरक हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौसम प्रणाली प्रत्येक वर्ष फरक हुन्छ । प्रत्येक दिन नै फरक भइरहेको हुन्छ । अघिल्लो पटक जस्तो हुन्छ त्यही नै हुन्छ भन्न सकिँदैन ।” उहाँले ग्लोबल वार्मिङका कारण मौसम प्रणालीमा परिवर्तन आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक वर्ष चेन्जेज् र भेरियबिलीटी हुन्छ । किनभने, ग्लोबल तापक्रम बढीरहेको अब्जरभेसन पनि आइरहेको छ । यसलेगर्दा प्रणालीमा परिवर्तन हुन त सक्छ ।” उहाँले हिउँदमा जति हिमपात र वर्षा हुनुपर्ने थियो त्यो हुन नसकेको बरु, सुख्खा, खडेरी बढ्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हिउँदमा जति हिमपात हुनुपर्ने हो त्यो अवस्था देखिँदैन । त्यसले गर्दा कतिपय हिमालमा हिउँ पग्लेर काला पत्थर देखिएको अवस्था पनि छ । तापक्रम हुने, सुख्खा, खडेरी बढ्ने सम्भावना छ ।”