कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), कात्तिक ११ गते । दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ ।
सोमबार रातिदेखि मौसम बदली भएसँगै यहाँको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति फणिन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकोअनुसार अपि र नाम्पा हिमालमा हिमपात भइरहेको छ ।
हिमाल नजिकै रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हाल सम्म हिमपात नभएको तथा अत्याधिक चिसो बढेको उहाँले बताउनुभयो । छाङ्रु र टिङ्कर गाउँमा खानेपानीका पाइपहरुमा पानी जमेर पानी आपुर्तीमा केहि समस्या समेत सिर्जना भएको बताइएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै छाङ्रु गाउँको तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । सदरमुकाम खलङ्गामा समेत चिसो बढेको छ ।