• २९ फागुन २०८१, बिहिबार

संविधान संशोधनका लागि प्रतिपक्षको सहमति चाहिन्छ : नेता भट्टराई

blog

पत्रकार सम्मेलनम सहभागी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराईलगायत ।

रामेछाप, माघ २४ गते। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराईले संविधान संशोधनका लागि थप समय लाग्ने बताउनुभएको छ। 

बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजन गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो “संविधान संशोधन हुन्छ। तर समय लाग्छ। संविधान बन्न नै सात वर्ष लाग्यो। अब संशोधन जस्तो कुरा सबै सँग छलफल गर्नुपर्छ। संविधान संशोधनका लागि प्रतिपक्षको समेत सहमति चाहिन्छ।” सरकार निर्माणका समयमा संविधान संशोधन गर्ने सहमति भए पनि कुनकुन विषयमा संशोधन हुने भन्ने बारेमा छलफलसमेत नभएको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनमा भट्टराईले मुलुकलाई अप्ठेरो परेका बेला नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने गरेको बताउनुभयो। जनता दिएको मतका आधारमा जिम्मेवारी बढी एमाले र कांग्रेसको काँधमा रहेको समेत भट्टराईले बताउनुभयो। 

उहाँले भन्नुभयो, “जनताले दिएको मतका आधारमा जिम्मेवारी बढी एमाले र कांग्रेसकै काँधमा छ। यो सबैलाई थाहा भएकै कुरा हो। अब जनताको चाहना अनुसार काम पनि एमाले र कांग्रेस मिलेर बनेको वर्तमान सरकारले गर्छ।” 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देश सकारात्मक बाटोमा हिँडेको समेत उहाँको दाबी छ। मुलुककै दुई ठुला राजनीतिक पार्टी एमाले र कांग्रेस मिलेर सरकार बनेपछि अर्थतन्त्र लगाएका सूचकमा सुधार आएको उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो “अहिलेको सरकार बनेपछि देश सकारात्मक दिशामा अगाडि बढेको छ। यो सरकार बनेपछि अर्थतन्त्र लगायत धेरै कुरामा सुधार भएका छन्।”

अर्को प्रसङ्गमा उहाँले सरकारले अध्यादेश मार्फत शासकीय सुधारलाई प्राथमिकता दिँदै जन अपेक्षित ऐन, कानुन निर्माणमा लागेको बताउनुभयो। अहिले सरकारले देशलाई प्रविधिसँग जोड्दै आइटी क्षेत्रबाट आर्थिक विकासलाई जोड दिइएको उहाँको भनाइ छ। 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरूले समेत सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी काम गर्न सक्ने उहाँको विश्वास छ।