• १२ पुस २०८१, शुक्रबार

रिटायर्ड हाकिम (कथा)

blog

डा. राजुबाबु श्रेष्ठ

आज ऊ रिटायर्ड भएको एकतीसौँ दिन । एक महिनाको यो रिटायर्ड जीवनमा उसले भोग्नु नभोग्नु सबै भोग्यो । पैँतीस वर्षमा नचिनेको मान्छेहरूलाई चिन्यो । आफन्तहरूलाई चिन्यो । नजिकका साथीहरूलाई चिन्यो । सबैभन्दा बढी त उसले आफैँलाई चिन्यो । उसले जीवनमा सबैभन्दा नचिनेको र नबुझेको आफैँलाई रहेछ । आफूलाई नै नचिनीकन उसको पैँतीस वर्षे सरकारी सेवा कटिसकेको उसलाई पत्तै भएन । 

ऊ आफ्नै घरअगाडि बगैँचाको कुर्सीमा बसेर घाम ताप्दै टोलाइरहेछ । आजभोलि बिहानको झुल्के घाममा यसरी एक्लै कुर्सीमा बसेर आङ सेकाउँदा स्वर्गीय आनन्द प्राप्त हुन्छ । रिटायर्ड भएपछि घाम उसको अभिन्न मित्र भएको छ । पहिला यसरी घाम ताप्ने फुर्सद नै कहाँ र । बिहानैदेखि घरमा भेट्न आउने मान्छेको लर्को । पुलिसका हाकिमहरूदेखि कर्मचारी र चिनजानका मान्छेहरू कोही न कोही नआएको दिनै नहुने । कहिलेकाही त मान्छेसँग भेट्दा भेट्दा राम्रोसँग खाना खानै पनि नभ्याउने । टेलिफोनको घण्टी त्यत्तिकै बज्ने । मन्त्रीको खप्कीदेखि कर्मचारीको दुःखेसो सबै सुन्नुपर्ने । शनिबारको दिन पनि फुर्सद नहुने । मान्छेहरू अनेक काम लिएर घरैमा आइपुग्ने । उसले देश र जनताको कति सेवा ग¥यो थाहा छैन तर मन्त्री, हाकिम र अफिसका लागि भने आफ्नो मिले जति समय खर्च ग¥यो । 

चौबीस घण्टामा उसले आफ्नै परिवारका लागि पनि समय छुट्याउन सकेन । ऊ हाकिमी पारामा नै रमायो । पदमा रहँदा उसलाई आजको दिनको कहिल्यै सम्झनासमेत भएन । ऊ यति धेरै जागिरमा रमायो कि उसले आफ्नो जिन्दगीलाई नै बिर्सियो । सुरु सुरुमा एलडीओ हुँदा उसको दैनिकी यस्तो व्यस्त थिएन । परिवारलाई केही समय दिन पनि भ्याएकै थिए । शनिबारको दिन यसो छर छिमेकको जमघटमा पनि देखिन्थे । जब सहसचिवको बढुवासँगै गृह मन्त्रालयमा सरुवा भए त्यसपछि उसको दैनिकी र ऊ बदलियो । ऊ प्रहरीको सुरक्षा गार्ड लिएर हिँड्न थाल्यो । घरमा काम गर्ने मान्छे पनि प्रहरीबाटै आयो । हिजोसम्म अलिअलि लेउ देखिने उसको कम्पाउन्ड वाल सफा र चिटिक्क देखिन थाल्यो । अफिसबाट घर आइपुग्दा दौडदै गेट खोल्न आइपुग्ने भए प्रहरी । उसलाई हिजोभन्दा आफ्नो सानसौकत बढेको भान भयो ।

ऊभित्र शक्तिको साम्राज्य बढ्दै बढ्दै गयो । ऊ मान, सम्मान र शक्तिको स्वादमा रमाउँदै रमाउँदै गयो । सधैँजसो ठूला ठूला मान्छेहरूसँगको भेटघाट र रहनसहनमा विदेशी मदिरासँग पनि उसको बाक्लै सङ्गत भयो । उसको मदिरा प्रेम निकै बढेर गयो । तर मदिरासँगको प्रेमले श्रीमतीसँगको दूरी बढ्दै गएको भेउ नै पाएनन् । कुखुराको मासुसमेत नखाने उसकी श्रीमतीलाई उसको मदिरा गन्ध पचाउन निकै गाह्रो भयो । कहिलेकाहीँ श्रीमतीले कुरो निकाल्दा ठूलो मान्छे भएपछि पार्टीमा खानैपर्ने बाध्यता हुन्छ तिमीहरूलाई के थाहा ? भनेर उडाइदिन्थ्यो । त्यसपछि बारबार कुरो निकालेर झगडा गर्ने कुरो पनि भएन । उसको व्यवहारले छोराछोरीहरूसँग बढ्दै गएको दूरी पनि थाहै भएन ।

आजकल छोराछोरी पनि ऊसँग कुरो गर्न खासै रुचाउँदैनन् । छोराछोरीका बारेमा श्रीमतीले बताएसम्मको कुरा मात्र थाह हुन्छ । विदेशमा आफैँ कमाइ गरी खान सक्ने भएकाले छोराछोरीलाई उसको सहयोगको जरुरत पनि छैन । उसलाई छोराछोरीको माया लाग्छ भन्ने कुरा छोराछोरीलाई पत्यार छैन । आफ्नैले नपत्याउँदाको चोट सहिनसक्नु हुँदोरैछ । श्रीमती पनि उसको नजिक आएर बोलौँबोलौँ गर्दिनन् । यस्तो लाग्छ उनलाई नबोल्ने बानी नै भइसक्यो ।    

 “होइन के एक्लै टोलाएर बसिरहनुभएको भन्या । अब त कहाँ जानु छ र ! यसो पसलतिर गएर दूध र सागपात ल्याइदिए पनि हुन्थ्यो नि । घरको काममा सघाउँदा इज्जतै जाने हो र !” घरभित्रबाट आएकी श्रीमतीको तिखो र रुखो आवाजले झसङ्ग भयो ऊ ।

खै कुन्नि किन आज उसलाई आफ्नै श्रीमतीको कुरा पनि नमीठो लाग्यो । हिजोसम्म आफूले गाडी रोकेर पनि नहेर्ने त्यो डेँडे साहु कहाँ दूध र साग लिन कसरी जानु । देख्नेले पनि के भन्लान् । छिमेकीहरू पनि हेरेर हाँस्दा होलान् । घरनजिकै बस्ने नगरपालिकाका अधिकृत त झन् चकितै पर्ला भन्ने डर । उसलाई पसल जाने कुरो चन्द्रमा जानुजस्तै लाग्यो । ऊ चुपचाप श्रीमतीको कुरा नसुनेझैँ गरी बस्यो ।   

“होइन नसुन्नु भएको कि क्या हो ? दिनभर के काम छ र । बस्ने र खाने मात्रै न हो । कुनै मन्त्रीले बोलाउला भन्नु छैन । कतै मिटिङमा जाउँला भन्नु छैन । आफूलाई भने भ्याइनभ्याई छ । म एक्लैले सबै काम गर्न सक्दिनँ अब । कि त मान्छे राख्नुप¥यो कि आफूले पनि काममा हात बढाउनु प¥यो ।” यसपालि त झनै झर्किएर बोलिन् श्रीमती ।

श्रीमतीको कुराले उसको मनमा नदेखिने गरी सानो घाउ बनायो । ऊ बिस्तारै उठेर गेटबाट बाहिर निस्क्यो । उसको घरबाट दसबाह्र घर कटेपछि आउँछ दूध किन्ने डेँडे साहुको पसल । मनको सफा भए पनि मुख निकै छुच्चो छ डेँडे साहुको । पसलमा आउने मान्छेलाई केही न केही भनिरहेकै हुन्छ । 

श्रीमतीले छाड्ने सुर नदेखेपछि ऊ पसलतिर लाग्यो । सरासर पसलमा पुगेर बाहिर क्रेटमा रहेको दुई पोका दूध र सँगै रहेको एक मुठा साग झिकेर साहुजीको टेबलमा राख्यो ।

“ओहो ! आज त घाम पश्चिमबाट उदाउला जस्तो पो भो त सर । हाकिम साहेब आफैँ दूध लिन आउनुभको भन्या ? पुलिस केटाहरूलाई पठाइदे त भइहाल्थ्यो नि ।” साग र दूध झोलामा हाल्दै बोल्यो डेँडे साहु ।

रिटायर्ड भएकै भोलिपल्ट घरमा काम गर्ने पुलिस फर्केको थाहा पाएरै यसो भनेको होला भन्ने लाग्यो उसलाई । जे उसको मनमा थियो त्यही भयो । डेँडे साहुको कुराले उसको मनमा च्वास्स घोच्यो । ऊ केही बोलेन । पैसा तिरेर मुख अमिलो बनाउँदै घर फक्र्यो ।

“नमस्कार हजुर ! दूध लिन सर आफैँ ?”– बाटैमा फेरि नगरपालिकाको अधिकृतले निकै आदरभाव दर्साउँदै अभिवादन ग¥यो । अधिकृतले आदर गरी बोल्दा पनि उसलाई भने खिस्याएको अनुभूति भयो । उसले पहिलो चोटि पसलबाट दूध किनेर ल्याएको होइन । काठमाडौँ आएपछि उसले धेरैपटक दूध किनेर ल्याएको छ । दूध किन्न मात्र के पहाडमा हुँदा उसले बाल्टिन भरीभरी दूध दुहेको पनि छ । भकारो सोहोरेर गोठ सफा गरेको पनि छ । जङ्गल पुगेर घाँस दाउरा गरेको पनि छ । तर पहाडमा सबैका अगाडि मेलापात गर्दा नलागेको लाज आज पसलबाट एक पोको दूध किनेर ल्याउँदा लागिरहेछ उसलाई । 

घरको गेटैमा पुग्दा फोनको घण्टी बज्यो ।

“हेल्लो, ज्वाइँ साहेब नमस्कार ।” उताबाट आवाज आयो । ससुरालीतर्फको अलि टाढाको नातेदारको रहेछ ।

“नमस्कार हजुर !” उसले पनि फर्कायो ।

“हेरिस्यो न ज्वाइँ साहेब । हजुर जागिरमा हुँदा त हजुरले बोलेपछि फ्याट्टै काम हुन्थ्यो । अब त हजुरको पनि लाग्दैन होला । छोरोले लाइसेन्स लिन खोजेको छ । हजुरका साथीहरू कोही छन् भने यसो भन्दिसिन्थ्यो कि भनेर ।” 

कुरो सुन्दैमा उसको पारो तात्यो । हवस् भनेर फोन काटिदियो । कुरो सत्य नै भए पनि बोलिहाल्नुपर्ने चाहिँ थिएन । उसलाई आफन्तहरू पनि सबै आलो घाउमा नुन छर्किन बसेका हुन कि झैँ लाग्यो । हिजोसम्म जे परे पनि उसकै ढोका कुर्नेहरू आजकल उतिसारो फोन गर्दैनन् । गरिहाले पनि उनीहरूको कुरोले उसको मनमा एउटा न एउटा घाउ बनाएर जान्छ । जागिरमा हुँदा उसलाई यस्तो कहिल्यै लागेन । तर आजभोलि जसले जे भने पनि आफैँलाई भनेका हुन् कि जस्तो लाग्छ ।

तीन दिनअगाडिको घटना सम्झ्यो । ऊ बेलुकी आठ बजेको समाचार सुन्ने तरखरमा थियो । श्रीमती अमेरिकामा रहेकी  सालीसँग च्याटमा मस्त थिइन् । सालीको आवाज सानो सुने पनि श्रीमतीको आवाज समाचारको भन्दा ठूलो सुनिन्थ्यो ।

“रिटायर्ड पछि भिनाजुले के गर्ने सोच बनाउनुभको छ त ? कसरी दिन काट्नुहुन्छ ? केही गर्ने कि यतिकै बस्ने विचारमा हुनुहुन्छ ?” सालीको चिन्ताग्रस्त आवाज थियो ।

“के गर्नु नि, टीभी हेर्ने, पत्रिका पढ्ने, युट्युबमा फिल्म हेर्ने, साथीभाइसँग च्याट गर्ने, बेलुकी यसो एकदुई पेग लगाउने गर्दा तेरो भिनाजुलाई एकैछिन पनि फुर्सद छैन । घरको काम गरे भने त इज्जतै जाला जस्तो गर्छन् । खै के कुरा गर्नु र !” श्रीमतीले एकै लाइनमा उसको सम्पूर्ण जानकारी दिइन् ।

“यसरी बस्दा त झनै बिग्रने डर हुन्छ । यसो नजिकका साथीभाइसँग मिलेर बिजनेस नै गरे पनि त हुन्छ नि !” सालीले फेरि सुझाव प्रस्तुत गरिन् ।

“साथीहरू पनि सबै उस्तै त हुन् नि । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी । पद र पावर हुन्जेल सबै साख्खै लाग्थे । पदबाट हटेपछि सबै टाढा । छिमेकीले त यिनलाई हातमा थुक्देभन्दा पनि थुक्दैनन् । पहिला यिनले कसैलाई चरोमुसो गनेनन् अहिले यिनलाई कसैले गन्दैनन् । मै एउटा रहेछु यिनको भन्नु । बेहोरा हेर्दा त कहिलेकाही मैलाई पनि वाक्क लाग्छ भन्या । त्यत्रा वर्ष जागिरमा हुँदा घरको दैलो काटेर त्यही दिल्लीसम्म पनि पुग्न पाइएन । जागिर हुन्जेल न लोग्नेको साथ पाइयो न मन पाइयो । अहिले साथै भए पनि आफैँलाई कतै जाउँजाउँ जस्तै लाग्दैन । हुन त यो घर, छोराछोरीको पढाइखर्च सबै उनैको कमाइले चलेको हो तर बाँच्नु मात्रै सबै नहुँदोरहेछ ।” श्रीमतीले मनको बह पोखिन् ।      

त्यस दिन श्रीमतीको कुराले छाँगाबाट खसेजस्तै भएको थियो ऊ । श्रीमतीलाई सुख र खुसीसँग पालेको छु भन्ने उसको भ्रम पहिलोपल्ट टुटेको थियो । श्रीमतीको मनमा यति धेरै गुनासो छ भन्ने कुरो उसले कहिल्यै सोचेको थिएन । कताकता नरमाइलो पनि लाग्यो ।

सालीसँगको संवाद सकिन नपाउँदै फेरि सासू आमाको फोन आयो । ऊ नसुनेझैँ गरी पत्रिकामा आँखा लगाएर बस्यो । ह्यान्ड्स फ्रीमा राखेर कपाल कोर्दै कुरा गर्न लागिन् श्रीमती । सासूले विराटनगरबाट सामान पठाइदिएका रहेछन् । कलङ्कीसम्म लिन जानुपर्ने । हिजो जागिरमा हुँदा प्रहरीको गाडीले घरसम्मै पु¥याउन ल्याउँथे । कसरी ल्याउने भन्ने चिन्ता लिनु नै पर्दैनथ्यो ।

“हजुरले त्यति टाढाबाट छोरी ज्वाइँले खालान् भनेर सामान पठाइदिसिन्छ, यहाँ त्यहीँ कलङ्कीसम्म पुगेर ल्याउन कत्रो महाभारत हुन्छ । अबदेखि त नपठाइदिसे पनि हुन्छ ममी ।” श्रीमतीले गुनासो गरिन् ।

“आजभोलि त ज्वाइँ सापको के काम छ र ! त्यति कलङ्कीसम्म पुगेर ल्याउन पनि केको महाभारत नि ? हामीचाहिँ आफ्नै खेतीको चामल र दाल ज्वाइँ छोरीको मुखमा परोस् भनेर बसवालालाई ज्यू ज्यू गरी पठायो । छोरीचाहिँ पर्दैन भन्छौ ।” उताबाट  सासुआमाको  जबाफ आउँछ ।

उसलाई सासूको बोलीमा पनि हेपाइको गन्ध आउँछ । उसलाई आफू कामै नभएको मान्छेझैँ लाग्न थाल्छ । एक महिनाअगाडि मात्र कामकै कुरोले उसले एउटा हितैसीसँग सम्बन्ध तोडेको थियो । कुरो केही थिएन । फोनको सामान्य संवादले नै उसको मन भाँचिएको थियो । 

“आजकल के काममा लागेका छौ त मित्र ?” साथीको पहिलो सोधाइ थियो ।

“के काम गर्नु र । म त मस्तिमा छु । आफ्नै मर्जिको मालिक । आफ्नो हाकिम आफै ।” उसको जबाफ ।

“यसरी केही पनि काम नगरी बस्न त हँुदैन है साथी । केही काममा त लाग्नै पर्छ है । घरमै बसेर कसरी समय काट्ने ?” साथीको पुनः प्रश्न । 

साथीको यस प्रकारको सल्लाह उसलाई पटक्कै मन परेको थिएन । पैँतीस वर्ष जागिर खाएर रिटायर्ड भएको मान्छेले फेरि काम किन गर्ने ? जीवन भनेको कामैकाम मात्र हो र ? सरकारले अब आराम गर्नु भनेर पेन्सनमा पठाएका त होलान् नि । पेन्सनमा निस्केपछि पनि कामै गर्ने हो भने जीवनमा खुसी खोज्ने कहिले त ? के जागिर मात्रै जीवन हो र ? आजकल त कसैले के काम गर्नुहुन्छ भन्दा पनि उसलाई झनक्क रिस उठ्छ । एउटा जागिरमा पूर्ण अवधि सकेर निस्केको मान्छेले फेरि अर्को जागिर किन खाने ? 

उसको मनमा जेसुकै भए पनि रिटायर्ड जीवनमा आएपछि उसलाई आफ्नो परिचय हराएको जस्तो लागेको कुरो भने सत्य हो । मान्छेहरूले उसको जीवनको भन्दा बढी महìव उसका जागिरलाई दिएको कुरो पनि सत्य हो । यो उसका लागि तीतो भए पनि यथार्थ अनुभव थियो ।

केही दिनअघि मात्र उसको छोरो र आमा बीचको संवादले उसको मुटु चिरिएको थियो ।

“मैले त मेरो कलेजको फर्ममा बाबुको अकुपेसन बिजनेस राखिदिएँ । कसले रिटायर्ड लेखोस् हैन मामु ? मलाई त रिटायर्डभन्दा पनि साथीहरूले हेपेका पो हुन् कि जस्तो लाग्छ भन्या । हाम्रै घरमा बसेका पुलिसहरूले त नचिनेको जस्तो गर्छन् अरूका त के कुरा गर्नु र ? बुबालाई पनि यही बेलामा किन रिटायर्ड हुनुप¥या होला भन्या । क्या बोर लागेर आउँछ ।”

छोराको कुराले उसलाई हुनुसम्मको पीडा दिएको थियो तर उसले चालै नपाए जस्तो अभिनय गरिदिए । उसलाई बल्ल महसुस भयो उसको पद र प्रतिष्ठामा रमाउने मान्छे धेरै रहेछन् । तर उसको घाउमा मल्हम लगाउने मान्छे भने कतै भेटेन उसले । रिटायर्ड भएपछि उसलाई समाजले हेर्ने चस्मा बदलिएको कुरो बल्ल चाल पायो । साथीभाइ, आफन्त र छिमेकीले हेर्ने दृष्टिकोणमा आएको परिवर्तन बल्ल बुझ्यो । जागिर छँदासम्म उसले यो अवस्थाको हेक्कासम्म राखेन । सायद राखेको भए ऊ आफ्नो पद र प्रतिष्ठाको खेलबाट टाढै बस्थे होला । तर यतिखेर उसका अगाडि फेरि फर्केर आफ्ना व्यवहारलाई सच्याउने समय छैन । उसलाई हिजो आफूले बिर्सेको समाजमा स्थापित हुन निकै गाह्रो छ । मरुभूमि जस्तै बनेको आफ्नै श्रीमतीको  छातीमा मायाको बीज उमार्न पनि हम्मेहम्मे छ । आफ्नै छोराछोरीसँग बनेको दूरी छोट्याउन पनि पर्वतै छ । अरू त परका कुरा ।

आफ्नै बारेमा सोच्दासोच्दै भ्रमित हुन्छ ऊ । उसले जताततै आफ्नो मानमर्दन भएको मात्र देख्छ । ससुरालीपट्टिका नातेदारहरूले पनि निकै कम बोलाउँछन् आजकल, चोकको चिया पसलेले पनि कति ढिलो दिन्छ चिया, छिमेकीले खाली गाडी जाँदा पनि कहिल्यै लिफ्ट दिँदैनन्, डेँडे साहुले त नमस्कार गर्न पनि छाड्यो, नगरपालिकाका हाकिमले त देखे पनि नदेखे झैँ गर्न थाले, आफैँले सरुवा गरी गृहमा ल्याइदिएका अधिकृतले पनि फोन उठाउनै छाडे, आफैँले नम्बर थपेर प्रमोसन गरिदिएको प्रहरी अधिकृतले मतलबै गर्न छाडे, एउटा आदेशको भरमा मिल्ने नमिल्ने सबैको टिप्पणी उठाउन लगाएर निर्णय गराएको मन्त्रीले त झन् चिन्दै चिनेनन् । उसले जागिरमा छँदा गुन लगाएका सबै मान्छेहरूलाई सम्झिए । तीमध्ये कसैले पनि उसलाई सम्झिएको पाएनन् । उसले यतिखेर आएर चिन्यो मान्छेको असली चरित्र ।

उसलाई घरभित्रै पनि फरक व्यवहार भएको हो कि झैँ लाग्यो । श्रीमतीले पनि अनेक काम लगाएर हेपेझैँ लाग्यो । हिजो केही नबोल्ने श्रीमतीले सानो सानो कुरामा पनि करकर गरेझैँ लाग्यो । छोराछोरीको चासोभित्र पनि आफू परेझैँ लागेन । उसले आफूलाई नितान्त एक्लो महसुस ग¥यो । हुन त उसकै व्यवहारले ठड्याएको हो पतिलाई परमेस्वर ठान्ने श्रीमतीको मनमा तिरस्कारको धरहरा । उसैले खनेको हो छोराछोरीबीचको कोसौँ माइल दूरीको बाटो । उसलाई आज आफैँले खनेको खाल्डो पुर्न लगभग लगभग असम्भव जस्तै भएको छ । अरूको त केही छैन तर आफन्तहरूकै दूरीले उसलाई एक्लो बनाएको छ । ऊ आफ्नै घरमा एक्लिएको छ । 

 रिटायर्ड जीवन परिवारका साथ खुसी र सुखका साथ बिताउने उसको इच्छामा बादल लागेको छ । उसलाई थाहा छैन कहिले फाट्ने हो त्यो बादल । कहिले फेरिने हो रिटायर्डहरूलाई हेर्ने समाजको त्यो चस्मा । ऊसँग केवल आफ्नो इमानदारिताको अदृश्य प्रमाणपत्र  मात्र बाँकी छ । ऊसँग एकै दिन रिटायर्ड भएका उसका साथीहरूका जस्ता चिल्ला गाडी र आरामदायी महलहरू छैनन् । कहिलेकाहीँ ऊ आफ्नै मनलाई छाम्छ र आफ्नो इमानदारिताको कहानी सुनाउन खोज्छ तर सुन्नका लागि उसकै श्रीमती पनि तयार देखिन्नन् । ऊ खिन्न बन्छ । उसलाई लाग्छ अब दुनियाँमा इमानको कुनै मूल्य बाँकी छैन । 

आफ्नै जीवनका बारेमा घोत्लिँदा घोत्लिँदै उसलाई फेरि क्षणिक नै भए पनि आफ्नो परिचय बनाउने इच्छा बढेर आउँछ । बिहान आफँैले किनेर ल्याएको अखबारको पानाहरूमा आँखा दौडाउन थाल्छ । पढ्दा पढ्दै उसको आँखा एउटा विज्ञापनमा पुगेर टक्क अडिन्छ । विज्ञापनको शीर्षक थियो– रिटायर्ड कर्मचारीहरूका लागि सुवर्ण अवसर । ऊ विज्ञापन अधोपान्त पढेर जुरुक्क उठ्छ । सरासर कोठामा पस्छ र पुरानै कोट उनेर लाग्छ सहरतिर । ऊ एक पटक फेरि सहरको भीडमा हराउँछ । á


rajubabu25@gmail.com