देशको उत्थान र समाज उन्नयनको बलियो शक्ति आधारभूत रूपमा दक्ष युवाशक्ति नै हो । युवा पुस्ताले वर्तमानमा उभिएर भविष्य हेर्छ र भावी विकासको रेखा कोर्छ । ६० कटेको पुस्ताले विगत कोट्याएर बस्छ र भविष्यको बारेमा गुनासो पोख्छ । यो नै हाम्रो समाजको विद्यमान यथार्थता हो । संसारमा आएको नवउदारवादी लहरले नेपाली युवा पुस्तालाई पलायनतर्फ हिँडाइरहेको छ र बिस्तारै बिस्तारै गाउँ र सहरहरू दक्ष युवारहित ठाउँको रूपमा परिणत हुँदै जाने सम्भावना बढ्दै गएको छ । गाउँ त बुढाबुढीहरूको बसोबासस्थलको रूपमा परिणत भइरहेको छ ।
युवा पलायनको क्रमलाई रोक्छु भन्दैमा रोक्न सकिने अवस्था वर्तमानमा देखिएको छैन । रोजगारी, उच्च अध्ययन र पश्चिमी विकासको रमझमले युवा पुस्तालाई तानेको छ । आर्थिक बाध्यता र व्यक्तिगत रहरले युवा जमात बिदेसिएको छ । आर्थिक बाध्यताले वैदेशिक रोजगारीमा जाने र उच्च अध्ययनमा अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका विकसित देशमा प्रवेश गर्नेहरूका आफ्नै सीमितता छन् । रोजगारीमा जानेहरू फर्केर नेपालै आउँछन् तर अध्ययनको सिलसिलामा जाने विद्यार्थी युवा प्रायः उतै बसोबास गर्न रमाउँछन् ।
छोराछोरी फर्केर नआउँदा गाउँ–सहरमा बस्ने वृद्ध बाबुआमा छोराछोरीले बुढेसकालमा हेर्न नआएको भन्दै आँखाभरि आँसु ल्याएर गुनासो बिसाउँछन् भने उनका छोराछोरी आफूले विदेशमा पढे अनुसारको जागिर नेपालमा नपाइने भएकाले फर्केर नेपाल आउन नसक्ने र विदेशमा पाइरहेको जागिर त्यागेर बाबुआमाको कुरुवा बस्ने गरी समय मिलाएर आउन नमिल्ने बाध्यता देखाउँछन् । अर्कोतिर बाध्यताले वैदेशिक रोजगारीको बजारमा प्रवेश गरेका दक्षताको कमीले उपयुक्त रोजगारी नपाउँदा कार्गो बनेर एयरपोर्टमा ओर्लिनुपर्ने दुःखद स्थितिले बाबुआमालाई त पिरोलेको छ । रेमिट्यान्सको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उनीहरूको योगदानको खासै कदर हुन नसकेको स्थिति छ । यद्यपि अस्थिर र अस्थायी चरित्र रहेको रेमिट्यान्सको माध्यमबाट मात्र अर्थतन्त्रको दिगो विकास सम्भव हुँदैन । अहिलेको सामाजिक मनोविज्ञान र राष्ट्रिय अर्थतन्त्रमा दिएको योगदानको धरातलमा उभिएर हेर्दा विदेश नजाऊ भन्न सक्ने वातावरण मुलुकभित्र बनिसकेको छैन । त्यसो हो भने, माथि उल्लेखित दुई प्रकारको युवा शक्तिलाई मुलुकको हितमा अधिकतम परिचालन गरी राज्यको दक्ष जनशक्ति आपूर्ति व्यवस्थापन गर्ने कसरी ?
यी दुवैलाई सम्बोधन गर्ने पक्ष हुन्–शिक्षा र संस्कार । शिक्षाले सिप, ज्ञान, क्षमता र दक्षताको वृद्धि गर्छ भने संस्कारले आफ्नो समाज र राष्ट्रप्रति कर्तव्य र जिम्मेवारीको बोध गराउँछ तथा सामाजिक मूल्य, मान्यता, नैतिकता र सदाचार अवलम्बन गर्ने भावना र मानसिकतालाई बढावा दिन्छ । अहिले किताबी शिक्षा त दिइन्छ तर संस्कार दिइँदैन । अहिलेको शिक्षा प्रणालीले व्यावहारिक प्रविधि उन्मुख शिक्षालाई व्यवहारमा जोड दिएको पाइँदैन । यदि प्रविधि उन्मुख शिक्षा प्रणालीलाई सातै प्रदेशमा लागु गरिएको भए नेपालको पढाइले उद्यमशील युवा जनशक्तिको निर्माण गरिसकेको हुने थियो ।
खाडी मुलुकलगायत अन्य देशमा रोजगारीका लागि बाध्यतावश गएका नेपाली युवामा यदि विषयगत विशेषज्ञता वा दक्षता भइदिएको भए उनीहरूले पाउने पारिश्रमिक उपल्लो स्तरको हुने थियो र ‘अर्गानिक वातावरण’ मा आरामसँग काम गर्न पाउने अवस्था आउने थियो । विद्यालय स्तरदेखि प्रविधिजन्य व्यावसायिक शिक्षा दिने र सोको आधारमा उनीहरूको दक्षता र क्षमता वृद्धि गराउने कार्य गर्न सकेको भए ५० डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा अदक्ष श्रमिकले रगत र पसिना बगाएर काम गर्नु पर्दैन थियो । सर्टिफिकेट प्रदान गर्ने र प्राप्त गर्ने उद्देश्यले पढ्ने र पढाइने शिक्षाले विद्यार्थीको असल भविष्य निर्माणमा कुन हदसम्मको योगदान होला ? विचारणीय एवं बहसको विषय छ ।
कुनै युवालाई उसले प्राप्त गरेको शिक्षाबारे सोध्दा उसले भन्छ, “मानविकी वा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको छु, हाल म नोकरीको खोजीमा छु ।” नोकरी खोज्ने जमात बढाउनुभन्दा नोकरी दिन सक्ने जमात बढाउनु मुलुकका लागि राम्रो हुन्छ । नोकरी दिन सक्ने भन्ने बित्तिकै उद्यमशील युवा जनशक्तिको निर्माण गर्नु हो । युवामा उद्यमशीलताको निर्माण एकै दिन वा एकै महिनामा हुँदैन । यो त शिक्षा प्रणालीको पाठ्यक्रमभित्र राखिएको हुनु पर्छ, जुन विद्यालयस्तरदेखि सिकाइन्छ, सिकिन्छ ।
विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमले आफ्नो राष्ट्रको मूल्य, मान्यता र कर्तव्य तथा समाजको सभ्यताका बारेमा गहन रूपमा पढाइँदैन र सिकाइँदैन भने नेपालको राष्ट्रिय हितका विशिष्ट, प्रमुख र अन्य पक्षको संवेदनशीलतालाई विद्यार्थीले आत्मसात् गर्न गाह्रो पर्छ । ‘म नेपाली हुँ, नेपाल मेरो देश हो र मैले देश र समाजका लागि आफ्नो क्षेत्रबाट योगदान गर्न सक्छु’ भन्ने भावनाको विकास जबसम्म हुन सक्दैन, ‘नकारात्मक भाष्य’ को निर्माण भइरहन्छ र नकारात्मक सोचले फैलिने मौका पाइरहन्छ । सामाजिक सञ्जालभित्र देखिने केही नकारात्मक क्रिया र प्रतिक्रियालाई यस सन्दर्भमा एउटा सानो सूचकको रूपमा लिनुपर्ने हुन्छ ।
अर्कोतिर पहिलो विद्यालयको रूपमा रहेको परिवारले आफ्नो छोराछोरीप्रति कस्तो शिक्षा प्राप्त होस् भन्ने ठान्छ त्यसले पनि युवा शक्तिको निर्माणमा प्रभाव पार्छ । सामान्य रूपमा हेर्दा विद्यालयमा पढ्ने छोराछोरीले अङ्ग्रेजी बोल्न थाल्यो भने बाबुआमा दङ्गदास पर्ने कमजोर मनोविज्ञानको निर्माण भइरहेको छ । अङ्ग्रेजी बोल्ने–लेख्ने काममा अब्बल बन्नु राम्रो हो तर हेक्का राख्नु पर्छ, अङ्ग्रेजी बोल्ने–लेख्ने नाममा आफ्नो मातृभाषा नेपालीमा शुद्ध लेख्न नजान्ने, राम्रो बोल्न नसक्ने भयो भने त्यस्तो छोराछोरीले मुलुकलाई योगदान कसरी दिन सक्लान् ? कतिपय विद्यालयले त कक्षामा विद्यार्थीले नेपाली बोल्यो भनेर आर्थिक दण्ड दिने गरेको सुनिएको छ । त्यसैले पहिलो कुरा हो, छोराछोरीलाई असल नागरिक र सक्षम व्यक्ति बनाउने कसरी ? यसबारेमा परिवार आफैँ जागरुक बन्नुपर्ने हुन्छ ।
अर्को पक्ष हो, वर्तमान शिक्षा प्रणालीले दक्ष युवा शक्ति निर्माण गर्न गाह्रो छ । विश्वको अति विकसित प्रविधिसँग नेपालीले प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीलाई कसरी सम्बोधन गर्ने ? व्यवहारमा देखाउनुपर्ने भएको छ । यसमा शिक्षा प्रणालीभित्र सुधार गर्नुपर्ने कुरातर्फ विज्ञहरूले समय–समयमा विचार व्यक्त गरेका छन् । सुधार गर्ने नाममा समिति बन्छन्, प्रतिवेदन तयार हुन्छन् तर लागु हुँदैनन् वा कमै लागु हुन्छन् ।
एउटा विचारणीय पक्ष छ– शिक्षा प्रणालीमा सुधार कि परिवर्तन ? सुधारले मात्र काम चल्ने स्थिति छैन । परिवर्तनको खाँचो छ । परिवर्तनले भत्काउने होइन, नयाँ निर्माण गर्ने हो । नेपालको ‘इन्डिजिनियस’ प्रविधि र शिक्षालाई एकातिर समृद्ध पार्दै जानु पर्छ भने अर्कोतिर प्रत्येक प्रदेशमा प्राविधिक विश्वविद्यालयको निर्माण गर्नु जरुरी छ । जस्तो कि मेडिकल क्षेत्रमा अनुसन्धानमूलक स्नातक र स्नातकोत्तरको पढाइ । यी क्षेत्रहरू माइक्रोबायोलोजी, प्याथोलोजी, फर्माकोलोजी, जेनेटिक, जेनोमिक्स र इन्जिनियरिङ क्षेत्रतर्फ कम्प्युटर इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, एआई इन्जिनियरिङ, रोबोटिक्स, अटोमेसन आदि हुन सक्छन् ।
कसैलाई लाग्न सक्छ– यी विषय नेपालका लागि उपयुक्त छैनन् । त्यसो होइन । हामीले नै नेपाललाई ‘एजुकेसनल हब’ बनाएर उच्चस्तरको प्राविधिक जनशक्ति निर्माण गर्नै पर्छ । यस प्रकारका विश्वविद्यालयमा भारत, चीन र दक्षिण तथा दक्षिण पूर्व एसियाका विद्यार्थी पढ्न आउँछन् र आउने वातावरण बनाउनु पनि पर्छ । यसबाट राजस्व वृद्धि हुने र प्राविधिक दक्ष जनशक्ति तयार हुने छन् । अनुसन्धानमा आधारित पढाइ हुन थाल्यो भने अनुसन्धानबाट प्राप्त फाइन्डिङलाई बेचेर नेपालले राजस्व प्राप्त गर्न सक्छ । किनकि नेपालले ‘हार्डवेयर’ भन्दा ‘सफ्टवेयर’ शक्तिको विकास गरेपछि मात्र दिगो रूपमा अर्थतन्त्रलाई टेवा पुग्ने छ ।
यदि प्रविधिजन्य उच्चस्तरको गुणस्तरीय पढाइ नेपालमै हुन थाल्यो भने त्यसका लागि विदेश जानुपर्ने स्थिति आउँदैन र विदेशी मुद्रा बाहिरिने समस्याबाट मुक्त हुन सकिन्छ । यस प्रकारका विश्वविद्यालय र कलेज खोल्नेतर्फ निजी क्षेत्रलाई अगाडि ल्याउनु पर्छ । साथै निजी र समुदाय मिलेर पनि उच्च विद्यालयहरू सञ्चालन गर्नु पर्छ । निजी क्षेत्र प्रवेश गर्न नचाहेका विषयगत विश्वविद्यालय सञ्चालनमा सरकार आफैँ अग्रसर हुनु राम्रो हो । यसबाट जनताप्रति सरकारको दायित्व पूरा गर्ने प्रयासको सुनिश्चितता हुन्छ । अहिलेको गुरुतर कार्य हो– सांस्कृतिक, सामाजिक माइन्डसेटमा परिवर्तन, अनुसन्धान र व्यवहारमा आधारित शिक्षा प्रणाली, आर्थिक सामाजिक क्षेत्रमा युवा नेतृत्वको विकास । सिङ्गापुरको ‘स्किल्स फ्युचर इनिसिएटिभ्स’ चीनको ‘एआइ एन्ड रोबोटिक्स एजुकेसन’ र दक्षिण कोरियाको ‘स्टार्टअप एजुकेसन सेन्टर्स’ बाट हामीले सिक्न सक्छौँ ।