• २३ कात्तिक २०८२, आइतबार

सस्तो दरमै विद्युत् आयात : प्राधिकरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । नेपाल विद्युत् प्राधिकरणले हिउँदयामको विद्युत् आयातलाई थप सुनिश्चित र दिगो बनाउने गरी भारतबाट विद्युत् खरिद गर्न प्रतिस्पर्धाकै आधारमा सम्झौता भएको जनाएको छ । प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रस्ताव गरेका दुई कम्पनीमध्ये सस्तो दर प्रस्ताव गरको कम्पनीमार्फत विद्युत् आपूर्ति गर्न सम्झौता गरिएको स्पष्ट पारेको हो । 

प्राधिकरणले भारतको ऊर्जा विनिमय बजार (आइइएक्स) बाट डे अहेड र रियल टाइम बजार र विद्युत् आदानप्रदान संयन्त्रमार्फत विद्युत् आयात गर्दै आएको छ । भारतले गत वर्ष सक्खायामका महिनामा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको समयावधि र उच्च खपतको बाहेकको समयमा मात्र विद्युत् नेपाललाई बेच्न थालेको थियो । 

सुक्खायामको विद्युत् व्यवस्थापनका लागि अग्रिम रूपमा केही परिमाणमा आधार आयातका रूपमा विद्युत् खरिद गर्नु प्रणालीको आवश्यकता देखिएकाले उपलब्ध विकल्पमध्ये सबैभन्दा उत्तम विकल्पमा विद्युत् खरिद गर्न सम्झौता गरिएको प्राधिकरणले जनाएको हो । विज्ञप्तिमा प्राधिकरणसमक्ष गत साउन २३ मा प्राप्त प्रस्तावमा कुनै निर्णय नगरी समय व्यतीत गरेकाले असोजमा प्राधिकरणको नयाँ व्यवस्थापनले पुनः प्रस्ताव आह्वान गरेको जनाइएको छ । भारतको पिटिसिएनले भदौ २३ भित्र सम्झौता भइसक्नुपर्ने सर्तमा सबैभन्दा प्रतियुनिट ६.७४ प्रस्ताव गरेको थियो । सो अवधिमा प्राधिकरणले कुनै निर्णय नगरी प्रस्ताव निष्क्रिय पारेको जनाइएको छ । विज्ञप्तिमा प्राधिकरण नयाँ व्यवस्थापनले असोज ६ गते पुन प्रस्ताव आह्वान गरेकामा एनभिभिएनले सबै खर्चसमेत गरी प्रतियुनिट दर ७.६७ भारू र पिटिसीबाट प्रतियुनिट दर ६.९५ भारु पेस गरिएको प्राधिकरणले जनाएको छ । सोही अनुसार सस्तो दर प्रस्ताव गरेको पिटिसीसँग यस्तो सम्झौता भएको प्राधिकरणले जनाएको छ । प्राधिकरण सञ्चालक समितिको मिति २०८२ असोज १० गतेको बैठकबाट पिटिसीसँग विहार–नेपाल १३२ केभी प्रसारण लाइनबाट ८० मेगावाट र ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय मेगावाट विद्युत् सन् २०२६ जनवरीदेखि मेसम्म खरिद गर्ने निर्णय भएको थियो । यो प्रस्तावलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत प्रदान गरिसकेको प्राधिकरणले जनाएको छ । नेपालले गत वर्ष दुई अर्ब ३८ करोड युनिट विद्युत् निर्यात गरिएको थियो भने एक अर्ब ६८ करोड युनिट विद्युत् भारतबाट आयात गरिएको थियो ।