नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २३ गते । मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको दोस्रो दिनबाट सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शनिबारबाट सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्रै आश्रम निर्माणका लागि ५५ लाखभन्दा बढि रकम सङ्कलन भएको छ ।
कथा वाचनको पहिलोदिन दाताको उल्लासपूर्ण सहभागीता रहेको छ । महायज्ञको दोस्रो दिनबाट सहयोग गर्ने दाताको भीड नै लागेको छ । कथावाचनको पहिलो दिननै तीन वटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताहरुले पाँच हजारदेखि एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् ।
शनिबार बागलुङ नगरपालिका–४ निवासी रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गर्नुभएको छ ।
बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराउनुभएको हो । उहाँहरूले एक कोठाका लागि पाँच लाख ११ हजार योगदान गर्नुभएको आश्रमले जनाएको छ ।
यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले उक्त सहयोग गर्नुभएको थियो ।
वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग कार्यलाई निरन्तरता दिँदै आएको छ र मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडकआश्रित, असहाय र अपाङ्ग व्यक्तिहरूको पुनस्र्थापनामा निरन्तर काम गर्दै आएको छ र आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।
यस्तै, काठेखोला गाउँपालिका–५, फूलपाती डाँडा विहुँकोट बागलुङ निवास भिम कुमारी निउरे र लिला राम निउरेद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि पाँच लाख ११ हजार सहयोग गर्नुभएको छ ।
यस्तै, बागलुङ नगरपालिका–३ निवासी धर्मकुमारी खड्काले आश्रम निर्माणका लागि एक लाख ११ हजार प्रदान गर्नुभएको छ । यस्तै बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले एक लाख, बागलुङ नगरपालिका–८ सिगाना निवासी तोम बहादुर लामिछानेद्वारा ५१ हजार, गलकोट नगरपालिका–६ निवासी कमलबहादुर बस्नेतद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक लाख एक हजार, बागलुङ नगरपालिका–३ बागलुङ निवासी द्रोणराज केसीद्वारा ५५ हजार, बागलुङ नगरपालिका–२ निवासी बाबुराम रेग्मीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ती एक लाख एक हजार प्रदान गर्नुभएको छ । यस्तै बागलुङ नगरपालिका–२ निवासी रामप्रसाद श्रेष्ठद्वारा ५१ हजार, बागलुङ नगरपालिका–२ निवासी मन्जु श्रेष्ठद्वारा एक लाख एक हजार प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका–३ बागलुङ स्थित देउराली पञ्चेबाजा आमा समूहद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको एक लाख, बागलुङ नगरपालिका–३, बागलुङ निवासी कुमार खड्काद्वारा एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको आश्रमले जनाएको छ ।
यस्तै काठेखोला गाउँपालिका–७ निवास बिष्णु प्रसाद शर्मा र रत्नकली पाध्याद्वारा एक लाख ११ हजार, बागलुङ नगरपालिका–३, गुठी निवासी अकृत कँडेलले एक लाख ११ सहयोग गर्नुभएको छ । महायज्ञ २८ गतेसम्म चल्नेछ भने महायज्ञमा कमलनयन गौतमले कथा वाचन गर्नुभएको छ ।