गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । पुस्तकालयविद् जुजुभाइ डङ्गोलको पुस्तक ‘पुस्तकालय : अध्ययन संस्कृतिका आधार” सार्वजनिक भएको छ । सो पुस्तकको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पुस्तकालयका संस्थापक अध्यक्ष डा. नारायण खड्कालगायतले लोकार्पण गर्नुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सो पुस्तकालय स्थापनाको २२ औँ वर्षमा पनि आफ्नो भवन र सञ्चालनको बजेट अभावमै रहनु लज्जाजनक अवस्था हो भन्दै पुस्तकालय व्यवस्थापनका लागि योजना, कार्यक्रमसहित प्रस्ताव आएमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको हो ।
पुस्तकालयका उपाध्यक्ष पूर्वमन्त्री याङ्किला शेर्पाले अन्य देशमा पुस्तकालयलाई देशको अवस्था झल्किने सान, गौरवको विषय मानेर भ्रमणका लागि आउने विदेशी पाहुनालाई समेत भ्रमण गराइन्छ, नेपालमा समाजका लागि केही गरौँ भन्ने इच्छाले जुटेर खोलेको पुस्तकालयलाई राज्यले सहयोग नगर्दा बिजोग अवस्थामा रहेको बताउनुभयो । सो पुस्तकमा लेखक डङ्गोलले पुस्तकालय र समाज, विकास र पुस्तकालय, पुस्तकालय क्षेत्रमा व्यावसायिकता, अध्ययन संस्कृति र पुस्तकालय, कार्यपत्र, पुस्तकालयसम्बन्धी लेखको अङ्ग्रेजी अनुवादलगायतका विषयमा लेखिएका लेख समेट्नुभएको छ ।