• २३ माघ २०८१, बुधबार

चरित्र अनुसारको पात्र छनोट !

blog

काठमाडौँ, माघ २३ गते । चलचित्र चल्नुमा कथा, गीत, सङ्गीत र अभिनयको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा पनि अभिनयमा जीवन्तता झल्कियो भने त्यो चलचित्रले सफलताको स्वाद चाख्ने सम्भावना अत्यधिक हुन्छ । केही समयअघि मात्र प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गी सफल हुनुमा पनि त्यसको अभिनय पक्ष होभन्दा फरक पर्दैन । चरित्र अनुसारको पात्र छनोट र पात्रले गरेको अभियन नै चलचित्रको बलियो पक्ष थियो । 

त्यसैले चलचित्र निर्माण गर्दा चरित्र अनुसारको पात्र छनोट गर्नु पर्छ । त्यो गर्दा चरित्र र पात्र दुवैमाथि न्याय हुन्छ तर एकाधबाहेक धेरै नेपाली चलचित्रमा यो प्रक्रिया अपनाएको पाइँदैन । हालै प्रदर्शनमा आएको चलचित्र ‘एक्टर : टेक वन’ मा चरित्र अभिनेतृको भूमिकामा देखिनुभएकी सिर्जना अधिकारी उमेरले युवा नै हुनुहन्छ तर उहाँ देखिनुभएको छ, नायकको आमाको भूमिकामा । शृङ्गार र पहिरनले उहाँलाई आमा बनाए पनि उहाँलाई आमाको भूमिका सुहाएको देखिँदैन । यो कुरा उहाँ स्वीकार्नुहुन्छ, उहाँ भन्नुहुन्छ, ममाथि अन्याय भएको छ । नायक प्रदीप खड्काको आमाको भूमिका दिइँदा आफैँलाई अचम्म लागेको थियो, उहाँ भन्नुभन्छ, “चलचित्रको सेटमा म तयार हुँदा निर्देशक राजन भुसालले तपाईं अलि भर्खरकै देखिनुभयो, हल्का परिवर्तन गर्नु पर्‍यो भनेर भन्नुभयो । त्यसपछि पोते लगायौँ, डिम कलरको प्रयोग गर्‍यौँ ।” नायकनायिकाका लागि जस्तो पहिरन पनि उपलब्ध हुन्छन् तर हाम्रा लागि भने केही पनि हुँदैन । किन सधैँ मलाई चरित्र अभिनेतृकै भूमिका दिइन्छ, उहाँ प्रश्न गर्नुहुन्छ । 

चलचित्र पूर्णबहादुरको सारङ्गीमा बुवाको भूमिकामा देखिनुभएका युवा विजय बरालमाथि खासै प्रश्न नउठे पनि अधिकारीकी आमाको भूमिकालाई दर्शकले खासै रुचाएको पाइएन । लेखक अभिमन्यु नीरवीले चलचित्रमा पात्र छनोट गर्दा चरित्रको उमेरलाई पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शृङ्गार गरेर केही हदसम्म उस्तै उस्तै देखिएला, दर्शक पनि झुक्किएलान तर अनुहारको रिङ्कल, हाउभाउ केही मिल्दैन ।”  उहाँ कपालमा सेतो दलेर आँखीभौ अलिकति बनाएर र अनुहारमा केही दलेर आउँदा जीवन्त देखिन नसक्ने बताउनुहुन्छ । 

चलचित्र ‘आमा’ मा आमाकै भूमिकामा देखिनुभएकी कलाकार सरिता गिरीको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “यो ठुलो विषय होइन । हामी कलाकारको काम जस्तो चरित्र आयो त्यसमा अभिनय गर्ने हो । चलचित्रमा भूमिका बाँध्ने काम निर्देशक र लेखकको हो । उहाँहरूले जस्तो पात्रको भूमिका भन्नुहुन्छ हामीले गर्नुपर्ने हुन्छ ।” अहिले चलचित्रमा प्रमुख भूमिका भनेर कसलाई भन्ने । चलचित्र ‘प्रकाश’ मा नायिका दिया मास्केलाई प्रदीप खड्काको आमाको भूमिकामा देखिएको थियो । चलचित्रमा उहाँको चरित्र महत्वपूर्ण थियो । चलचित्र ‘आमा’ मा मैले गरेको आमाको भूमिका पनि ‘लिड क्यारेक्टर’ त थियो, गिरी भन्नुहुन्छ, “अहिले चरित्र अभिनेतृ भनिन्छ जस्तो लाग्दैन ।” लिड क्यारेक्टर को हो भन्नेबारेमा कलाकारबिच नै अलमल रहेको उहाँ बताउनुहुन्छ । त्यसो त मिथिला शर्मा, गौरी मल्ललगायत कलाकारले पनि आफ्नो उमेरभन्दा बढी देखिने भूमिकामा अभिनय गर्नुभएको छ । पुरुष अभिनेताले भने आफ्नो उमेरभन्दा कम भूमिकामा अभिनय गरेको पाइन्छ ।