• २३ माघ २०८१, बुधबार

जुर्मुरायो ‘पलेँटी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । नेपाली साङ्गीतिक क्षेत्रको पुनर्जागरण गराउने दिवङ्गत स्रष्टा एवं कलाकारको सम्झनामा ‘पलेँटी’ कार्यक्रम पुनः सुरु भएको छ । नेपालयको प्रस्तुतिका रूपमा कवि एवं सङ्गीतकार आभासले पलेँटीको संयोजन गर्दै आउनुभएको छ ।

पलेँटीले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति काठमाडौँस्थित नेपालयको ‘आरशाला’ मा ११ जना स्रष्टाका सिर्जना एवं गायनहरू समेटेको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशमशेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापाका प्रस्तुति समेटिएका थिए । पलेँटीमा आएका ५६ जना प्रस्तोतामध्ये केहीको निधन भइसकेको छ । 

“कार्यक्रम तयार पार्न सबैले आफ्नो गीतमा प्रकट गरेका कुनै साझा विम्बको खोजी गरेका थियौँ,” आयोजक संस्था नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “उनीहरू सबैले फूललाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाएपछि श्रद्धाञ्जलीस्वरूप सबैमा फूलै अर्पित गर्दै कार्यक्रमको खाका उभ्याइयो ।”

अबको प्रस्तुति दार्जिलिङका सङ्गीतकार चन्दन लम्जेल र गायिका डेजी बराइलीको हुने र  उहाँका गायिका छोरी विमोचना लम्जेलसहित सिङ्गो परिवारले एकसाथ आफूलाई प्रस्तुत गर्ने उहाँले बताउनुभयो । उहाँहरूले गाउने गीत दार्जिलिङकै कवि नोर्देन रुम्बाका पछिल्लो समयका रचना हुने छन् ।