साहारा लिम्बू
फुङ्लिङ, माघ २२ गते । ताप्लेजुङका तीन जना पत्रकार सम्मानित तथा पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गरेको हो ।
जयमती कर्णबहादुर पुरस्कार २०८१ बाट नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ पुरस्कृत हुनुभएको छ । यस्तै, भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कारबाट २०८१ नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष मदन गौतम र प्रेस चौतारी नेपाल पुरस्कारबाट पत्रकार लोकेश लिम्बू सम्मानित हुनुभएको छ ।
उहाँहरूलाई जनही नगद १० हजार १ सय ५ रुपियाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवाले जानकारी दिनुभयो । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा १ ढुङ्गेसाँघु पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा व्यावसायी बलबहादुर तामाङले आफ्नी आमा जयमती तथा बुबा कर्णबहादुरको नाममा जयमती कर्णबहादुर पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवा पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा पर्यटन व्यवसायी ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसादको सम्मानमा भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । साथै प्रेस चौतारी नेपाल पुरस्कार प्रेस चौतारी ताप्लेजुङले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको अध्यक्ष लिम्बूको भनाइ छ । यातायात बन्दका कारण लोकेश लिम्बू र राजेन्द्र श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित रहनुभएको थियो ।
उहाँहरूको पुरस्कार आफन्तले ग्रहण गर्नुभएको छ । प्रेस चौतारी नेपालले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्दैआएको प्रेस चौतारीका अध्यक्ष बसन्त लिम्बूले जानकारी दिनुभयो ।
प्रेस चौतारी अध्यक्षमा पालुङ्वा
जिल्लाको छैटौँ अधिवेशनले बसन्त पालुङ्वा अध्यक्ष रहेको १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीका अनुसार समितिको उपाध्यक्षद्वयमा मदन गौतम र साहारा लङ्वा, सचिवमा तेन्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवद्वयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका छन् ।
समितिको सदस्यहरुमा नारद गुरागाँई, हेमराज निरौला, सोनिया तामाङ, लक्ष्मण पौडेल, मिङ्माखाण्डु शेर्पा (शर्मिला) र रोमन बोखिम रहनु भएको छ । अधिवेशनले रवीन भट्टराई, सुवास आचार्य र गंगा लिङखिमलाई केन्द्रीय अधिवेशन प्रतिनिधि तथा मदन गौतम, किरण विक र सुनिता रसाइलीलाई प्रदेश अधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको छ ।