धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ २२ गते । मधेश प्रदेशका जिल्लामा सोमबार भव्य रूपमा विद्याकी देवी सरस्वती माताको पूजापाठ, अर्चना गरिएको छ । शिक्षा, विद्या र बुद्धिका लागि सरस्वती माताको पूजा सबै विद्यालय, शिक्षालय तथा मठमन्दिरमा भएको छ तर विडम्बना मधेश प्रदेशको सारक्षता भने अरू प्रदेशको भन्दा कम रहेको छ भने विद्यालय जाने दर पनि कम देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार मधेश प्रदेशको कुनै पनि जिल्ला पूर्ण साक्षर घोषणा भएको छैन । यस प्रदेशका रौतहट, महोत्तरी र सर्लाहीको साक्षरता दर औसत निकै खस्किएको सो जनगणनामा देखाइएको छ । रौतहटमा ५७.८ प्रतिशत, महोत्तरीमा ५९.८ प्रतिशत र सर्लाहीमा ६०.३ प्रतिशत साक्षरता रहेको छ भने मधेशको अन्य जिल्लाको शैक्षिक अवस्था पनि सन्तोषजनक देखिएको छैन ।
धनुषाको ६५.३ प्रतिशत, सिराहा ६५.१, सप्तरीको ६७.७, बाराको ६४.५ र पर्साको ६९.१ प्रतिशत साक्षरता देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार समग्रमा मधेश प्रदेशको शैक्षिक अवस्था कहालीलाग्दो छ । नेपालको समग्र साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा मधेश प्रदेशको सबैभन्दा कम ६३ प्रतिशत रहेको छ । जसमा पुरुष ७२.५ प्रतिशत र महिला ५४.७ प्रतिशत साक्षर रहेको छ ।
मधेशका जिल्लामा शिक्षा, सचेतना, बुद्धि, विवेकका लागि सोमबार विद्याकी अधिष्ठात्रिदेवी सरस्वती पूजाको उल्लास जस्तो साक्षरता प्रतिशतमा हर्ष हुने अवस्था छैन । विद्याका लागि विद्यार्थीहरू विद्यालय, चोकचौरहा, मठमन्दिरलगायतका स्थानमा सरस्वती माताको पूजाको उत्सव मनाएका छन् ।
गाउँ, सहरका विद्यालय, क्याम्पस, विश्वविद्यालय, शिक्षालयमा विशेष रूपमा सरस्वती पूजासँगै सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका छन् । नयाँ लुगा र पहिरनमा सजिएर छात्रछात्राले सरस्वतीको पूजापश्चात् विभिन्न शिक्षालयको पूजा स्थलमा सन्देशमूलक नाटक, सिकाइसँगै जोडिएको सांस्कृतिक कार्यक्रम तथा नृत्य एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक धर्मदेव साहले बताउनुभयो ।
सरस्वती पूजालाई वसन्तपञ्चमी, श्रीपञ्चमी पनि भनिने गरिन्छ । यस दिन बालबालिकालाई अक्षरारम्भ र नाक, कान छेडाउने चलन रहेको पण्डित सञ्जय झाले बताउनुभयो । यो दिन नवबालबालिकालाई अक्षर चिनाउँदा तीक्ष्ण हुने जनविश्वास रहेको छ । उहाँले आजैका दिन किसानले वर्षभरिका लागि हरवाचरवा राखिने चलन रहेको छ तर अहिले हरवाचरवा बस्न चाहने मानिस नभेटिँदा यो चलन हराउँदै गएको ८५ वर्षीय सितावीप्रसाद साहले बताउनुभयो ।
वसन्तपञ्चमीका दिन नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य गर्न शुभसाइत हेर्न नपर्ने दिनका रूपमा पनि लिइन्छ । बालबालिकाको अक्षरारम्भ गरिने भएकाले यही दिन विद्यालय भर्ना गरिने हुँदा निजी विद्यालयले निःशुल्क विद्यालय भर्नाको व्यवस्था गरेको पाइएको छ । शैक्षिक सत्रको प्रारम्भमा मात्र बालबालिकालाई भर्ना लिनुपर्ने प्रावधान रहेको भए पनि निजी विद्यालयले बालबालिकालाई तान्न यस्तो काम हुँदै आएको छ ।