विद्यालयमा ओहोरदोहोर गर्दा वा कतै जाँदा सडक चोकमा अपाङ्गता भएका बालबालिका बोकेर कतिपय अभिभावकले मागिरहेको वा सँगै राखेर गीत गाइरहेको बेला बेलामा देख्ने गरेका छौँ । कोही जन्मजात त कोही जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका हुन्छन् । अपाङ्गता हुनु कुनै दोष होइन तर उहाँहरूले पढ्न नपाउनु चाहिँ सबैको दोष हो ।
पढ्न पाउनु हरेक बालबालिकाको अधिकार हो । त्यसमाथि झन् अपाङ्गता भएका बालबालिकालाई त अनिवार्य छ । शरीरको अङ्गको बनोट र विभिन्न खालका दुर्घटनामा परेर शरीरका अङ्गले काम नगर्ने हुँदा अपाङ्गता हुन्छ । यस्ता बालबालिका विद्यालयसम्म जान नसकेका हामीले देखेका छौँ, जसले गर्दा पढ्नबाट वञ्चित हुनुपरेको छ ।
कोही आँखा देख्न नसक्ने, कोही हिँड्न, बोल्न, सुन्न, सम्झन नसक्ने खालका अपाङ्गता भएका बालबालिका हुन्छन् तर अपाङ्गताकै कारण अवहेलना गरिँदा क्षमता हुँदाहुँदै पनि उहाँहरूले सिकाइ तथा अवसर गुमाउनु परेको छ । उपचार हुन सक्ने कतिपय अवस्थामा बेवास्ता, रकम नभएर वा थाहा नभएर पनि त्यस्ता बालबालिकाले दुःख भोग्न परिरहेको छ । त्यस्तो नहोस् भन्नका लागि हामी सबैले पनि थाहा भएको र जानेको कुरा भन्नु पर्दछ । अभिभावकले पनि हेला होइन उपचार र माया गरी क्षमता अनुसारको सिकाइ, उच्च मनोबल बढाएर लेखपढ, तथा अन्य कुरामा सघाउनु पर्दछ । त्यसको लागि विद्यालय, समाज, छिमेकी, साथीभाइ सबैको उत्तिकै हौसला चाहिन्छ ।
अपाङ्गता भएका बालबालिकाले अरूले जस्तै अझ प्राथमिकताका साथ पढ्न, खेल्न, रमाइलो गर्न, सिक्न पाउनु पर्छ । यो अधिकार पनि हो । त्यसैले हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । गत मङ्सिर १८ गते यो दिवस परेको छ ।
उहाँहरूको जीवनमा सबैभन्दा मुख्य कुरा शिक्षा नै हो । सिक्ने अवसर पनि दिइरहनु पर्दछ । बालबालिकाको शरीरको अवस्था अनुसार नाच्ने, गाउने, चित्र बनाउनेलगायत विभिन्न सिर्जनात्मक काम सिकाउन सकिन्छ । बेवास्ता गरेर घरआँगन कुर्न लगाउने भन्दा पनि उचित उपचार र शिक्षाबाट टाढा राखिनु हुन्न । घर र विद्यालयमा अपाङ्गतामैत्री वातावरण नहुँदा धेरै सकस बेहोरिरहनु परेको छ । त्यसका लागि सबैले ध्यान दिनु जरुरी छ । हामीले पनि शारीरिक अवस्थालाई हेरेर कसैलाई नराम्रो व्यवहार गर्नुहुन्न । बाल अपाङ्गता भएकालाई अवहेलना होइन माया र सहयोग गरौँ, प्रोत्साहित गरौँ, भेदभाव नगरौँ । उहाँहरूमा पनि हामी जस्तै, हाम्रोभन्दा पनि बढी क्षमता हुन्छ । त्यसैले उहाँहरूलाई अवसर दिऔँ ।