काठमाडौँ, माघ १० गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लिामक गणतन्त्र इरानका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।
छुट्टाछुट्टै विशेष समारोहमा जापानका नवनियुक्त राजदूत मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका डा. इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।