काठमाडौँ, माघ ९ गते। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ।
बुधबार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उहाँले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताउनुभयो। उहाँले पास गराउने बेलामा धेरै ठूलो विरोध भए पनि अहिले आएर राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताउनुभयो। उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनुभयो। सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनुभयो।
अस्थिरताले देशको अवस्था परिवर्तन गर्न सकेनौँ : उपसभापति गुरुङ
यसैगरी, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ ।
उहाँले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउनु भयो । उहाँले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो ।
उपसभापति गुरुङले भन्नुभयो, ‘‘अहिले वास्तवमा नेपालको राजनीतिमा एउटा कुनामा सरकार ढल्छ, ढल्छ, ढल्छ भनेर समाचार बनिरहने र अर्को कुनाबाट त्यसको प्रतिउत्तरका लागि सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भन्ने समाचारहरु मात्रै सुन्नुपर्ने, पढ्नुपर्ने अवस्थामा कमसेकम आज नयाँ ढंगको कुरा सुन्न पाइयो । राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले गर्दा अवस्था परिवर्तन गर्न सकेनौँ । व्यवस्था बदलने, अवस्था नबदल्ने पनि हामी आफैँ भन्छौँ नि । ऋण लिने अनि ऋणको सही ढंगबाट सदुपयोग नगर्ने हामी नै हौँ । हामीले प्रशस्त ऋणको भारी बोकिसक्यौँ ।’’
उपसभापति गुरुङले पोखरा—मुग्लिङ सडक फोर लेन र मुग्लिङ—काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यावहारिक रहेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने : महामन्त्री थापा
महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने बताउनु भएको छ । उहाँले अहिले अन्तर्राष्ट्रिय सहायता नीति २०७६ रहेको र सोही नीतिअनुसार अहिलेसम्म अघि बढिरहेको बताउनु भयो ।
उहाँले अहिले अन्तर्राष्ट्रिय सहायता नीति बारेमा संसदमै गहन छलफल गर्न जरुरुी रहेको बताउनु भयो । उहाँले नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरे पनि नेपालको वैदेशिक नीति एउटै हुन्छ भन्ने मानक स्थापित गर्न जरुरी रहेको बताउनु भयो । सरकार बदलिने भएपनि वैदेशिक सहायता नीति नबदिलिने बनाउनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरुको एउटै धारणा बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले अन्तर्राष्ट्रिय सहायता नीति २०७६ छ । त्यसलाई हामी सबैले अन गरिसकेका छौँ । किनकि हामी सरकारमा थियौँ । कोही त्यसपछि सरकारमा आयौँ । त्यो भन्दा फरक बनाएका छैनौँ । हामी अहिले बरु पार्लियामेन्टमै ल्याएर अन्तर्राष्ट्रिय सहायता नीति, हाम्रो वैदेशिक सहायता नीतिका सन्दर्भमा जमेर छलफल गरौँ । केही कुरा थप्ने भए थपौँ, केही कुरा घट्ने भए घटाऔँ । यस्तो अवस्था निर्माण गरौँ की नेपालमा जुनसुकै राजनीतिक दलले जसले आएर सरकार बनाए पनि इन्जेनेरल नेपालको वैदेशिक नीति, इन्जेनेरल स्पेसफिक नेपालको अन्तर्राष्ट्रिय वैदेशिक नीति जो सरकारमा आए पनि एउटै हुन्छ है । यो कुरा बदलिन्न है, यसको निरन्तरता हुन्छ है । सरकार बदलिराख्छन्, यो नियमित प्रक्रिया हो, दल आउँछन्, जान्छन्, तर वैदेशिक सहायता नीतिका सन्दर्भ बदिलिँदैन । किनभने यो नेपालको राष्ट्रिय स्वार्थसँग जोडिएको छ । राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरुको एउटै धारणा छ भन्ने स्थिति हामीले बनाउनसक्यौँ भने हामीले यसको एकदमै राम्रो उपयोग गर्नसक्छौँ । होइन भने जो सरकारमा जान्छ, त्यो डराउँछ । किनभने मैले वैदेशिक सहायता परिचालन गरेर विकास गर्दा त्यसबाट प्राप्त हुने राजनीतिक प्रतिफल भन्दा वैदेशिक सहायता परिचालन गर्न मैले गर्ने प्रयत्नबाट गुमाउने कुरा बढी छ भन्यो भने पोल्टिसियनहरुले कसरी हेर्ला ।’’
महामन्त्री थापाले सरकारमा बस्नेहरु पनि बिस्तारै वैदेशिक सहायता नलिए कसैले गाली नगर्ने र वैदेशिक सहायता परिचालनको सन्दर्भमा छलफल गरे अनेकन आरोप÷प्रत्यारोप खेप्नुपर्ने डरले वैदेशिक सहायता नै नलिने गरी अघि बढ्नसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो ।
नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक : महामन्त्री शर्मा
महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताउनु भयो । हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताउनु भयो । उहाँले वाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनु भयो ।
महामन्त्री शर्माले भन्नुभयो, ‘यो बेलामा हामीले एउटा नयाँ होप क्रिएट गर्ने सन्दर्भमा हाम्रो समग्र अहिलेसम्मको वैदेशिक सहायताको सन्दर्भको विषय वा नेपालको समुन्नतिको सन्दर्भमा अहिलेसम्म गरिएका कामहरुको सन्दर्भलाई गहन ढंगले समीक्षा गरेरै हामीले आगामी दिनको यात्रा तय गर्नुछ । हामी सम्भवतः एउटा चित्रको अपेक्षामा छौँ । स्वयं सिंगो सरकारले नै त्यो विषयमा प्रवेश गर्नुपर्ने हो की जस्तो लाग्छ । हाम्रो विभागले नै नेतृत्व गरिराखेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्छ । हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौँ, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरुरी छ ।’’
महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।