• ८ कात्तिक २०८२, शनिबार

बसपार्क सञ्चालनमा नआउँदै सडकमै पार्किङ

blog

सडकमै पार्किङ गरिएको बस । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), कात्तिक ८ गते ।
उद्घाटन भएको पाँच महिनासम्म पनि बसपार्क सञ्चालन आउन सकेको छैन । बसपार्क सञ्चालनमा आउन नसकेपछि राजविराज बजारको मुख्य सडकमा सवारी साधनहरूको पार्किङ भइरहँदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।

स्थानीय जनप्रतिनिधि, यातायात व्यावसायी, प्रशासनिक निकाय, जेनजी लगायतबिच पटक–पटक छलफल हुँदा समेत पूर्ण सहमति हुन नसकेपछि यातायातका साधनहरूलाई मनपरि तरिकाले सडकमै पार्किङ गर्दै आएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

राजविराज २ मा रहेको सुविधासम्पन्न बसपार्क उद्घाटन भएपछि सडकमै पार्किङको समस्या समाधान हुने विश्वास लिए पनि सडकमा जताततै पार्किङ कायम रहेकाले पैदल यात्रु, गाडीमा यात्रा गर्ने सर्वसाधारण, स्थानीय व्यापारीसहित विभिन्न पक्षले सास्ती भोग्दै आउनु परेको राजविराज २ का युवा अभियन्ता चन्दन यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यातायात व्यवसायीहरूको पुरानै सोच र लागेको बानीका कारण बसपार्कबाट बस सञ्चालन हुन नसकेको हो ।’’

यातायात व्यवसायीहरूले वर्षाेदेखि नगरको मुुख्य सडकबाट बससहित अन्य सवारी साधन सञ्चालन गर्दै आएको मोहका कारण बसपार्कबाट यातायातका साधन सञ्चालन गर्नुपर्ने विषयमा सकारात्मक परिवर्तन गर्न नसकेकोल उहाँले बताउनुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनले बसपार्क सञ्चालनका लागि पटकपटक बैठक बसेर कात्तिक १ गतेदेखि सञ्चालनमा ल्याउने सहभति भए पनि यातायात व्यवसायिले अहिले पनि बसपार्कबाट यातायातको साधन सञ्चालन नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यातायात व्यवसायीको अधिकांस माग सम्बोधन भए पनि बसपार्कको टेन्डर कार्यविधि अनुसारपछि गर्ने गरी तत्काल बसपार्क सञ्चालन गर्ने सहमति भए पनि सञ्चालन हुन सकेन् ।

सबैभन्दा पहिले बसपार्क सञ्चालन गर्न आवश्यक रहेकाले छठपछि तत्कालै सञ्चालनमा ल्याएर मागहरू विस्तारै सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

चार दशकदेखि बसपार्कविहीन रहेको जिल्लामा १५ करोड ६० लाख रूपियाँको लागतमा निर्माण भएको बसपार्क गत जेठ १५ गते उद्घाटन गरिएको थियोे ।