• ९ माघ २०८१, बुधबार

परिणाममुखी कामका लागि अध्यादेश : उपप्रधानमन्त्री पौडेल

blog

नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ९ गते। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताउनुभएको छ। नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले संसद छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गर्नुभयो।

“सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश ल्याइएको हो,” उहाँले भन्नुभयो, “सरकारलाई सदनप्रति पूर्ण विश्वास छ। अहिलेको सरकारसँग करिब दुई तिहाई छ। सदनबाट भाग्नुपर्ने कुनै कारण छैन।” 

नजितामूलक काम तीव्र गतिमा गर्न रोक्न खालका २९ कानुन एकै पटक संशोधन गरिएको उहाँको भनाइ छ। अर्थमन्त्री पौडेलले सुशासन, सेवाप्रवाहसहित सरकारको अनुभूति दिने गरी काम गर्न अहिलेको कार्यशैली र कामको गति बढाउनैपर्नेमा जोड दिनुभयो। “सुस्त गतिमा हिँडेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। सेवा प्रवाह, सुशासन, रोजगारीका अवसर सिर्जना, वैदेशिक लगानी र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्नैपर्ने थियो, सरकारले कदम चालेको हो,” उहाँले भन्नुभयो।

देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै मन्त्री पौडेलले ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अहिले राजस्वले साधारण खर्च धान्नै मुस्किल छ। ऋण लिएर कमजोर कार्यान्वयन प्रणालीबाट परिणामा निकाल्न सकिँदैन। अब ऋण र अनुदानको विकल्प पनि खोज्नैपर्छ।” उहाँले वैकल्पिक वित्त व्यवस्थापनका लागि ऐन निर्माण भइरहेको खुलाउनुभयो।

बहुदलीय व्यवस्थामा दल मुख्य विषय भएकाले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त हुने गरी लाग्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टीमा देखिएको व्यक्तिवाद र स्वच्छन्दतावादी प्रवृत्तिलाई निरुत्साहित गर्न केही व्यक्तिलाई कारबाही गरिएको उहाँको स्पष्टोक्ति छ। 

उपप्रधानमन्त्री पौडेलले सात बुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत् चुस्त रूपमा चलिरहेको उहाँले उल्लेख गर्नुभयो। सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको प्रष्ट गर्दै सरकारको मुख्य ध्यान जनतामा रहेको निराशा चिर्न केन्द्रीत भएको जनाउनुभयो।

“यो सहयात्रा ०८४ सम्म जान्छ, कसैलाई यसमा दुविधा नराख्न आग्रह गर्छु,” उहाँले भन्नुभयो, “बाहिर आएका भ्रमपूर्ण प्रचारवाजीको कुनै अर्थ छैन।” नेकपा (एमाले) र नेपाली कांग्रेसबिच जीवन्त सम्बन्ध रहेको चर्चा गर्दै उहाँले इतिहासका कठिन घडीमा सहकार्य र आमचुनावमा प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो। “सामान्य अवस्थामा देशका मुख्य दुई दलबिच सहकार्य हुँदैन, मन्त्री पौडेलले भन्नुभयो, “देशलाई समृद्धिको दिशामा लैजान हामीले सुविचारित ढङ्गले सहकार्य गरेका छौँ। उपचुनावमा प्रतिस्पर्धा गर्यौं। आमचुनावमा पनि प्रतिस्पर्धा हुन्छ।” 

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अराजकता र बेथिति दाबी भएका बेला लोकतान्त्रिक शक्तिको सहकार्य जरुरी हुनेमा जोड दिनुभयो। एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका अधिकारीले एमाले नेता, कार्यकर्तालाई पार्टीको मुल सिद्धान्तबमोजिम परिचालित हुन आग्रह गर्नुभयो।