सलिम मियाँ
बिजुवार, माघ ८ गते । प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ । प्युठान नगरपालिकाका १० मध्ये ६ वटा वडाहरू (क्वाडी-दाखाक्वाडी-विजयनगर-बिजुवार-पुण्यखोला-टिकुरी-बाग्दुला-गेजबाङ-दम्तीसम्म)को खानेपानी समस्या समाधान गर्न मन्त्रालयले सो बजेट सुनिश्चित गरेको हो ।
सङ्घीय खानेपानी मन्त्रालयबाट बहुवर्षीय ठेक्काअन्तर्गत स्रोत सहमतिका लागि माग गरिएअनुसार अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको प्रतिनिधि सभा सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।
नौबहिनी गाउँपालिका ५ डामृस्थित गाबै-बल्ले खोला मुलबाट प्युठान नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति हुने गरी आयोजना अघि बढाउन बजेट सुनिश्चित भएको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।
विगत एक वर्षदेखिको पहलका कारण बृहत् बिजुवार खानेपानी आयोजनाका लागि बजेटको सुनिश्चित गर्न सकिएको प्रतिनिधि सभा सदस्य सूर्य थापाले उल्लेख गर्नुभएको छ । थापाले आफू प्युठान आएका बखत उपभोक्ता समितीका पदाधिकारीहरूकै उपस्थितिमा फोन गरेर खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । यो योजना सम्पन्न भए तीन हजार बढी घरधुरीले सहज तरिकाले खानेपानी उपभोग गर्न पाउने छन् ।
बृहत् खानेपानी आयोजना बिजुवारले लिफ्टिङ गरेर जमीन मुनिबाट पानीको श्रोत तथा आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।