राजनीतिमा प्रचुर सम्भावना भएका नेताको मुख्य विशेषतामध्ये एउटा हो जहाँ पनि स्वीकार्य र स्वागतयोग्य । परिपक्व नेताको खुबी भनेको उसको बोली, व्यवहार र विचारमा समग्र देशको हित निहित हुन्छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको बोली, व्यवहार र विचारले अब उहाँलाई नेपाली लोकतान्त्रिक अभ्यास र आर्थिक समृद्धि अभियानकै सशक्त नेताका रूपमा स्थपित गर्ने सङ्केत देखाइसकेको छ ।
गत पुस पहिलो साता सुदूरपश्चिम भ्रमणका क्रममा नेता डा. कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरियो । यो स्वागत स्वस्फूर्त र स्वाभाविक थियो । व्यक्तिगत रूपमा सादगीपूर्ण जीवन बिताउने डा. कोइराला स्वयम् यस्ता आडम्बर र तामझामका पक्षपोषक हुनुहुन्न तर स्थानीय जनता र कार्यकर्ताको भावनाको उहाँले उपेक्षा गर्ने कुरा पनि थिएन । माला पहिराउनुभित्रको सन्देश देखावटी थिएन, विशेषयुक्त महत्वको थियो । नेता कोइरालालाई नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामनास्वरूप कार्यकर्ताद्वारा माला पहिराइएको हो ।
नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत मात्र गरिएन, पार्टी कार्यकर्ताबाट स्वस्फूर्त रूपमा ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, १५ औँ महाधिवेशनमा शेखर कोइराला लेऊ भन्छ’ जस्ता नारा घन्किए । कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता कार्यकर्तासँग भेटघाट मात्र गर्नुभएन, अबको निर्वाचनमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने जुझारु र सशक्त बनाउने उद्घोषसमेत गर्नुभयो ।
पूर्वमा मात्र होइन, पश्चिम र सुदूरपश्चिममा समेत डा. कोइरालाको ‘क्रेज’ बढ्दै गएको यसबाट झल्किन्छ । यो क्रेज स्वदेशमा मात्र होइन, अयन्त्रसमेत चुलिएको रहेछ भन्ने तथ्य डा. कोइरालाबाट हालै भएको बेलायत भ्रमण र बेलायती संसद्मा उहाँले गर्नुभएको सम्बोधनबाट स्पष्ट हुन्छ । गत जनवरी १३ मा डा. कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गरेर इतिहास रच्नुभएको छ भने बेलायतमा रहेका नेपाली, अन्तर्राष्ट्रिय समुदाय र समग्र डायस्पोरामै आफ्नो व्यक्तित्व र विचारको प्रभाव छाड्नुभएको छ ।
नेपालबाट प्रतिनिधित्व गरेर बेलायतको संसद्मा सम्बोधन गर्ने कोइराला नै पहिलो व्यक्तित्व हुनुहुन्छ । बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत भ्रमणमा पुगेका डा. कोइरालाले वेस्ट मिनिस्टरमा नेपाल–बेलायत सम्बन्ध, संसदीय प्रक्रिया, नेपालको कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपाली संसद्ले निर्माण गरेका कानुनबारे आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल–बेलायतबिचको सम्बन्ध झन्डै एक शताब्दीको छ । नेपालले सन् १९३४ मै लन्डनमा दूतावास स्थापना गरेकाले नेपाल–बेलायत सम्बन्ध दक्षिण एसियाकै पुरानो हो । नेपालको शिक्षा, स्वास्थ्य र विकासलगायत हरेक आयाममा बेलायतको उदात्त सहयोग रहँदै आएको छ । बेलायती सेनामा गोर्खा भर्ती हुनु, बेलायती पूर्वमहारानी एलिजा बेथ द्वितीया र वर्तमान चाल्र्सले पटक पटक नेपाल भ्रमण गर्नु र नेपालको संसदीय मोडल पनि बेलायती नै हुनुले पनि दुई देशबिचको ओज स्पष्ट हुन्छ ।
सम्बन्धको यही आयाममा नयाँ ऊर्जा थप्ने काम गर्यो डा. कोइरालाको सम्बोधनले ।
डा. कोइरालाले सम्बोधनको प्रारम्भमै दुई शताब्दीअघि बेलायती प्रधानमन्त्री लर्ड पामस्र्टनले भनेको ‘संसारमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन्, केवल पारस्परिक हित हुन्छन्’ भन्ने उद्धरणको विशेष अर्थ छ । वैश्विक राजनीतिको उतारचढावमा को कता हुन सक्ला तर पारस्परिक हितकै कारण नेपाल र बेलायतको सम्बन्ध आजसम्म सुमधुर र आत्मीय छ । सम्बोधनका क्रममा उहाँले ‘गोर्खा’ को नाममा नेपालीले बेलायती सेनामा गरेको लामो र अति विशिष्टीकृत सेवालाई दुई देशबिचको दुई शताब्दी लामो मित्रताको आधारका रूपमा व्याख्या गर्नुभयो । दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुवै विश्वयुद्धमा बेलायतका तर्फबाट लडेको, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाएको र बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेको प्रसङ्ग उल्लेख गर्नुभयो । गोर्खा सैनिकका गुनासा सुन्न दुईपक्षीय समिति कार्यरत भएको परिप्रेक्ष्यमा डा. कोइरालाले गोर्खा सैनिकले बेलायतमा इमानदारीपूर्वक गरेको सेवासमेतलाई ध्यानमा राख्दै उनीहरूका जायज माग ढिला नगरी सम्बोधन गर्नसमेत आग्रह गर्नुभयो, जसबाट गोर्खा सैनिक समुदाय पुलकित भएको छ ।
यसै गरी नेपालमा सङ्कट परेका बेला बेलायतले गरेका निरन्तर सहयोगप्रति उहाँका कृतज्ञताका शब्द उल्लेखनीय छन् । आफू एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडका बेला गरेको सुरुका सहयोग देखेको पनि उहाँले स्मरण गर्नुभयो । त्यसबेला बेलायती विशेषज्ञले गरेको सेवा र उपलब्ध गराएका उपकरण नेपालका लागि अत्यन्त उपयोगी रहेको र यस्ता व्यवहारका कारण बेलायतीप्रतिको श्रद्धा अझ उदात्त भएको भन्न उहाँ चुक्नुभएन ।
हुन पनि डा. कोइरालाले भन्नुभए झैँ नेपालको जलविद्युत, पर्यटन, कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना मात्र होइन, इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीका लागि अत्यन्त सम्भावनायुक्त देश हो । नेपालमा बेलायती लगानी अझ धेरै वृद्धि गर्न सकिने सम्भावनातर्फ पनि उहाँले सङ्केत गर्नुभएको छ । खास गरी बेलायती प्रविधिको सहयोगमा विभिन्न क्षेत्रमा मिलेर काम गर्न सकिने सम्भावना औँल्याउँदै ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न बेलायती उद्यमीसमक्ष आग्रह गर्नुमा उहाँको अर्को सुझबुझ झल्किन्छ ।
डा. कोइरालाले बेलायतमा रहेको नेपाली डायस्पोराको योगदानको पनि चर्चा गर्नुभएको छ । बेलायतमा चिकित्सक, नर्स, वकिल, विमानचालक, इन्जिनियर, एकाउन्टेन्ट, आतिथ्यलगायतका सबै क्षेत्रमा काम गर्ने नेपालीले त्यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन जुन ऊर्जा थप्ने काम गरेका छन्, त्यसको उच्च कदर गरेर डा. कोइरालाले नेपाली डायस्पोराको मनोबल बढाउनुभएको छ । अभिभावक या नेतामा हुनुपर्ने यो अर्को विशेषता पनि हो । डा. कोइरालाले बेलायतको संसद्मा उठाउनुभएको अर्को मुख्य एजेन्डा नेपालको संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्य निरूपण आयोग बनाउनेसम्बन्धी विधेयक हो । पारित विधेयकले सुशासनको माध्यमबाट राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने वाचा पूरा गर्ने विश्वास बेलायती संसद्सामु प्रकट गर्दै उहाँले यो प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षासमेत राख्नुभयो । नेपालको संसद्मा पारित विषयले बेलायती संसद्मा औपचारिक प्रवेश पाएकाले अब सङ्क्रमणकालीन न्याय र सत्य निरूपणको विषयमा कसैले खेलबाड गर्न नहुने र नसक्ने परिस्थिति बनेको छ, यो सकारात्मक हो ।
डा. कोइरालाले स्पष्ट शब्दमा हाम्रो जस्तो नयाँ लोकतन्त्रका लागि लोकतन्त्र, विकास र सेवा प्रवाह एकअर्काका परिपूरक भएकाले आफूहरू त्यसैमा लागेको स्पष्ट मात्र पार्नुभएन, अपितु लोकरिझ्याइँको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवादका कारण बहुलवाद र विकासलाई दिइरहेको चुनौतीको पनि चर्चा गरिदिनुभयो । अर्थात् नेपालको लोकतन्त्रमाथि उत्पन्न खतराका आयामबारे कुनै मोलाहिजा नगरिने उहाँले स्पष्ट पारिदिनुभयो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले सन् १९७० को दशकमै भन्नुभएको लोकतन्त्र बचाउनु पर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न भन्ने भनाइसमेत उहाँले त्यहाँ पुनः स्मरण गरिदिनुभयो ।
नेपाल र बेलायतको सम्बन्धमा बिपी कोइरालाको योगदानलाई पनि डा. कोइरालाले पुनर्ताजगी गराउन भुल्नुभएन । नेपालको प्रमुख लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिको नाताले सन् १९७० मा बिपी कोइरालाले ब्ल्याकपुलमा भएको लेबर पार्टीको सम्मेलनमा भाग लिनुभएको प्रसङ्ग उहाँले सगौरव स्मरण गर्नुभयो । डा. कोइरालाले सम्बोधनमा उल्लेख गर्नुभए झैँ विश्वमा शीतयुद्धको समाप्तिसँगै राजनीति, अर्थतन्त्र र रणनीतिक दृष्टि ‘इन्डोप्यासिफिक क्षेत्र’ र दक्षिण एसियातर्फ मोडिएको छ । दक्षिण एसियाको ठुलो जनसङ्ख्या विश्वका अन्य देशमा छरिएको छ । यसै क्रममा नेपाली डायस्पोराले बेलायतमा रहेर नेपाल–बेलायत सम्बन्ध प्रगाढ पार्न र नेपालको लोकतन्त्र र मानव अधिकारको पक्षपोषण गर्न योगदान पुर्याएको छ ।
डा. शेखर कोइरालाले बेलायतको संसद्मा गर्नुभएको सम्बोधनले नेपालको आर्थिक समृद्धि, लगानी वृद्धि, लोकतन्त्रको रक्षा र कूटनीतिक सम्बन्ध बढोत्तरीमा सकारात्मक प्रभाव छाड्ने पक्का छ । मुख्य कुरा नेपालको लोकतान्त्रिक अभ्यासबारे नेपाली पक्षको धारणा विश्व मञ्चमा प्रस्तुत भएको छ । डा. कोइरालाको सम्बोधनले बेलायतमा रहेका गोर्खा सैनिक, विद्यार्थी तथा नेपाली आप्रवासीले भोगिरहेका गोर्खा पेन्सन, आप्रवासन नीति, सामाजिक सुरक्षा आदि मुद्दामा बेलायती नीतिनिर्माताको ध्यानाकर्षण गराएको छ । बेलायतमा रहेको नेपाली डायस्पोराको भूमिका अझ प्रखर बनाउन सम्बोधनले मद्दत पुग्ने विश्वास गरिएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेताको यस्तो सारगर्भित र गहन अध्ययनसहितको सम्बोधनबाट नेपाली नेताहरुको अन्तर्राष्ट्रिय छवि चम्किएको मात्र होइन, नेपाली नेतृत्वप्रति अन्तर्राष्ट्रिय जगत् विश्वस्त हुने आधार पनि खडा भएको छ । समग्रमा भन्नुपर्दा डा. कोइरालाको सम्बोधनले बेलायतमा रहेका नेपाली समुदायलाई भावनात्मक रूपमा जोड्न, उनीहरूका मुद्दा सम्बोधनार्थ दबाब सिर्जना गर्न, नेपालको लोकतान्त्रिक अभ्यास र यसका खतराप्रति सजग रहन र नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउन यथोचित प्रभाव छाड्ने विश्वास गरिएको छ ।
बेलायती संसद्मा डा. कोइरालाको सम्बोधनको यति मात्र अर्थ छैन । नेपालको आन्तरिक राजनीतिमा पनि यसले सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्ने छ । नेपाली कांग्रेसको आउँदो १५ औँ महाधिवेशनमा उहाँलाई सभापति बनाउन जसरी अहिलेदेखि नै पक्षमा माहोल बन्दै छ, बेलायत भ्रमणले त्यसमा थप ऊर्जा भरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालका एजेन्डालाई सशक्त ढङ्गले राख्न सक्ने, नेपाल र नेपालीको हित चिताउने, लोकतन्त्रको पक्षमा उभिने र लोकतन्त्रमाथिका खतरा ‘एक्सपोज’ गर्ने साहस राख्ने असल, इमानदार, प्रतिबद्ध र सक्षम नेताका रूपमा डा. कोइरालाको व्यक्तित्व अझ उजागर भएको छ । स्वदेशले मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको लोकतान्त्रिक समाजवादी अभ्यासको यात्रामा डा. कोइराला जस्तो नेताकै नेतृत्वको अपेक्षा गरिरहेको सन्देश यो भ्रमणले दिएको छ ।