सिओल, कार्तिक १ गते । क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक शनिबार चार्टर्ड विमानमार्फत स्वदेश फर्किएपछि सिओलको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् ।
दक्षिण कोरियाली प्रहरीले जनाएको अनुसार, ती व्यक्ति विभिन्न अनलाइन ठगी योजनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानको घेरामा छन् । उनीहरूलाई विमानमा चढेपछि नै कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको र अब उनीहरूलाई आ-आफ्नो अपराधसँग सम्बन्धित प्रहरी कार्यालयमा लगिने जनाइएको छ ।
अधिकांश व्यक्तिहरूले मास्क र टोपी लगाएका थिए र हरेकलाई दुई-दुई जना सुरक्षाकर्मीले नियन्त्रणमा लिएर विमानस्थलको आगमन कक्षतर्फ ल्याइएको टेलिभिजन फुटेजमा देखाइएको छ । धेरै जना हतकडीमा थिए तर हात बाँधिएको भाग कपडाले छोपिएको थियो ।
दक्षिण कोरियाली राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पार्क सुङ्ग-जूका अनुसार, ती व्यक्ति भ्वाइस फिसिङ, अनलाइन प्रेम ठगी, लगानीको नाउँमा गरिएको ठगी (पिग बुट्चरिङ स्क्याम) लगायतका अपराधमा संलग्न रहेको बताइएको छ । उहाँले भन्नुभयो, “क्याम्बोडियामा लागु पदार्थको प्रयोग भएको आशङ्का पनि रहेकाले, सबैलाई स्ट्यान्डर्ड प्रक्रिया अनुसार ड्रग टेस्ट गरिने छ ।”
यस घटनाक्रमको पृष्ठभूमिमा एक कोरियन विद्यार्थीको क्याम्बोडियामा अपहरणपछि यातना दिई हत्या गरिएको घटना रहेको छ, जसले दक्षिण कोरियामा व्यापक जनआक्रोश जन्माएको थियो । सो विद्यार्थीको शव अगस्ट ८ मा एउटा पिकअप ट्रकभित्र फेला परेको थियो ।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुङ्ग-लकले बताएअनुसार, पक्राउ परेका केही व्यक्ति स्वयंले सहभागिता जनाएका थिए भने केही जबरजस्ती संलग्न गरिएका थिए । दक्षिण कोरियाली परराष्ट्र उपमन्त्री किम जिनाले क्याम्बोडियाली अधिकारीलाई धन्यवाद दिँदै भन्नुभयो, “साइबर अपराध विरुद्धको क्याम्बोडियाको निरन्तर प्रयास र हाम्रो देशसँगको सहकार्यप्रति हामी कृतज्ञ छौँ ।”
सिओलका अनुसार हाल क्याम्बोडियामा करिब एक हजार कोरियन नागरिक यस्ता अनलाइन ठगी केन्द्रमा कार्यरत छन्, जहाँ धेरैलाई हिंसाको धम्की दिएर जबरजस्ती काम गराइन्छ । एम्नेस्टी इन्टरनेसनलले यस्ता स्क्याम केन्द्रमा मानव बेचबिखन, जबरजस्ती श्रम, यातना र स्वतन्त्रताको उल्लङ्घन भइरहेको चेतावनी दिएको छ ।
क्याम्बोडियाको साइबर अपराध आयोगका अनुसार, पछिल्लो केही महिनामा २० देशका झन्डै ३,५०० अनलाइन ठगीमा संलग्न विदेशी नागरिक पक्राउ परेका छन् र दुई हजार ८०० भन्दा बढी विदेशीलाई देश निकाला गरिएको छ । रासस/एएफपी