अमरराज नहर्की
तनहुँ, कात्तिक १ गते । दमौलीलाई विश्वमञ्चमा चिनाउने अभियानसहित ‘विश्व ॐकार तथा हिन्दु महामिलन पर्व’ शनिबारबाट दमौलीमा सुरु भएको छ । यो पर्वमार्फत व्यास ऋषिको तपोभूमि दमौलीलाई विश्व हिन्दू आध्यात्मिक नक्सामा उभ्याउने लक्ष्य राखिएको छ ।
व्यास ऋषिको तपोभूमि दमौली आजदेखि ॐकारको स्वरले गुञ्जिएको छ । व्यासगुफा परिसरमा सुरु भएको ‘विश्व ॐकार तथा हिन्दू महामिलन पर्व’ ले वैदिक धर्म, दर्शन र अध्यात्मको केन्द्रका रूपमा दमौलीलाई विश्वमाझ चिनाउने अभियान अघि सारेको छ ।
वेदअनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा सुरु भएको यो महापर्व आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने छ । पर्व अवधिभर रुद्री, चण्डी, वेद र पुराण पाठपरायण, ग्रहशान्ति, कालसर्पयोग निवारण, शान्तिकर्म, साथै साँझको गङ्गा आरती र हरिनाम सङ्कीर्तन दैनिक रूपमा हुने प्रतिष्ठानले जनाएको छ । वेदअनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष पण्डित कृष्णकान्त पण्डितले भन्नुभयो, पर्वले वैदिक संस्कृतिको गहिरो सन्देश विश्वभर फैलाउने छ ।”
संरक्षकको रूपमा शान्तिस्वरूपानन्द दामोदर बाबा र गोविन्द बाबा रहनुभएको यो पर्वका तयारीका लागि १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ, अखण्ड हरिनाम सङ्कीर्तन र भूमिपूजन सम्पन्न भइसकेको जानकारी दिइएको छ ।
पर्वकै अवसरमा कात्तिक ९ देखि १७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने छ । मुलवाचक आचार्य पण्डित कृष्णकान्त शाण्डिल्ययन काफ्ले रहनुहुन्छ । वेदअनुयायी प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष ऋषिकान्त ढुङ्गाना ‘सेवक’ दमौलीको धार्मिक र शास्त्रीय महत्वलाई विश्वस्तरमा स्थापित गर्न सहयोग पुर्याउन पर्वको आयोजना गरिएको भन्नुभयो । उहाँले भन्नुभयो, “जसरी मुसलमानहरूको मक्का–मदिना र क्रिश्चियनहरूको भेटिकन सिटी छ, त्यसरी नै हिन्दुधर्मालम्बीहरूको लागि व्यासगुफा नै केन्द्रीय तीर्थ हो ।’’ यही भूमिमा वेदव्यासले चार वटा वेद लेख्नुभयो, महाभारत लेख्नुभयो, र श्रीमद्भागवत पुराणको सृजनाको आरम्भ पनि यहीँबाट भएको केन्द्र बनाउन सकिने उहाँको भनाइ छ । ढुङ्गानाले भन्नुभयो, ‘‘व्यासगुफा केवल नेपालकै गौरव होइन, विश्व हिन्दु सभ्यताको केन्द्र हो ।”
व्यासका अध्येता काशीनाथ न्यौपानेका अनुसार व्यासभूमि करिब पाँच हजार वर्षअघि वेदव्यासको अवतरण स्थलका रूपमा स्थापित छ । विसं २०४१ सालमा योगी नरहरिनाथले यही भूमि व्यासको जन्मस्थल भएको प्रमाण प्रस्तुत गर्दै कोटीहोम र धर्मसभा आयोजना गर्नुभएको थियो । “व्यासगुफा पौराणिक, धार्मिक, आध्यात्मिक, पुरातात्तिक र ऐतिहासिक दृष्टिले अतुलनीय सम्पदा हो,” न्यौपाने बताउनुहुन्छ । न्यौपानेका अनुसार पौराणिक ग्रन्थहरूकामा व्यास गुफा पृथ्वीका ती दुर्लभ स्थलमध्ये एक हो जहाँ ब्रह्मज्ञान, वेदविज्ञान र अध्यात्मिक चेतनाको उद्गम भएको उल्लेख गरिएको छ ।
यही भूमि नै हो जहाँ वेदव्यासले वेदलाई लेखित रूप दिए, महाभारत र श्रीमद्भागवतको सृजनामा योगदान गर्नुभयो ।यसै कारण दमौलीलाई वैदिक धर्मावलम्बीहरूको दृष्टिमा ‘पृथ्वीको आध्यात्मिक नाभी’ भनिन्छ । वेदअनुयायी प्रतिष्ठान नेपालका वरिष्ठ सदस्य दुर्गाभक्त अधिकारी व्यासभूमिमा धर्म, दर्शन र अध्यात्मको स्थायी संस्थागत संरचना विकास गर्न सके यही भूमि हिन्दुहरूको केन्द्र बन्न सक्ने बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, ‘‘व्यासगुफा केवल इतिहास होइन-यो भविष्यको वैदिक पुनर्जागरणको केन्द्र हो ।”