• ८ माघ २०८१, मङ्गलबार

कृषिमा आधारित गाउँले परम्परा

blog

विविध जातजाति र भाषाभाषी भएको हाम्रो देश विविध संस्कार, संस्कृति र परम्पराले सुसज्जित रहेको छ । तराई, पहाड र हिमाल भिन्न भूबनोटका कारण यी तीन वटै भेगमा पाइने अलग अलग हावापानी, वनस्पति, जीवजन्तु, मानिसका भिन्न भिन्न धर्म, संस्कृति, संस्कार, लवाइखवाइ, रहनसहन, प्रचलन आदि मानिसको जनजीवनसँग प्रत्यक्ष प्रभाव पार्ने तìवले हाम्रो देशको विशेष पहिचान बनाएको छ । त्यसै गरी ८,८४८ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथा, विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ जुम्ला, विश्वमा अन्त कतै नपाइने चरा काँडेभ्याकुर, विश्वमा अन्त कतै नपाइने जीव रेड पान्डा, शान्तिका प्रतीक गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी आदि प्राकृतिक, ऐतिहासिक, धार्मिक धरोहरले हामिलाई विश्वकै प्रथम बन्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ३३ कोटि देवताले रक्षित यो देशलाई प्रकृतिले त्यत्तिकै सुन्दर बनाएको छ ।

विविध भूबनोट, हावापानी, जातजाति, भाषाभाषी, धर्म, संस्कृति, रहनसहन भएको हाम्रो देशका जति पनि संस्कार, संस्कृति छन्, ती सबै कृषि पेसासँग जोडिएका छन् । कृषिप्रधान देशका रूपमा रहेको हाम्रो देशको प्रमुख आयस्रोतको माध्यम बनेको कृषि पेसा यतिबेला लगभग धराशायी भइसकेको अवस्था छ । युवाको विदेश पलायन, परम्परागत कृषि प्रणाली, आयस्रोतको गतिलो माध्यम बन्नुपर्नेमा जीविकोपार्जनको माध्यमसमेत बन्न नसक्नु र राज्यले कृषि पेसामा संलग्न हुने कृषकलाई उत्साहित बनाउने खालका योजना नल्याउनु, विकट भूबनोट आदिका कारण राज्यको आयको प्रमुख स्रोत भएर पनि कृषि पेसाप्रति मानिस आकर्षित हुन सकिरहेको छैन । दिनप्रतिदिन कृषि पेसाप्रति मानिसको वितृष्णा बढ्दै गइरहेको छ ।

पहिला पहिला अर्मपर्मको प्रचलन थियो । पालैपालो छिमेकी सबैको खेतीपाती गरिन्थ्यो तर यतिबेला अर्मपर्मको त कुरै छाडौँ, मान्छेविहीन शून्य छ गाउँ । गाउँमा जन्ती र मलामीको अभाव खड्किरहेको छ । ६० वर्षभन्दा माथिका वृद्धवृद्धा मात्र छन्, गाउँमा जसले काम गर्न सक्दैनन् । यसरी जनशक्तिको अभावमा खेतीयोग्य जमिन बर्सौंदेखि बाँझो पल्टिरहेका छन् । रुखो र बन्जर बनिरहेका छन् । जेनतेन खेती चलाइरहेका केही मानिससमेत खेती गरेर कुनै फाइदा नहुने भएपछि खेतीकिसानी छाड्ने तर्खरमा छन् । खेती गरेर उब्जाउनुभन्दा बजारबाट किनेर ल्याउँदा सस्तो पर्ने भएपछि खेती गरून पनि कसरी ? विडम्बना नै भन्नु पर्छ यतिबेला स्वास्थ्यवर्धक, अर्गानिक, प्राकृतिक कोदो, मकै, गहुँ, फापर, जौको रोटी, ढिँडो, आँटो, भुटेका मकै भटमासको स्थान विषादीयुक्त, अखाद्य मिसाइएको अस्वस्थकर मम, चाउचाउ, समोसा, बिस्कुट, पानीपुरी, चटपटे आदि जङ्कफुड, फास्टफुडले ओगट्न थालेको छ । स्वास्थ्यमा असर पु¥याउने तारेको, भुटेको, झानेको, पिज्जा, बर्गर, कुरकुरे, चिजबल्सप्रति मानिस आकर्षित हुन थाले, जसका कारण सानै उमेरदेखि गम्भीर खालका सुगर, प्रेसर, ग्यास्टिक, अल्सर, मिर्गौला फेल, क्यान्सरजस्ता असाध्य रोगका सिकार हुनु परिरहेको छ । कलिलै उमेरमा हर्ट अट्याक, ब्रेन ह्याम्रेज, क्यान्सरका कारण मृत्युवरण गर्नु परिरहेको छ ।

खान नजानेका कारण प्रकृतिले दिएको औषधीजन्य खानेकुरालाई हामीले जिब्रोको स्वादका खातिर मिठोमसिनो बनाउने नाममा विष बनायौँ । स्वस्थ रहनका लागि ८० प्रतिशत क्षारीय र २० प्रतिशत मात्र अम्लीय खाना खानुपर्नेमा ठिकविपरीत ८० प्रतिशत अम्लीय र २० प्रतिशत क्षारीय खाना खान थाल्यौँ । खानालाई औषधी बनाउनुपर्नेमा औषधीलाई खाना बनायौँ । प्रकृतिले हामीलाई अमृत दिएको थियो, विष बनाएर सेवन गर्न थाल्यौँ अर्थात् हामी प्रकृतिको उल्टो दिशातिर हिँड्न थाल्यौँ र जीवनलाई कष्टपूर्ण बनायौँ ।

हो, यही अवस्थाबाट आफ्नो परिवार, समाज र दुनियाँलाई मुक्ति दिलाउनका लागि गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–१, अस्लेवा ठाँटी देउराली निवासी ४३ वर्षीय रोमनाथ पाण्डेले कुनै पनि विषादी प्रयोग नगरीकन नितान्तै प्राकृतिक, अर्गानिक किसिमले गोलभेँडा उत्पादन गरिरहनुभएको छ । ठुलो परिमाणमा गोलभेँडाको उत्पादन गर्ने पाण्डेले आफूलाई गोलभेँडा उत्पादकका रूपमा परिचित गराउनुभएको छ । गोलभेँडाको उत्पादन वृद्धिका लागि उहाँले स्थानीय उपलब्ध जडीबुटी बकेना, तितेपाती, असुरो, वनमारा, खिर्रो, निम, आरुको मुन्टा आदिको मिश्रणलाई गाईभैँसीको गहुँतमा मिसाएर एक महिनासम्म ड्रममा कुहाएर झोलमोल तयार गर्नुहुन्छ । एक भाग झोलमोलमा कलिला बिरुवाका लागि १० भाग पानी र परिपक्व वा वयस्क गोलभेँडाको बोटका लागि एक भाग झोलमोलमा पाँच भाग पानी मिसाएर स्प्रे गरी गोलभेँडाको बोटलाई न्युट्रेसन दिनुहुन्छ । त्यसै गरी उहाँले पिरो खुर्सानी, लसुन, प्याज, केतुकेको टुक्रा, आरुको मुन्टा मिसाएर ड्रममा राखिएको गहुँतमा उक्त मिश्रण हाली एक महिनासम्म घाम लाग्ने पारिलो ठाउँमा राखेर जैविक कीटनाशक विषादी तयार गर्नुहुन्छ । तयारी जैविक विषादीलाई माथि उल्लिखित झोलमोलकै तरिकाबाट कलिलो बिरुवा भए एक भाग जैविक विषादीमा १० भाग पानी र वयस्क बोटका लागि एक भाग जैविक विषादीमा पाँच भाग पानी मिसाएर स्प्रे गर्ने गरेको बताउनुहुन्छ ।

उहाँ एउटा उत्कृष्ट कृषकका साथै अनुभवी भेटेरिनरियन पनि हुनुहुन्छ । हाल उहाँ सहायक पशु सेवा प्राविधिकका रूपमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–३, जयखानी कार्यालयमा कार्यरत हुनुहुन्छ । पाण्डे अत्यन्तै मेहनती, सहयोगी, समाजसेवी हनुहुन्छ । यतिबेला उहाँले फलफूलको पनि थुप्रै बिरुवा लगाउनुभएको छ । कागती, सुन्तला, मौसम, एभोकाडोका बिरुवा लगाउनुभएको छ । त्यति मात्र होइन, उहाँ ब्रोइलर कुखुरा व्यवसायी पनि हुनुहुन्छ । एकछिन पनि समय खेर फाल्नुहुन्न । कहिले तरकारी बारीमा त कहिले कुखुरा फार्ममा व्यस्त रहनुहुन्छ । परिवारबाट त्यत्तिकै सहयोग पाउनुभएको छ उहाँले । उहाँले गर्नुभएको कृषिकर्म सबैका लागि उदाहरणीय बनेको छ । उहाँको यो कृषिकर्मलाई हामीले पनि अनुसरण गर्नु पर्छ ।