• ८ माघ २०८१, मङ्गलबार

पर्यटनको दिगो विकास गर्न एकीकृत गुरुयोजना आवश्यक

blog

पर्यटकीय नगरी सूर्यास्तकालीन अवस्थामा राप्ती नदी किनारमा टहलिँदै पर्यटक । तस्बिर : वसन्त पराजुली

नारायणगढ समाचारदाता

नारायणगढ, माघ ८ गते । चितवनको पर्यटनको दिगो विकासका लागि एकीकृत गुरुयोजना बनाएर कार्यान्वयन गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् । 

पर्यापर्यटन र जङ्गल सफारीमा विश्वमै ख्याति कमाएको चितवनमा धार्मिक, साहसिक, सांस्कृतिक पर्यटन आदिको प्रचुर सम्भावना भएकाले यी क्षेत्रसमेत समेटेर एकीकृत गुरुयोजना बनाउन विज्ञहरूको सुझाव छ । पर्यटनविज्ञ डा. विश्वराज सुवेदी सिराइचुलीदेखि सौराहा, माडी, गोलाघाट आदि पर्यटन क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताउनुभयो । 

“चितवनमा वन र वन्यजन्तुमा आधारित पर्यटन क्षेत्र मात्रै छैनन्, सूर्योदयका लागि ख्यातिप्राप्त सिराइ चुली, सूर्यास्तका लागि मेघौली गोलाघाट, आदिवासी जनजातिका विभिन्न  संस्कृति, धार्मिक क्षेत्र देवघाटलगायतका क्षेत्रलाई समेटेर पर्यटन विकास योजना बनाउन जरुरी छ,” उहाँले भन्नुभयो ।  

चितवनको सौराहा, पटिहानी, जगतपुर, मेघौली र माडी क्षेत्र वन र वन्यजन्तुमा आधारित पर्यटनको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेकाले यो क्षेत्र आफैँमा पर्यटकीय क्षेत्र भएको हो । यसका अलवा माडीको अयोध्याधाम, वाल्मीकि आश्रमलाई एकीकृत पर्यटक योजनामा समेट्न जरुरी छ ।  

विभिन्न ठाउँका रैथाने खानाको प्रवर्धन गर्न सके मात्रै चितवनको पर्यटन विकास हुन सक्ने उहाँको सुझाव छ । “घोँगी, चिचर जस्ता मौलिक खाना प्रवर्धन गर्न जरुरी छ,” सुवेदीले भन्नुभयो । चितवनका सम्भावित पर्यटन क्षेत्रहरूको एकअर्काको प्रतिस्पर्धी नभई परिपूरकका रूपमा विकास गरिनुपर्ने उहाँले बताउनुभयो ।  

उद्योग वाणिज्य सङ्घ चितवनका विशिष्ट सदस्य एवं पर्यटन सल्लाहकार सूर्यनारायण पौडेलले चितवनलाई पर्यटन हबका रूपमा विकास गराउन पहिला पर्यटन योजना आवश्यक देख्नुहुन्छ । “पर्यटनको एकीकृत योजना बनाउन सकियो भने मात्रै चितवनलाई पर्यटनको केन्द्र बनाउन सकिन्छ । चितवनबाटै पर्यटकलाई पोखरा लुम्बिनी भ्रमण गराई पर्यटकको बस्ने अवधि लम्ब्याउन सकिने छ,” उहाँले भन्नुभयो । 

राष्ट्रिय राजमार्गको दयनीय अवस्था र बाह्य पर्यटकका लागि लिइने हवाई भाडा अत्यन्त महँगो हुँदा चितवनको पर्यटनमा असर गरेको उहाँको बुझाइ छ । “सङ्ख्यात्मक पर्यटकभन्दा गुणात्मक पर्यटकमा जोड दिउँ,” उहाँले भन्नुभयो ।  

चितवनको पर्यटन विकासमा  राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क हरेक दिन काट्नुपर्ने व्यवस्थाले असर गरिरहेको छ । विज्ञहरूले निश्चित समयका लागि एउटै टिकट मान्य हुनुपर्ने व्यवस्था लागु गर्न सुझाव दिएका छन् । चितवनको पर्यटन विकासका लागि रात्रिकालीन सेवा सञ्चालनमा पनि जोड दिइएको छ । 

“योजनाबद्ध रूपमै रात्रिकालीन सेवा अब सुरु गर्नु पर्छ । निश्चित क्षेत्रमा नाइट लाइफको व्यवस्था गर्दा यसले पर्यटनको विकासमा टेवा पुग्छ,” उहाँले भन्नुभयो । रात्रिकालीन सेवामा जङ्गली जनावरको वासस्थान र वातावरणलाई ध्यान दिन पनि विज्ञहरूको सुझाव छ ।