• ८ माघ २०८१, मङ्गलबार

पर्यटकीय ताल निर्माण

blog

बनेपा समाचारदाता  

बनेपा, माघ ८ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, हिले सामुदायिक वन ‘ख’ मा पर्यटक आकर्षण गर्न पर्यटकीय ताल निर्माणको पहिलो चरणको काम सकिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले हिले जलजले पर्यटकीय ताल निर्माण अन्तर्गत पहिलो चरणमा मुख्य ड्याम (ताल) निर्माणको काम सकिएको जनाएको हो ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कुश बुढाथोकीले हिले, जलजले सामुदायिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बागमती प्रदेश सरकारको सहयोगमा पर्यटकीय ताल निर्माण भइरहेको बताउनुभयो । पहिलो चरणमा तालनजिकै रहेको ओखरे र खर्कखोलामा ग्याबिन चेक ड्याम बनाइएको छ । जुन आठ मिटर अग्लो, ११.६ मिटर चौडाइ र १८२ मिटर लामो रहने छ । 

तालको कुल क्षेत्रफल ०.४९ हेक्टर जमिनमा फैलिने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

उक्त तालमा १४ हजार ६०५ घनमिटर अर्थात् एक करोड ४६ लाख लिटर पानी जम्मा हुने छ । ताल निर्माणका लागि डिभिजन वन कार्यालयले १२९ वटा रुख कटान गरेको थियो ।