• २३ माघ २०८१, बुधबार

हिमपातको कमीले गौरीशङ्करसमेत नाङ्गिँदै

blog

रोल्वालिङ हिमशृङ्खलामा पर्ने ७,१३४ मिटर उचाइको गौरीशङ्कर हिमाल ।तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, माघ ७ गते  । हिमपात नहुँदा दोलखाका हिमाल नाङ्गा पहाड झैँ देखिएका छन् । हिउँ र पानी नपर्दा पनि चिसोको मात्रा भने अधिक बढेको छ । गौरीशङ्कर गाउँपालिका–९, उत्तरी दुर्गम बेदिङका मिङ्मा शेर्पाले भन्नुभयो, “बरु हिमपात हुँदा खासै चिसो हुँदैनथ्यो । कुनै दिन हिउँ पर्दा च्छोरोल्पा हिमतालमा हिउँ जमेका बेला वारपार गर्न सकिन्थ्यो । केही वर्षदेखि हिमपात कम हुँदै गएको छ । हिमालमै हिउँ नभएकाले च्छोरोल्पा हिमतालमा अचेल हिउँ जम्दैन ।” 

कुनै दिन विस्फोट हुने खतरा देखिएको च्छोरोल्पा हिमतालमा अहिले खासै पानीको चाप छैन । उहाँले भन्नुभयो, “हिउँ नहुँदा पनि चिसो किन बढेको हो ? जलवायु परिवर्तनको असरले हिउँ नपरेको भन्छन्, आफूलाई त चिसो बढेको मात्र थाहा छ ।” माघको पहिलो साता बित्न लाग्दा पनि यहाँका उच्च भेगमा हिमपात र बेँसीतिर पानी नपरेपछि आलु, तरकारी र अन्नबालीका किसान चिन्तित बनेका छन् ।

विगत वर्षमा पुसदेखि नै बाक्लो हिमपातसहित हिउँदे वर्षा हुने गरेकोमा यस वर्ष भने न हिमपात न त हिउँदे पानी नै परेको छ । पानी नपरेपछि किसानको चिन्ता बढेको शैलुङ गाउँपालिका–४, फुर्केसल्लाका किसान रणबहादुर कार्कीले दुःखेसो पोख्नुभयो । 

उहाँका अनुसार जिल्लाको उच्च भेग शैलुङ, खरीढुङ्गा, गैरीमुदीलगायतका स्थानमा अहिले धमाधम आलु रोप्ने काम भइरहेको छ । यो समयमा हिमपात तथा पानी नपर्दा आलु नउम्रने हो कि भन्ने चिन्तामा छन् किसान । गत वर्ष समयमै हिमपात र हिउँदे पानी पर्दा आलुलाई राहत मिलेको र सिँचाइको भर पर्नु नपरेको वैतेश्वरकी शान्तिमाया तामाङले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष वर्षा नहुँदा सिँचाइका लागि पानीका मुहानसमेत सुक्दै गएका छन् । आकासे पानीको आशामा छौँ ।” 

सदरमुकाम चरीकोट आसपासका क्षेत्रमा गहुँ, जौ, तोरी, सागसब्जीमा पानी लगाउन नपाउँदा अन्नबाली सुक्दै गएको भीमेश्वर नगरपालिका–४ का किसान रामबाबु चौलागाईंले दुःखेसो पोख्दै भन्नुभयो, “समयमै पानी नपरेपछि अन्नबालीको उत्पादन राम्रो नहुने देखिएको छ । अन्नबालीकै भरमा धेरै किसानको दैनिकी चलेको छ । उत्पादन नै नभएपछि हातमुख जोड्न धौ धौ हुने सङ्केत पनि देखिएको छ ।”