गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चाबहिल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । प्राधिकरणका विकास आयुक्त जानुका ढकालले उपत्यकाभित्र अतिक्रमित सार्वजनिक जग्गा खाली गरी संरक्षण गर्ने अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका–७ स्थित धोबीखोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना वडा कार्यालयको सहयोगमा आइतबार भत्काइएको जानकारी दिनुभयो । संरचना भत्काउने क्रममा स्थानीयले केहीबेर अवरोधसमेत गरेका थिए ।
विकास आयुक्त ढकालका अनुसार प्राधिकरणले सार्वजनिक जग्गामा बनेका संरचना, मापदण्डविपरीत बनेका संरचना भत्काउन सुरु गरेको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार त्यहाँका संरचना भत्काउन सुरु गरिएको हो ।
यस ऐनले काठमाडौँ उपत्यकाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई दिएको छ । धोबीखोला र बागमती नदी किनारमा करिब पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण गरिएको पाइएको उहाँले जानकारी दिनुभयो । मापदण्डविपरीत संरचना बनाएको पाइए प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिनसमेत उहाँले सबैसँग आग्रह गर्नुभयो ।