• ५ माघ २०८१, शनिबार

आजबाट विश्व यु–१९ महिला क्रिकेट , सुपर सिक्समा पुग्ने लक्ष्य

blog

काठमाडौँ, माघ ५ गते ।  नेपाली पुरुष यु–१९ ले आठ पटक विश्वकप खेलेको छ । विश्व यु–१९ क्रिकेटमा नेपालको गर्विलो छविलाई महिला क्रिकेटले थप उच्च पारेको छ । मलेसियामा हुने यु–१९ महिला विश्वकपमा नेपालले शनिबार (आज) बङ्गलादेशविरुद्ध खेलेर नेपाली महिला क्रिकेटको इतिहासमा गौरव हासिल गर्ने छ । नेपाली महिला क्रिकेटले कुनै पनि स्तरको विश्वकप पहिलो पटक खेल्दै छ । यसअघि नेपाली पुरुष क्रिकेटको यु–१९ तथा सिनियर पुरुष क्रिकेट (दुई पटक टी–२०) ले मात्र विश्वकप खेलेको छ ।

गत पुसमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा भएको यु–१९ महिला विश्वकप एसिया छनोटमा च्याम्पियन भएर नेपालले विश्वकपमा खेल्ने सपना साकार गरेको हो । यु–१९ महिला विश्वकपको यो मात्र दोस्रो संस्करण हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्ग्ल्यान्डलाई हराउँदै भारत च्याम्पियन बनेको हो । सो समय नेपाल भने छनोट चरणमा युएईसँग पछाडि परेपछि निराश बनेको थियो । अब तेस्रो संस्करण सन् २०२७ मा नेपालले बङ्लादेशसँग मिलेर आयोजना गर्दै छ । आइसिसीको कुनै पनि स्तरको विश्वकपको आयोजनाको जिम्मेवारी नेपालले पहिलो पटक पाएको हो ।

नेपालको सम्भावना

छनोट प्रतियोगितामा घरेलु टिम युएईको पनि उपस्थितिले नेपाललाई विश्वकपमा चयनको दाबेदार मानिएको थिएन । सबैको अनुमान सरह डबल राउन्ड रोविनको खेलमा युएई अन्तिम समयसम्म अगाडि रह्यो । नेपालले अन्तिम दुई खेलमा अविस्मरणीय प्रदर्शनका साथ प्रतियोगितामा ठुलो उलटपुलट गर्‍यो । त्यसपछि मलेसियामै गत महिना भएको यु–१९ महिला एसिया कपमा पाकिस्तानलाई छ विकेटले हराएर इतिहास बनायो । नेपालको महिला यु–१९ टिमले आइसिसीको ‘फुलमेम्बर’ राष्ट्रलाई हराएको यो पहिलो पटक हो । एसिया कपमा नेपाल सुपर फोरमा पुगेको थियो । लगातारको अविस्मरणीय खेल खेल्दै आएको नेपाली टोलीले विश्वकपमा अर्को चामत्कारिक प्रदर्शन गर्ने कुरामा शङ्का छैन ।

यद्यपि १६ टिम सहभागी विश्वकपमा नेपाल कठिन समूहमा छ । समूह ‘डी’ मा नेपालले अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डविरुद्ध खेल्ने छ । अस्ट्रेलिया महिला क्रिकेटमा बलियो टोली हो । बङ्गलादेशको टोली पनि उत्कृष्ट मानिन्छ । यी दुई टोलीसँग जित्न जति गाह्रो हुन सक्छ, त्यति नै सजिलो हुन सक्छ स्कटल्यान्डलाई जित्न । गत महिना मात्र मलेसियामा यु–१९ एसिया कप खेलेकाले नेपाल मैदान र वातावरणसँग अभ्यस्त छ । त्यसैले पनि नेपालको सुपर सिक्समा पुग्ने अवसर छ भन्दा फरक पर्दैन । यद्यपि स्कटल्यान्डको यु–१९ टिमसँग पहिलो संस्करणको अनुभव छ ।

चार टिमको चारै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा पनि दुई समूह हुने छ । समूह सिक्समा पनि लिग चरणको प्रतिस्पर्धापछि शीर्ष दुई दुई टिमले सेमिफाइनल खेल्ने छन् । नेपालकी कप्तान पूजा महतोले पनि मलेसिया जानुअघि आफ्नो टिम विश्वकपको अनुभव लिन मात्र होइन, सुपर सिक्समा पुग्ने लक्ष्यसहित खेल्ने प्रतिक्रिया दिनुभएको थियो । “हाम्रो तयारी निकै राम्रो भएको छ । त्यसैले पनि सुपर सिक्समा पुग्ने छौँ । मलाई लाग्छ स्कटल्यान्डविरुद्धको खेल फाइनल सरह हुने छ तर अस्ट्रेलिया र बङ्गलादेशविरुद्ध नेपालको सम्भावना छैन भन्ने पनि होइन,” उहाँले भन्नुभएको थियो ।

कप्तानमाथि जिम्मेवारी

महिला यु–१९ विश्वकपमा नेपालले छोड्ने छाप कप्तान तथा अलराउन्डर पूजाको प्रदर्शनमा भर पर्ने छ । छनोट चरणमा पूजाकै प्रेरणादायी प्रदर्शनले नेपालले विश्वकपसम्मको यात्रा गर्न सकेको हो । पूजाले प्रतियोगितामा ब्याट र बल दुवैबाट उल्लेखनीय प्रदर्शन गर्नुभएको थियो । पूजा सो प्रतियोगिताको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष र बलिङमा सर्वाधिक विकेटकर्तामा दोस्रो स्थानमा रहनुभयो । कुवेतविरुद्ध पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाउनभुएको थियो । महिला क्रिकेट त्यो पनि उमेर समूहमा शतक निकै दुर्लभ छ । यसै गरी विश्वकपअघिको वार्मअपमा राम्रो प्रदर्शन गर्ने रिया शर्मा र सिमाना केसी पनि हेर्नलायक खेलाडीका रूपमा रहने छन् । यसै गरी उपकप्तान सोनी पाख्रिन, सना प्रवीण र ज्योत्स्निका मरासिनी पनि नेपाली टिमका महत्वपूर्ण खेलाडी हुनुहुन्छ ।