• ३ माघ २०८१, बिहिबार

भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी आवश्यक

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ३ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ ।

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा बुधबार एक सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा भूकम्पीय सचेतना वृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

१९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा सचेतना प्रवाह गर्न हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा विभिन्न चेतना र सावधानीमूलक कार्यक्रमसहित मनाइँदै आएको छ । यो वर्षको नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ रहेको छ ।

भूकम्प प्राकृतिक प्रकोप हो । यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै उहाँले शुभकामना सन्देशमा भूकम्पलाई क्षतिको कारण मान्नुभन्दा हामीले बलिया, सुरक्षित संरचना, पूर्वसावधानी र भूकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्ने बताउनुभएको छ ।

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेका कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ शुभकामना सन्देशमा भनिएको छ, “विसं २०७२ को विनाशकारी भूकम्पपछि धेरै परकम्प र अरू थुप्रै भूकम्पले हामीलाई तर्साइरहेका छन् । हामी आत्तिनु हुँदैन तर सुरक्षात्मक उपाय अपनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । राज्यका सम्पूर्ण निकाय पूर्वतयारीका साथ रहनु पर्छ ।”

उहाँले इतिहासको विभिन्न कालखण्डमा गएका भूकम्पमा परी ज्यान गुमाउने ज्ञातअज्ञात व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना सन्देशमा सम्पूर्ण नेपाली तथा राज्यका सम्पूर्ण निकायमा भूकम्पीय सुरक्षात्मक उपाय यथाशक्य अपनाउन भूकम्प दिवसले प्रेरणा दिने बताउनुभएको छ ।