नवराज कट्टेल
विराटनगर, माघ २ गते । विराटनगर महानगरपालिका–९ निवासी सुमित्रादेवी साहले माघेसङ्क्रान्तिका लागि एक हजार लड्डु बनाउने सरसामानको जोरजाम गर्नुभएको छ । उहाँले माघेसङ्क्रान्तिलक्षित मुरी (भुजा), चिउरा, तिल र बदामको परिकार बनाएर बिक्री गर्दै आउनुभएको छ । सङ्क्रान्ति आउनुभन्दा तीन दिनअघिदेखि नै विराटनगरको गुद्रीमा ढाकीमा सजिएका लड्डुका परिकार लिएर ग्राहकको प्रतीक्षा गर्नुहुन्छ ।
साहले भन्नुभयो, “सङ्क्रान्ति होस् वा अन्य पर्व हामीले केही न केही आम्दानीको विकल्प सोच्नु पर्छ । यस पटक एक हजार लड्डुका परिकार बिक्री गर्ने लक्ष्य राखेको छु ।”
आइतबार विराटनगर–९, गुद्रीमा भेटिएकी साहले दुई सय पोका लड्डु बिक्रीका लागि ल्याएको सुनाउनुभयो । सफा प्लास्टिकमा बाँधेको पोकामा १० वटा लड्डु हुन्छन् । उहाँले एक पोकाको मूल्य ५० रुपियाँ राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “यी सबै बिक्री भएमा करिब पाँच हजार रुपियाँ नाफा हुने आशा गरेकी छु ।” उहाँले यी परिकार बनाउँदा सरसफाइमा विशेष ध्यान दिएको दाबी पनि गर्नुभयो ।
सङ्क्रान्तिका लागि विभिन्न किसिमका सामान लिएर बिक्री गर्दै आएकी रिनादेवी साहका अनुसार सखर, तिल, चिउरा, भुजा किन्न आउने सेवाग्राहीलाई खुसी बनाउन सक्दा आफ्नो कमाइ राम्रो हुने बताउनुहुन्छ ।
विराटनगर–८ निवासी अशोक साहले सङ्क्रान्ति मान्ने मान्यता धान्न पैसा हुनेका लागि जति सहज छ त्यति नै असहज पैसा नहुनेका लागि हुने गरेको बताउनुभयो । उहाँले जाँगर भए पनि घरमा बनाउन नभ्याउनेका लागि बजारमा खरिद गर्ने लड्डुका परिकार अस्वस्थ हुन्छन् भन्ने डर नहुने भनाइ राख्नुभयो ।
गुद्रीमा कन्दमूल बिक्री गर्दै आएका पारसकुमार मेहताले पर्वमा माग हुने वस्तुको व्यापार नगरी वर्षभरिको जीविकोपार्जन चलाउन नसक्ने बताउनुहुन्छ । उहाँका अनुसार आइतबारदेखि मात्रै बजारमा सङ्क्रान्ति बजारको किनमेल बढेको हो । उहाँले यस पटक सुठुनी ८० रुपियाँ प्रतिकिलोग्राम, सिमल तरुल ८० रुपियाँ प्रतिकिलोग्राम, इस्कुसको जरा १८० रुपियाँ, घर तरुल एक सय रुपियाँ रहेको बताउनुहुन्छ । सङ्क्रान्तिका लागि आउने कन्दमूलमा वन तरुलको परिमाण भने न्यून हुने गरेको छ ।