काठमाडौँ, पुस २६ गते । मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टरमा धान बाली रोप्ने गरेकामा चालु आव २०८१/८२ मा घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा झरेको हो । अघिल्लो आवमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा बढेर ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु र ठुलो सङ्ख्यामा रोजगारीका लागि विदेश गएकाले काम गर्ने जनशक्ति अभाव हुँदा पनि धान बाली लगाउने क्षेत्रफल घट्दै गएको हो ।
यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जग्गा मापन विधि परिवर्तन भएकाले धान रोप्ने क्षेत्रफल घटेको बताउनुभयो । “यस वर्ष स्याटेलाइट इमेज विधिबाट तराईका २१ वटा जिल्लाको क्षेत्रफल मापन गर्यौँ,” उहाँले भन्नुभयो, “जग्गाको क्षेत्रफल नाप्ने विधिमा आएको परिवर्तनले गर्दा मधेश प्रदेश, कर्णाली प्रदेशको रुकुम पश्चिममा क्षेत्रफल घट्न गएको छ ।”
पहाडमा खेतीयोग्य जमिन पाखो बनाउने र बोटबिरुवा लगाउने भएकाले पनि क्षेत्रफल घट्दै गएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा जग्गाको क्षेत्रफल नाप्ने तरिका ठिक नभएको र यस वर्ष जग्गा मापन सही ढङ्गले गर्दा क्षेत्रफल घटेको देखिएको उहाँले जानकारी दिनुभयो ।
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा धानको योगदान तीन प्रतिशत रहेको छ । यस वर्ष धानको उत्पादन बढे पनि धान तथा चामलको आयात भने रोकिएको छैन ।
मन्त्रालयका अनुसार मुलुकभर वार्षिक ६२ लाख मेट्रिक टन धान आवश्यक पर्छ । चालु आवमा उत्पादन बढे पनि अझै साढे दुई लाख मेट्रिक टन धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा चामल र धानको आयात हुने गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म छ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपियाँ बराबरको ७९ हजार ४११ मेट्रिक टन चामल आयात भएको छ । पाँच महिनामा छ अर्ब ५९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ६३ हजार ७०१ मेट्रिक टन धान आयात भएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसक्नुका साथै मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारणले गर्दा पनि चामलको आयात बढी हुने गरेको छ ।