काठमाडौं, पुस २३ गते । मङ्गलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
केही जिल्लामा एक/दुई वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षति अहिलेसम्म नभएको उहाँले बताउनुभयो ।
सहप्रवक्ता थापाका अनुसार सोलुखुम्बु, थुलुङ्ग दुधकोशी गाउँपालिका– ७ देउसा स्थत लुर्वा बस्ने हर्कबहादुर खत्रीको ढुङ्गा माटोले बनेको दुईतले घरको गारो सामान्य चर्किएको छ ।
त्यस्तै, भूकम्पका कारण ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका– २ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्केको छ भने ओखलढुङ्गा, चिसंखुगढी गाउँपालिका– ५ सिरीसे बस्ने वर्ष २६ को इन्द्रबहादुर परियारको जीर्ण अवस्थामा रहेको भान्सा घर पूर्णरुपमा भत्किएको उहाँले जानकारी दिनुभयो ।
मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।