• १२ असार २०८१, बुधबार

सुदूरपश्चिममा काँग्रेसले तीन र एमालेले एक जिल्लामा एक्लाएक्लै जिसस बनाउने

blog

धनगढी, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये नेपाली काँग्रेस तीन जिल्ला डडेल्धुरा, कञ्चनपुर र डोटीमा एक्लै जिल्ला समन्वय समिति (जिसस) गठन गर्ने अवस्थामा पुगेको छ । 

यस्तै नेकपा (एमाले)ले पनि एक जिल्ला बाजुरामा जिल्ला समन्वय समिति गठन गर्ने अवस्थामा पुगेको हो । यस्तै अन्य  चार जिल्लामा सत्तारुढ गठवन्धन मिलेर र एक जिल्लामा गठवन्धनबाहिरको समेत मत लिएर जिसस बनाउनु पर्ने भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पाँच जिल्लामा काँग्रेस र चार जिल्लामा एमालेले नेतृत्व गरेको जिसस बनेको थियो । 

काँग्रेसले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सात पालिकाका सात प्रमुख र सात उपप्रमुखमध्ये काँग्रेसले पाँच÷पाँचवटा प्रमुख उपप्रमुख जितेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख छान्न आठ मत आवश्यक पर्छ तर काँग्रेस एक्लैको १० मत छ । डडेल्धुरामा माओवादीले पनि दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । डडेल्धुरामा ०७४ को स्थानीय चुनावकबाट पनि काँग्रेसकै जिल्ला समन्वय समिति बनेको थियो ।

तराइको कञ्चनपुरमा पनि काँग्रेसले १९ वर्षपछि एकलौटीरुपमा जिसस बनाउने सक्ने मत पाएको छ । नौ पालिका रहेको कञ्चनपुरमा जिसस बनाउन १० मत चाहिने भएकोमा काँग्रेस एक्लैसंग पाँच प्रमुख र सात उपप्रमुख गरेर १२ मत रहेको छ । 

कञ्चनपुरमा एमालेले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै माओवादीले एउटा पालिका प्रमुख जितेको थियो । कञ्चनपुरमा ०५४ र ०७४ मा पहिलोको जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति एमालेले गठन गरेको थियो । 

नेपाली काँग्रेसको किल्ला मानिने डोटीमा पनि फेरि काँग्रेसले नै जिसस बनाउने भएको छ । ०४९ र ०५४  काँग्रेसले तत्कालिन जिल्ला विकास समिति गठन गरेको भएपनि ०७४ एमालेले एक्लै जिसस बनाउने सफलता पाएको थियो । 

तर यसपटक पार्टी विभाजनले गर्दा एमाले पाँचबाट एक पालिकामा सीमित भएपछि सातपालिकाका प्रमुख र आठ उपप्रमुख गरेर १५ मत रहेको काँग्रेसले एकलौटीरुपमा जिसस बनाउने भएको छ । नौ वटा पालिका रहेको डोटीमा जिसस बनाउन १० मत आवश्यकपर्छ । डोटीमा एमालेसंग एक प्रमुख र उपप्रमुख गरेर दुई तथा माओवादीसंग एक प्रमुख गरेर एक मत मात्रै छ । 

डडेल्धुरा, कञ्चनपुर र डोटीमा काँग्रेस एक्लै चुनावमा होमिएर जितेकोले सत्ता गठवन्धनका अरु दललाई जिससमा समेट्नु पर्ने बाध्यता नरहेको एक नेताले बताउनुभयो । 

यस्तै केही ठाउँमा मात्र माओवादी र एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको काँग्रेसले अछाममा पनि एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने भएको छ । १० पालिका रहेको अछाममा जिसस बनाउन ११ मत चाहिने भएकोमा ठ्याक्कै त्यही मत काँग्रेससंग छ । अछाममा अघिल्लो पटक पनि काँग्रेसले एक्लै जिसस बनाएको थियो । 

काँग्रेसले अछाममा सात पालिका प्रमुख  र चार उपप्रमुख जितेको छ । यस्तै एमालेले दुई प्रमुख र चार उपप्रमुख, माओवादीले एक प्रमुख तथा एक उपप्रमुख जितेको छ । भने एकीकृत समाजवादीले एक उपप्रमुख जितेको छ ।

यस्तै एमालेले बुढीगंगा नगरपालिकाको चुनाव हुने वा वैशाख ३० गतेकै मत गणना हुने भन्ने अन्योल कायम रहँदा पनि बाजुरा जिल्लामा जिसस बनाउन सक्ने मत प्राप्त गरेको छ । नौ पालिका रहेको बाजुरामा जिसस बनाउन १० मत चाहिन्छ । एमालेले पाँच प्रमुख र चार प्रमुख जितको छ । एउटा बुढीनन्दा नगरपालिकामा एमालेले सहयोग गरेका स्वतन्त्रले जितेकोले उहाँको समर्थन हामीलाई हुन्छ त्यसैले हामी जिल्ला समन्वय समिति बनाउन सक्छौ एमाले बाजुराका इन्चार्ज लालबहादुर थापाले बताउनुभयो । उहाँले मतगणना शुरु नभएको बुढीगंगा नगरपालिका पनि एमाले नै जित्ने दावी गर्नुभयो । बाजुरामा काँग्रेसले चार पालिका प्रमुख र तीन उपप्रमुख जितेको छ ।

यस्तै गरेर तीनवीच जिल्लाभर गठवन्धन गरिएको बझाङ, केही स्थानमा मात्र गठवन्धन भएको बैतडी र काँग्रेस तथा माओवादीबीच मात्र गठवन्धन भएको दार्चुलामा भने गठवन्धन अनुसार नै अघि बढे गठवन्धनको जिसस बन्ने पक्का छ । त्यस्तै १३ वटै पालिकामा तीन दलबीच गठवन्धन भएको कैलालीमा भने गठवन्धनभन्दा बाहिरको दललाई सामेल गरेर मात्र जिजस बन्ने अवस्था छ । 

बैतडीमा १० पालिका छन् । जिसस बन्नका लागि ११ जनाको समर्थन आवश्यक छ । तीमध्ये काँग्रेससंग चार प्रमुख र पाँच उपप्रमुख गरेर नौ, माओवादीसंग एक प्रमुख तथा उपप्रमुख गरेर दुई मत छन् । यस्तै एमालेसंग चार प्रमुख र चार उपप्रमुख छन । भने एक जना स्वतन्त्रबाट पालिका अध्यक्ष बनेका छन् । 

दार्चुलामा पनि काँग्रेस र माओवादी मिल्दा जिसस सजिलै बन्ने छ । नौ पालिका रहेको दार्चुलामा काँग्र्ेसका चार उपप्रमुख र माओवादीका चार प्रमुख र दुई उपप्रमुख गरेर आवश्यक पर्ने १० मत नै छन् । दार्चुलामा एमालेले पाँच उपप्रमुख र दुई उपप्रमुख जितेको छ । 

दार्चुला र बैतडीमा २०७४ पनि काँग्रेस र माओवादी मिलेर काँग्रेसको नेतृत्वमा जिसस बनाएका थिए । गत स्थानीय चुनावमा एमालेले एक्लै जिसस बनाएको बझाङमा यसपटक गठवन्धनका दलले जिसस बनाउने भएका छन् । १२ पालिका रहेको बझाङमा काँग्रेससंग छ प्रमुख , पाँच उपप्रमुख गरेर ११,  माओवादीसंग दुई प्रमुख, तीन उपप्रमुख ३ गरेर पाँच र एकीकृत समाजवादीसंग एक प्रमुख, दुई उपप्रमुख गरेर तीन मत छन् । यस्तै एमालेसंग तीन प्रमुख र दुई उपप्रमख छन् । 

१३ पालिका रहेको कैलालीमा प िनगत स्थानीय तहको निर्वाचनबाट एमालेले जिसस बनाएको थियो । तर यसपटक गठवन्धनको समेत आवश्यक पर्ने संख्या नपुगेपछि कोसित मिलेर जिसस बन्छ भन्ने कौतुहलता कैलालीमा छ । कैलालीका काँग्रेस तीन प्रमुख र पाँच उपप्रमुख, माओवादीले दुई प्रमुख, दुई उपप्रमुख र एकीकृत समाजवादीले एक प्रमुख जितेको छ । यस्तै एक्लै चुनावमा होमिएको एमालेले दुई प्रमुख तीन उपप्रमख र नागरिक उन्मुक्ती पार्टीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै स्वतन्त्रले एक प्रमुख जितेको छ । 

निर्वाचन आयोगले नगर तथा गाउँपालिका बने लगत्तै प्रमुख, उपप्रमुख सहित नौ सदस्यीय जिसस बनाउने प्रक्रिया शुरु गर्ने व्यवस्था रहेको छ । 

Author

प्रकाशविक्रम शाह