• २२ पुस २०८१, सोमबार

काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’

blog

काठमाडौँ, पुस २० गते। नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। 

ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा पुस २५ गते उक्त कार्यक्रम आयोजना हुँदैछ।  कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ। साथै यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पुर्‍याउने छ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ। प्रदर्शन पश्चात चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन्। 

प्रदर्शन हुने चलचित्रमा हर स्टोरी, मिडसमर्स भ्वाइस र जीफर ग्याप रहेका छन्।  कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। 

नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीले समेत कार्यक्रममा सहभागिता रहनेछ। पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुनेछ।

चलचित्रका निर्माता, निर्देशक र कलाकार गरेर १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नुहुनेछ। कार्यक्रमले दुई देशका चलचित्रकर्मीबिचको सहकार्यलाई अगाडि बढाउने थप मद्दत गर्ने अपेक्षा गरिएको छ।