अर्थतन्त्रलाई मुख्य तीन आयाममा राखेर हेरिन्छ । कृषि, उद्योग र सेवा क्षेत्रले ती तीन आयामलाई प्रतिनिधित्व गर्छन् । प्रारम्भमा संसारभर कृषि अर्थतन्त्रले ठुलो क्षेत्र ओगटेको थियो । मानिसका आवश्यकता पूरा गर्न उद्योग क्षेत्र विकास हुँदै गयो । औद्योगिक क्रान्तिले औद्योगिक क्षेत्रलाई व्यापक बनायो । अहिले धनी मुलुकमा अति न्यून जनसङ्ख्या मात्र कृषिमा व्यावसायिक तवरले लागेका छन् । यन्त्र उपकरण, सूचना प्रविधि आदिको विकासले उद्योग क्षेत्रसमेत सीमित दायरामा छ । सेवा क्षेत्रको विकास र विस्तारले संसारको अर्थतन्त्र नयाँ युगमा अगाडि बढिरहेको छ । बैङ्क, वित्त, हवाई सेवा, होटेल, सूचना प्रविधि आदि सेवा अर्थतन्त्रका मूल उपक्षेत्र हुन् । नेपालमा पनि सेवा अर्थतन्त्रको विस्तार हुँदै छ । त्यसमा पनि होटेल क्षेत्रमा भएको संस्थागत पूर्वाधारले आसलाग्दो भविष्य देखाएको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपालमा संस्थागत पर्यटनको विकास २००७ सालको परिवर्तनपछि मात्र भएको देखिन्छ । खास गरी सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सात दशकअघि गरेको सगरमाथाको सफल आरोहणले नेपालप्रति विश्वको ध्यान आकृष्ट गर्न सक्यो । माउन्ट एभरेस्ट भनेर विश्वभर चिनिने विश्वको सर्वोच्च शिखर सगरमाथासँगै सांस्कृतिक सम्पदा र मठमन्दिरले विदेशी पर्यटकलाई आकर्षित गर्न सक्यो । हिमाल आरोहण, पर्वतीय पदयात्रा नेपालमा पर्यटन आकर्षणका सारथि बन्न सके । त्यसले होटेल, लज तथा रेस्टुराँ खुल्न थाले । पछिल्ला दशकमा आन्तरिक पर्यटनका गतिविधिसमेत बढ्न थाले । यसले होटेल क्षेत्रको पूर्वाधार विस्तार हुँदै गयो । यस्तो पूर्वाधारमा दुई खर्ब रुपियाँभन्दा बढी लगानी भएको नयाँ अध्ययन बाहिर आएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय होटेल तथा रेस्टुराँ सर्वेक्षण–२०८० सार्वजनिक गरेपछि होटेल पूर्वाधारको वास्तविक स्वरूप देखिएको छ । मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपियाँ लगानी रहेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरिएको हो । सवा दुई खर्ब हाराहारीको यो क्षेत्रको लगानीबाट कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपियाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ । यो लगानीले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब रुपियाँभन्दा बढी मूल्य अभिवृद्धि भएको छ । सामान्यतया एक रुपियाँ लगानीमा वार्षिक प्रतिफल २० पैसा अर्थात् २० प्रतिशत प्रतिफलले लगानीको अनुपातमा राम्रो प्रतिफल देखिएको छ । त्यसैले यो क्षेत्र फस्टाउँदो अर्थतन्त्रको आधार बन्दै गएको स्पष्ट हुन्छ ।
यो क्षेत्रमा कुल एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने संस्थागत प्रतिष्ठान छन् । यसमा तीन लाख ८७ हजार ७४७ जनाको लगानी संलग्नता छ । यति मात्र होइन, थप एक लाख छ हजार ४५९ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैरतारे होटेल, होमस्टेसमेतको अवस्था अध्ययन गरिएको तथ्याङ्क कार्यालयका प्रवक्ताले स्पष्ट पारेका छन् । हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुराँमध्ये सबैभन्दा अग्रता बागमतीले लिएको छ भने सबैभन्दा पछाडि कर्णाली प्रदेश रहेको छ । त्यस अनुसार बागमती प्रदेशमा ५२ हजार १२३ होटेल तथा रेस्टुराँ छन् भने कर्णालीमा सात हजार ११० मात्र होटेल तथा रेस्टुराँ छन् ।
सबै प्रदेशको पूर्वाधार देखिने क्रममा कोशी प्रदेशमा २५ हजार ८८७ होटेल तथा रेस्टुराँ छन् । त्यसै गरी मधेशमा ११ हजार ७४०, गण्डकीमा १६ हजार ९७६, लुम्बिनीमा २० हजार १५८ र सुदूरपश्चिममा आठ हजार २२८ होटेल तथा रेस्टुराँ छन् । होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । नयाँ तथ्याङ्कले नेपालको प्रदेशगत पर्यटनको पूर्वाधार अध्ययन गर्न महत्वपूर्ण आधार सिर्जना पनि भएको छ । अझ महत्वपूर्ण पक्ष त सर्वेक्षण अनुसार हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुराँले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई एकै पटक सेवा दिन सक्ने छन् । कृषि, जलस्रोतसँगै पर्यटन नेपालको उदाउँदो सेवा अर्थतन्त्र हो । कतिपय मुलुकले आफ्नो जनसङ्ख्याभन्दा अझ बढी पर्यटक आकर्षण गरी अर्थतन्त्र उकास्ने गरेका छन् । नेपालले वार्षिक ११ लाख हाराहारीको पर्यटकको सङ्ख्यालाई केही वर्षमै दोब्बर गर्न सक्छ । यसनिम्ति राम्रो पूर्वाधार देखिनु सुखद पक्ष हो ।