भरतपुर समाचारदाता
मेघौली (चितवन), पुस १७ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुनुभन्दा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा जनताको माया र सम्मान बढी पाएको बताउनुभएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को सफल समापन एवं पाँच दिनअगाडिदेखि पश्चिम चितवनको मेघौलीमा सुरु गरिएको राष्ट्रिय रैथाने खाना महोत्सवको मङ्गलबार समापन कार्यव्रmमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले त्यही माया र सम्मानका कारण पूर्व झापा, पश्चिम कैलाली र देशका अन्य क्षेत्रमा आफू पुग्दा अपार उपस्थिति रहेको स्मरण गर्नुभयो ।
भरतपुर भ्रमण वर्षले वार्षिकोत्सव मनाएर सन् २०२५ लाई स्वागत गर्दै गरेको उक्त औपचारिक कार्यव्रmममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरले गरेकोे विकास अन्य पालिका, प्रदेश र केन्द्रलेसमेत सिकेर अनुकरण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले उद्घाटन स्थल र वार्षिकोत्सव स्थलको विषयमा बोल्दै भन्नुभयो, “भ्रमण वर्षको सुरुवात चितवनको मुख्यबजार नारायणगढको नारायणी किनारबाट सुरु भएको थियो र समापन मेघौलीमा हुनुुले महानगरको समग्र विकास र जनताको एकताको सन्देश दिएको छ ।”
उहाँले भरतपुरलाई विकास र नमुनाको सहरका रूपमा विकास गर्ने निजी क्षेत्र र यहाँका बासिन्दा सबैलाई धन्यवाद दिनुभयो । सन् २०२४ मार्चमा नारायणी नदी किनारमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीलगायत देशका प्रमुख पार्टी नेतृत्वको उपस्थितिमा औपचारिक उद्घाटन गरी सुरुवात गरिएको थियो । देशमा केही वर्षयता नकारात्मक सन्देश दिनेखालका टिप्पणी र भनाइले केही हुँदैन, देशमा बसेर केही गर्न सकिँदैन भन्नेलाई महानगरको विकास उदाहरण र मोडेल बनेको उहाँको भनाइ थियो । उहाँले यसो हुनुुमा यहाँका जनताको एकता र नेतृत्व सही र निःस्वार्थ हुनुुको परिणाम भएको पनि दाबी गर्नुभयो ।
भरतपुर महानगर कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा मात्र नभएर खेल पर्यटनमा पनि स्थापित हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकालमा चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको पनि बताउनुभयो । रङ्गशालाका लागि आवश्यक बजेट निकासाका लागि पहल गर्ने पनि प्रतिबद्धता उहाँले जनाउनुभयो ।
आफू प्रधानमन्त्री हुँदाको कार्यकाल स्मरण गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकालमा धेरै काम गर्न नसके पनि मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग खोल्ने काम भएको, दोस्रो पटक संविधान कार्यान्वयन र लोडसेडिङको अन्त्य गरेको र तेस्रो पटक सुशासन कायम गर्ने, सामाजिक न्यायको झन्डा उठाउने कोसिस गरेको, देशको जटिल आर्थिक अवस्थालाई सही ट्र्याकमा ल्याउने कामको सुरुवात गरिएको, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउने काम सुरुवात गरिएको स्मरण गराउनुभयो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यव्रmममा चितवन जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, नेकपा एमाले नेता कृष्णप्रसाद भुर्तेल, नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।