• ९ मंसिर २०८१, आइतबार

गठबन्धनको औचित्य प्रमाणित

blog

दोस्रो पटक सभापति निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउने अभियानमा पहिलो चरणको सफलता प्राप्त गर्नुभएको छ । स्थानीय तहका लागि भएको निर्वाचनमा कांग्रेसले लगभग ४५ प्रतिशत जित हासिल गरेको छ । पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसले कुल ७५३ मध्ये २६६ स्थानमा जितेको थियो । यस पटक ३२५ को हाराहारीमा कांग्रेसले विजय गर्ने सम्भावना देखिएको छ ।

यसबाहेक प्रमुख गठबन्धनका दललाई छाडेर उपप्रमुख मात्र लडेर विजय पाएका पालिकाको सङ्ख्याको हिसाबकिताब हुन बाँकी नै छ । यो पनि कांग्रेसको जित हो । यद्यपि केही थोरै पालिकामा भने प्रमुखमा गठबन्धन दलले विजय पाएका छैनन् । यसबाहेक हरेक प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दैछ र सम्भवतः ५० भन्दा बढी जिल्लामा कांग्रेसले एकल नेतृत्वमा जिल्ला समन्वय समिति बनाउने हैसियत बनाउँदैछ । 

कांग्रेस सभापति देउवालाई दोस्रो चरणको सफलता त्यसबेला प्राप्त हुनेछ, जतिबेला संसदीय निर्वाचनमा पनि नेपाली कांग्रेसले कम्तीमा सामान्य बहुमत ल्याउनेछ । नेपालको निर्वाचन प्रणाली सहजै कुनै पार्टी विशेषको एकल बहुमत आउने खालको छैन । ६० प्रतिशत मात्र प्रत्यक्ष निर्वाचित हुँदै गर्दा समानुपातिकबाट आउने ४० प्रतिशतले नै कुनै दललाई पहिलो वा दोस्रो बनाउनेछ । यद्यपि कांग्रेसले समानुपातिक मत कहिल्यै गुमाएको छैन । विद्यमान संसद्मा प्रत्यक्षमा केवल २३ स्थानमा मात्र जित्दा कांग्रेसले समानुपातिक मतकै बलमा ६३ सांसद पाएको हो । स्थानीय निर्वाचनको विश्लेषण हुन बाँकी रहँदै गर्दा पनि कांग्रेसले संसदीय निर्वाचन क्षेत्रमा पाएको मतले उसलाई पहिलो पार्टी बनाउनेमा कुनै शङ्का छैन । 

अहिलेको यो जितमा कति कांग्रेसको आफ्ना बलबुता रह्यो र कति देउवाको रणनीति अनुरूप पाँच दलीय गठबन्धनका कारण जित्यो ? कांग्रेसले अब तत्कालै यसको विश्लेषण पक्कै गर्ला । अरू दल र स्वतन्त्र निकायले पनि यो विश्लेषण गर्लान् । अरूले जे गर्दै गरे पनि कांग्रेसले यो विश्लेषण गरिरहँदा केवल भावनामा होइन, तथ्य र तथ्याङ्कमा गएर गर्न सक्नुपर्छ । यसबाट कांग्रेस भोलिका दिनमा आफ्नै बलबुतामा कति पानीमाथि रहन सक्छ भन्ने यथार्थ चित्रण हुनेछ । 

यो विश्लेषण यसकारण पनि जरुरी छ । अबको छ महिनामा प्रदेश र सङ्घीय संसदीय निर्वाचन हुनेछन् । यो निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न कांग्रेसका लागि यो बलियो आधार हुनेछ । अर्कातिर कांग्रेसभित्रै, पार्टी निर्णयका आधारमा गठबन्धन भइसकेपछि निर्वाचन प्रचारका क्रममा र निर्वाचन परिणाम आइरहँदासमेत गठबन्धनका कारण पार्टीले आफ्नो हैसियतभन्दा बढी जित्न नपाएको भन्ने प्रतिक्रिया आइरहेकै छ । यसको यथार्थ जवाफ दिनका लागि समेत यो अध्ययन जरुरी छ र फेरि पनि तथ्य र तथ्याङ्क बिर्सेर यसबाट उचित निष्कर्ष निकाल्न सकिँदैन भन्ने बिर्सन हुँदैन ।

कांग्रेसमा यस पटकको निर्वाचनमा पनि धेरै बागी र विद्रोहीको लहर चल्यो । यसको एउटा कारण गठबन्धनका विषयमा एक मत हुन नसक्नु हो । गठबन्धनसँग असहमत हुने केन्द्रदेखि स्थानीय तहसम्मका नेताले खुलेर वा लुकेर उम्मेदवार उकास्ने काम गरिरहे । कतिपय तहमा उचित उम्मेदवार दिन नसक्दाको परिणामस्वरूप स्वाभाविक विद्रोह थियो तर यसरी बागी वा विद्रोही हुने र उनका प्रस्तावक समर्थक तत्काल पार्टी सदस्य नरहने कांग्रेसको विधानको व्यवस्थाले धेरैलाई पछि हट्न बाध्य ग-यो ।

निर्वाचनको विश्लेषण भइरहँदा पार्टीभित्रका घात प्रतिघात र उम्मेदवारी चयनमा भएका कमजोरीको पनि विश्लेषण गर्ने साहस गर्न सक्नुपर्छ । यो साहस गर्दै गर्दा केन्द्रीय सभापति र प्रदेश सभापतिका दोहोरो पत्रको अवस्था कसरी आयो मात्र होइन, केन्द्रीय सभापतिका हस्ताक्षरमा एकभन्दा बढी उम्मेदवार कसरी मनोनयन हुन पुगे भन्नेसम्म हेर्न सक्नुपर्छ । 

देशभर नेपाली कांँग्रेसको यो विजय यात्रा चलिरहँदा एकथरी नेताहरूले गाईजात्राको प्रारम्भ गरिसक्नु भएको छ । पार्टी सभापतिमा पराजित एवं सभापतिबाट मनोनित केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको टिप्पणी गर्नुभएको छ ।

अघिल्लो चुनावमा भन्दा यस पटक कांग्रेस बलियो बनेको तथ्याङ्कले देखाइरहँदा केन्द्रीय सदस्य डा. कोइरालालाई यो सत्य स्वीकार गर्न फेरि पनि कठिन भएको छ । उहाँको अनुमानअनुसार, अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो र बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो । आफँैले यसो भनिरहँदा गठबन्धन नगरिएको भए कांग्रेसले अरू धेरै सफलता पाउने दाबी पनि उहाँले गर्न छाड्नु भएन । 

केन्द्रीय सदस्य डा. कोइरालाको दाबी कति स्वाभाविक हो भन्ने हेर्न धेरै टाढा जानु पर्दैन । उहाँकै गृह जिल्ला मोरङको निर्वाचन परिणामले उहाँ तथ्य र तथ्याङ्कभन्दा कति टाढा बहकिन चाहनु भएको छ भन्ने प्रष्ट पार्छ । गठबन्धनमा रुचि नभएकै कारण उहाँको गृह जिल्ला मोरङमा कांग्रेसले विराटनगर महानगरपालिका बाहेक अरू पालिकामा तालमेल गरेन । स्थानीय दबाबमा अरू दुई नगरमा तालमेल भयो ।

तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै नगरपालिका गुमाएको छ । तालमेल गरेको विराटनगरमा काँंग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, सुनवर्षी, बेलबारी, पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेले जितेको छ । मोरङका सात गाउँपालिका मध्ये दुई गाउँपालिका मात्र एमालेले जितेकोमा त्यहाँ कांग्रेस र एमालेको अन्तर केवल पाँच हजार मात्र छ । 

कांग्रेसले विराटनगर महानगरपालिकामा पाएको चार हजार पाँच सय बढी मत कांग्रेस एक्लैको होइन, गठबन्धनसहितको हो तर गठबन्धनका उपप्रमुखका उम्मेदवारले प्रमुखको भन्दा आधा मत पनि पाएनन् । मोरङकै डा. कोइरालाको चाहना विपरीत सुन्दर हरैचा र लेटाङमा तालमेल गरेर पनि गठबन्धनले जित्ने अवस्था रहेन । यद्यपि यी दुवै पालिकामा कांग्रेसका प्रमुखले पाएको मतको तुलनामा माओवादी केन्द्रका उप्रमुखले पाएको मत दुईतिहाइभन्दा कम छ ।

स्थानीय कांग्रेस नेतृत्वको गठबन्धनप्रतिको निष्ठा र इमानदारीमा कसैले प्रश्न उठायो भने यसको पहिलो जवाफ सम्भवतः डा. कोइरालाले नै दिनुपर्छ । विराटनगर महानगरपालिकाको हकमा गठबन्धनको आवश्यकता बोध हँुदै गर्दा डा. कोइराला समग्र मोरङका हकमा गठबन्धनका पक्षमा उभिनु भएन । यदि त्यसो हुन्थ्यो भने सम्भवतः लेटाङ मात्र एउटा अपवाद हुन्थ्यो । कांग्रेस र माओवादी मात्रले ल्याएको मतका आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ । मत परिणामको यो यथार्थ डा. कोइरालाका सामु छर्र्लङ्ग छ ।

अझै अरू तथ्याङ्कमा जाने हो भने निर्वाचन परिणामले भनिरहेको छ, अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका २६६ पालिकामध्ये ६७ पालिका यस पटक कांग्रेसले गुमाइसकेको छ । यी हरफ लेखिँदै गर्दा झन्डै ७०० पालिकाका परिणाम आएका छन् र कांग्रेसले ३१० मा जित हासिल गरिसकेको छ र झन्डै २० पालिकामा अग्रता लिइरहेको छ ।

पाँच दलीय गठबन्धनलाई समयमा टुङ्ग्याएको र टाउको (प्रमुख, उपप्रमुख) मात्र होइन, वडामा पनि सङ्ख्या विभाजन गरेर उम्मेदवारी दिएको भए कांग्रेस मात्र होइन, गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा पनि अझ बढी सिटमा विजयी हुने सम्भावना थियो । गठबन्धनमा रहेका पार्टीले उम्मेदवार चयनमा समेत न्याय गर्न सकेका भए शायद महानगर र उपमहानगरमा पार्टीका उम्मेदवार हार्ने अवस्था नरहन सक्थ्यो । अर्को शब्दमा अहङ्कार र दम्भका जगमा उभिएको दल क्लीन स्वीप हुन सक्थ्यो । 

यद्यपि, जति उपलब्धि भएको छ, त्यो कम होइन । यो उपलब्धिलाई कम आँकेर अगाडि बढ्दै गर्दा कांग्रेस गठबन्धनबाट बाहिरिने र संसदीय निर्वाचनमा फेरि दुर्घटनामा पर्ने खतरा आउन सक्छ । प्रतिशोधको होइन, सहकार्यको राजनीति दलभित्र र दलबाहिर पनि आवश्यक छ । यसले मुलुकमा गठबन्धनको संस्कृतिलाई समेत बलियो बनाउनेछ । 

Author

डा. सुरेश आचार्य