• १७ पुस २०८१, बुधबार

खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान

blog

क्षयरोगसम्बधी निःशुल्क स्वास्थ्य शिबिरमा सहभागी स्थानीय नागरिक । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, पुस १४ गते । कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिविरबाट ती रोगी फेला परेका हुन् । 

पुस १० देखि १२ गतेसम्म सञ्चालित निःशुल्क शिविरमा छसय आठ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । १५ वर्षदेखि माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा  क्षयरोगको लक्षण भएका भेटिएपछि थप नमुना परीक्षण गर्न थालिएको छ । 

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले नगरपालिकाको आयोजना, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको समन्वय र स्वास्थ्य सेवा कार्यालय कालीकोट, सेभःद चिल्ड्रेन, किड्स नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताउनुभयो । 

प्रमुख सेजुवालले नगरका वडा १, २, ५, ६, ७, ८, ९ र १० वडामा क्षयरोगसम्बन्धी निःशुल्क जाँच शिविरमा अत्याधुनिक प्रविधिको प्रयोग भएको बताउनुभयो । उहाँले सबैको छातीको एक्सरे गरेको र शङ्कास्पद देखिएका एकसय ८६ जनाको नमुना सङ्कलन गरी जिल्ला अस्पताल कालीकोटमा ल्याब परीक्षण भइरहेको बताउनुभयो । निःशुल्क शिविर सञ्चालन हुँदा नागरिकले राम्रो सेवा पाएको प्रमुख सेजुवालको भनाइ छ । 

स्वास्थ्य परीक्षणबाट छुटेका वडा ३, ४ र ११ का नागरिकलाई पनि स्रोत व्यवस्थापन गरेर शिविर सञ्चालन गरिने नगरपालिका प्रतिनिधिहरुको भनाइ छ । गाउँमै विभिन्न स्वास्थ्य समस्याको परीक्षण गर्न पाउँदा नागरिक पनि उत्साहित भएका छन् । खाँडाचक्र नगरपालिका वडा ६ का मीनबहादुर शाहीले आफू ६९ वर्षको हुँदासम्म राज्यबाट निःशुल्क सेवा नपाएको तर यसपालिका आफूलगायत सबैको निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 

शिविरमा क्षयरोगसँगै छातीसम्बन्धी अन्य समस्याको पनि परीक्षण गरिएको चिकित्सकको भनाइ छ । नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारी तथा अन्य गैर सरकारी संस्थाबाट विभिन्न कार्यक्रम हुँदैआएका छन् ।