• १३ पुस २०८१, शनिबार

कर्णाली र लुम्बिनीद्वारा साझेदारी गर्ने सहमति

blog

लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्री प्रदेश समृद्धिको प्रतिबद्धतापत्रमा सहमति गर्नुहुँदै ।

ललित बसेल 

सुर्खेत, पुस १३ गते । कर्णाली र लुम्बिनी प्रदेशको विकास निर्माण तथा जनजीविकाको सवालमा दुवै प्रदेशले आगामी दिनमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् । सुर्खेतमा आयोजित दुवै प्रदेशको संयुक्त बैठकपछि १९ बुँदे प्रतिबद्धतामा सम्झौता गर्दै दुई प्रदेशको विकास निर्माण र जनजीविकालाई सहज गराउने साझेदारी गरेका हुन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार सो प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर गर्नुभएको छ । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन छिटो सम्पन्न गराउन दुवै प्रदेशका तर्फबाट सङ्घीय सरकारलाई आह्वान गर्ने, स्थानीयस्तरका आयोजना स्थानीय तहसमेतको समन्वयमा विवाद समाधान गर्न पहल गर्ने सहमति भएको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग, कोहलपुर–सुर्खेत सडक विस्तार तथा कोहलपुर–बबई, बबई–छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनमा दुई प्रदेशले नेपाल सरकारसँग समन्वयका साथ साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । 

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने, लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालनका लागि नेपाल सरकारलाई आग्रह गर्ने सहमति भएको छ । दुवै प्रदेशको बृहत्तर हित गर्ने, सहलगानीमा सञ्चालन हुनसक्ने सम्भावित ठुला आयोजनाका पहिचान गर्ने तथा विपत् व्यवस्थपनका लागि दुवै प्रदेशले साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट काम गर्न पनि प्रतिबद्धता जनाएका छन् । 

साथै प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबिच एकरूपता कायम गर्ने र प्राकृतिक स्रोत साधानबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटका विषयमा सामञ्जस्यता कायम गर्ने, लुम्बिनीमा आउने धार्मिक पर्यटकलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटनमार्ग निर्माणको गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने सहमति भएको छ । दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने, दुवै प्रदेशको सिमानामा रहेका नदीनालामा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने, प्रदेशका सीमा क्षेत्रनजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माण दुवै प्रदेशको सहलगानी र साझेदारीमा गरिने छ । 

कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारीलगायत अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजारसम्म पु¥याउन र लुम्बिनीको खाद्यान्नलगायत अन्य कृषि उत्पादनलाई कर्णाली प्रदेशका बजारसम्म पहुँच बढाउन बजार पूर्वाधार तयार गरिने तथा दुवै प्रदेशको समृद्धि यात्रामा साझा सहकार्य, समन्वय र साझेदारी गर्ने प्रतिबद्धता दुवै प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुवै प्रदेशले गरेका प्रतिबद्धतालाई पूर्ण बजेटका साथ कार्यान्वयन गर्ने दाबी गर्नुभयो । उहाँले यी प्रतिबद्धताले लुम्बिनी र कर्णालीको विकास समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेशको अधिकार प्रयोग गर्दै अगाडि बढ्ने जनाउनुभयो । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको दक्षिण नाका जोडिएको लुम्बिनी प्रदेशसँग गरिएको प्रतिबद्धताले कर्णालीको समृद्धिमा टेवा पुग्ने जिकिर गर्नुभयो । उहाँले विशेष गरी सुर्खेत–तेलपानी–भुरीगाउँ सडक तथा १३२ केभिए विद्युत् प्रसारण लाइनलगायत अन्य विकास आयोजनामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले गरेको सम्झौता अनुसार सहकार्य र साझेदारीमा काम गर्न सकिने उल्लेख गर्नुभयो । साथै अन्य विषयमा दुवै प्रदेशबिच समन्वयका साथ अगाडि बढेर निकास निकालिने उहाँको भनाइ छ ।