काठमाडौँ, पुस ९ गते । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको हो । नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो । मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो ।
निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट पेट्रोल ल्याउन परीक्षण सफल भएकाले आगामी जनवरीको पहिलो सातादेखि पेट्रोल ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । पेट्रोल भण्डारणगृह निर्माणको काम सबै सकिएको उहाँले बताउनुभयो । पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने उहाँले जानकारी दिनुभयो । निगमले विसं २०७६ देखि पाइप लाइनमार्फत मोतीहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
निगमले पाइल पाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मटितेल अमलेखगन्ज ल्याएर परीक्षण गरेको थियो । परीक्षणको सबै काम सकिएपछि अब नियमित रूपमा पाइप लाइनबाटै पेट्रोल ल्याउन लागिएको कार्यालयले जनाएको छ ।
जनवरी पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरी पाइप लाइनबाट पेट्रोल ल्याउने योजना रहेको निगमले जनाएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार ट्रक ट्याङ्करको तुलनामा पाइप लाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित हुन्छ ।
पाइप लाइनबाट ल्याएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, भैरहवा, पोखरामा वितरण गर्ने निगमको योजना छ ।
पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटरमा एक रुपियाँ ५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्करबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।
हाल ट्याङ्करबाट तेल ल्याउँदा ढुवानी रकम खर्च हुने गरेको छ । पाइप लाइनबाट दैनिक छ हजार किलोलिटरदेखि छ हजार पाँच सय किलोलिटर इन्धन ढुवानी गर्ने क्षमता रहेको छ । पाइप लाइनबाट आवश्यकता अनुसार पेट्रोल ल्याउन सकिने निगमले जनाएको छ । अमलेखगन्ज कार्यालयबाट हाल दैनिक चार सयदेखि छ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको छ । हाल मुलुकभर दैनिक दुई हजार किलोलिटर (२० लाख लिटर) पेट्रोल खपत भइरहेकोमा पाइप लाइनबाट ७० प्रतिशत आयात गर्ने लक्ष्य छ । पाइप लाइनबाट इन्धन आउन थालेपछि ट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुने बताइएको छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पहिलो चरणको अन्तरदेशीय पहिलो पेट्रोलियम पाइप लाइन मोतीहारी–अमलेखगन्ज, रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना २०७५ सालमा सम्पन्न भई २०७६ भदौदेखि नियमित रूपमा डिजेल आयात भइरहेको छ ।