• ८ पुस २०८१, सोमबार

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, पुस ८ गते । हिउँदे वर्षा नभएपछि किसानमा चिन्ता बढेको छ । हिउँदे बालीका लागि मङ्सिर र पुसको पहिलो सातासम्म पनि पानी नपरेपछि उनीहरू चिन्तित बनेका हुन् ।

गत वर्ष कात्तिक १७ गतेको भूकम्पबाट जनधनको क्षति बेहोरेका जाजरकोटका बासिन्दा हिउँदे वर्षा नहुँदा उत्पादन कम हुने चिन्तामा पिरोलिन थालेका छन् । गत वर्षको भूकम्पमा खेती लगाएको जमिनमा त्रिपाल र अस्थायी टहरा बनाएर बस्नु परेको थियो । खेती भित्र्याउन नपाएका सर्वसाधारण यस वर्ष हिउँदे बाली लगाएपछि पनि पुसको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन नहुने भन्दै कसरी जीविका चलाउने भन्नेमा छन् ।

भेरी नगरपालिका–१३ का भक्तबहादुर बटालाका अनुसार जाजरकोटका सात वटै पालिकामा आकासे पानीको भरमा खेती गरिन्छ । खेतबारीमा लगाएको हिउँदे बालीले पानी नपाउँदा सुक्न थालेको छ । सिँचाइ सुविधा नभएका भेरी नगरपालिकाभित्रका कुदु, जगतीपुर, भुर, पुन्मा, भेरे, भुरचौर, साल्टाकुरा, रिसाङ मैदेलगायतका गाउँबस्तीमा खानेपानीको समेत अभाव छ । त्यहाँका किसानले आकासे पानीको भरमा खेती लगाउने गरेका छन् ।

गत वर्षको हिउँदे खेती भूकम्पले बिगा¥यो । यस वर्ष पानी नपरी खेतबारीमै सुक्छ कि भन्ने चिन्ता किसानमा परेको छ । कृषि पेसाबाट जीविकोपार्जन गरेका सर्वसाधारण हिउँदे र बर्खे बाली बिग्रिन थालेपछि भारततिर जान बाध्य छन् । भेरी नगरपालिका–१२ का साउने लुहारले बर्खे खेतीले पनि समयमा पानी नपाएको र हिउँदे खेतीले पनि पानी नपाउँदा कृषि पेसाबाट जीवन निर्वाह गर्न कठिन हुने बताउनुभयो । खडेरीका कारण बर्खे तथा हिउँदे बालीको उत्पादन तथा उत्पादकत्वमा कमी आउन थालेपछि रोजगारीका लागि भारत जानुपर्ने बाध्यता छ । 

भूकम्पले ढलेका घर बनाउन सकिएको छैन । जस्ताको छानामुनि ज्याला मजदुरीबाट ल्याएको मानोले छाक टरेको छ । माघ महिनासम्म पनि आकाशबाट पानी नपरे खाद्य सङ्कट हुन सक्ने खतरा रहेको स्थानीयको भनाइ छ ।

केही वर्षअघिसम्म खेतीपाती राम्रो हुन्थ्यो र काम गर्ने जाँगर चल्थ्यो । अहिले मौसम परिवर्तन हुँदै गएपछि खडेरीका कारण जमिनको उर्वराशक्ति कम हुँदै गएको लुहारले बताउनुभयो । खेतीयोग्य जमिनको उत्पादन तथा उत्पादकत्वमा कमी आउन थालेपछि कृषि पेसाप्रति किसानको रुचिमा कमी देखिन थालेको छ । खेतबारीमा लगाएको बालीले समयमै पानी र मल नपाउँदा किसानले खेतीयोग्य जमिन बाँझो छोड्दै आएका छन् ।